शनिबार, १० कात्तिक २०८१
ताजा लोकप्रिय
समाचार

‘नक्कली’ बाबु बनेर वीरगञ्ज महानगर प्रमुखले किशोरीलाई नागरिकता दिलाएको आरोप

म कानुनी उपचारमा जान्छु : महानगर प्रमुख सिंह
मङ्गलबार, २४ पुस २०८०, २२ : २४
मङ्गलबार, २४ पुस २०८०

पर्सा । नक्कली बाबु बनेर वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंहले झुटो विवरणका आधारमा एक जना किशोरीलाई नागरिकता दिएको भेटिएको छ । सिंहविरुद्ध जिल्ला प्रशासन कार्यालय पर्सामा नागरिकता कीर्ते गरेको भन्दै जाहेरी समेत परेको छ ।

२०७५ साल साउन १३ गते वीरगञ्ज महानगर वडा नं ३ बस्ने रुविना श्रेष्ठले जिल्ला प्रशासन कार्यालय पर्साबाट पहिलो पटक लिएको नागरिकता प्रमाणपत्रमा बुबाको नाम राजेशमान सिंह उल्लेख छ । २०७६ फागुन ८ गते प्रशासकीय अधिकृत विनय कुमार श्रीवास्तवले रुविना श्रेष्ठको नाममा प्रतिलिपि नागरिकता जारी गरेका छन् ।  

रुविनाको नागरिकतामा बुबाको नाम राजेशमान सिंह उल्लेख भए पनि आमाको नाम भने खुलाइएको छैन । नागरिकतामा किशोरीको जन्म मिति २०५९ असार ३० गते उल्लेख छ ।

वीरगञ्ज महानगर वडा नं ३ स्थायी ठेगाना भएका महानगर प्रमुखको परिवारमा श्रीमती अन्नपूर्णा मानन्धर र एउटा छोरा अनिशमान सिंह श्रेष्ठमात्रै छन् ।

जिल्ला प्रशासन कार्यालय स्रोतका अनुसार सिंहले राजनीतिक फाइदाका लागि अरुको सन्तानलाई झुटो विवरण पेस गरेर आफ्नो नामबाट नागरिकता दिलाएको हुन सक्छ ।

पहिलो पटक २०७५ साल साउन १३ गते षड् कुमार पोखरेलद्वारा नागरिकता जारी गर्दा जिल्ला प्रशासन कार्यालय पर्सामा लोकनाथ पौडेल प्रमुख जिल्ला अधिकारी थिए ।

गैरकानुनी ढंगबाट नागरिकता प्राप्त गरेकी किशोरी रुविना हाल राहदानी बनाएर उच्च शिक्षाका लागि अष्ट्रेलिया गएको जनाइएको छ । जिल्ला प्रशासन कार्यालय पर्साको नागरिकता फाँटका प्रशासकीय अधिकृत विनय कुमार श्रीवास्तवले पुरानो ढड्डाको आधारमा प्रतिलिपि नागरिकता जारी गरिएको बताए ।

‘वडा कार्यालयबाट आएको सिफारिसका आधारमा सम्पूर्ण प्रमाणलाई केलाएर तत्कालीन समयमा नागरिकता जारी गरेको देखिन्छ, उहाँले प्रमाणसहित मेरो छोरी हो भनेर आएपछि हामीले के गर्न सक्छौँ र ?’ श्रीवास्तवले भने, ‘यो विषय अब थप अनुसन्धानपछि मात्रै थाहा हुन्छ ।’

महानगर प्रमुख सिंहले रुविनालाई नागरिकता दिलाउनका लागि प्रक्रियागत रुपमा सबै कागजपत्र पूरा गरेको स्थानीय प्रशासनले जनाएको छ । सिंह रुविनाको बाबु भने नभएको स्थानीय जनप्रतिनिधि र मेयर सिंहका छिमेकी बताउँछन् ।

रुविनालाई नागरिकता दिनका लागि वीरगञ्ज महानगरपालिका वडा नं. ३ ले सिफारिस दिएको छ । नागरिकताको सिफारिस दिँदा वडा अध्यक्ष रहेका बैजुलाल स्वर्णकार अहिले पनि वडा अध्यक्ष नै छन् । तर, नागरिकताका लागि सिफारिस गर्दा उनलाई बिदामा राखेर निमित्त वडा अध्यक्ष बनेका तत्कालीन वडा सदस्य तुफैल अखतर ठकुराईले सिफारिस दिएका थिए ।

वडा अध्यक्ष बैजुलालले आफूलाई यसबारे कुनै जानकारी नभएको र मेयरले किशोरीलाई छोरी भनेर नागरिकता सिफारिस मागेको विवरण वडामा नभएको दाबी गरे । ‘मेरो वडाबाट सिफारिस भएको बारेमा मलाई थाहा छैन,’ उनले भने ।

पर्साका प्रमुख जिल्ला अधिकारी तथा सहसचिव दिनेशसागर भुसालले वीरगञ्ज महानगर प्रमुख राजेशमान सिंहले झुटो कागजपत्र पेस गरेर किशोरीलाई वंशजको नागरिकता दिएको विषयमा अनुसन्धान हुने बताए । ‘नक्कली बाबु बनेर किशोरीलाई नागरिकता दिएको विषयमा सूचना आएको छ, के कसो भएको हो भन्नेबारे खोजबिन हुन्छ,’ प्रजिअ भुसालले भने । 

म कानुनी उपचारमा जान्छु : महानगर प्रमुख सिंह

वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंहले ६ वर्ष अघि जारी भएको नागरिकताको विषयलाई अहिले सार्वजनिक गरेर बदनाम गर्न खोजिएको भन्दै कानुनी उपचार जाने बताएका छन् । महानगर प्रमुखले  किशोरी रुविना श्रेष्ठलाई आफु बाबु बनेर नागरिकता जारी गरेको भने घुमाउरो पाराले स्विकार गरेका छन् । ‘विगतमा मान्छेको निजी जीवनमा के के हुन्छ हुन्छ, अहिले सार्वजनिक पदमा बसेको बेलामा सार्वजनिक गर्न मिल्छ ?,’ महानगर प्रमुख सिंहले भने, ‘यो विषयलाई लिएर कानुन व्यवसायीसँग मेरो छलफल भईसकेको छ म भोली नै कानुनी उपचारमा जाँदैछु ।’  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शारदा पोखरेल
शारदा पोखरेल
लेखकबाट थप