बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय

सांसद बनेलगत्तै क्रिकेटको प्रशिक्षणमा फर्किए बंगलादेशका कप्तान सकिब अल हसन

मङ्गलबार, २४ पुस २०८०, १६ : ४६
मङ्गलबार, २४ पुस २०८०

काठमाडौँ । बंगलादेश क्रिकेट टोलीका कप्तान तथा प्रभावशाली अलराउन्डर सकिब अल हसनले सांसद बनेपछि पनि आफ्नो खेलजीवनलाई निरन्तरता दिने संकेत गरेका छन् । उनी भर्खरै सम्पन्न बंगलादेशको संसदीय निर्वाचनमा विजयी भएका थिए ।

निर्वाचनमा ३६ वर्षिय सकिबले आफ्ना निकट्तम प्रतिद्वन्द्वीलाई एक लाख ५० हजारभन्दा मतान्तरले हराएका थिए । उनले प्रधानमन्त्री शेख हसिनाको पार्टी अवामी लिगबाट चुनाव जितेका हुन् । उनको प्रतिद्वन्द्वी काजी रेजाउल होसैन थिए ।

सांसद बनेपछि पनि उनले आफ्नो खेलजीवनलाई निरन्तरता दिने संकेत गरेका छन् । चुनाव जितेको दुई दिनपछि नै उनले क्रिकेटको प्रशिक्षणलाई निरन्तरता दिएका छन् । उनले मिरपुरस्थित शेर ए बंगला नेशनल स्टेडियममा प्रशिक्षणलाई निरन्तरता दिएका हुन् ।

सकिबले निर्वाचन प्रचारमा ब्यस्त रहनु परेकाले यसअघि न्युजिल्यान्डविरुद्धको क्रिकेट शृंखलामा सहभागिता जनाएका थिएनन् । खुलनामा जन्मिएका सकिबले प्रशिक्षक र चिकित्सकको निरीक्षणमा नियमित अभ्यास सुरु गरेको समाचारमा जनाइएको छ ।

सकिबले निकट भविष्यमा हुन लागेको बंगलादेश प्रिमियर लिग (बीपीएल) पनि खेल्ने भएका छन् । बीपीएल जनवरी १९ तारिखमा सुरु हुँदैछ । बीपीएलमा उनी रंगपुर राइडर्स टोलीमा सहभागी छन् । पाकिस्तानका पूर्वकप्तान बाबर आजम पनि सोही टोलीमा आबद्ध छन् ।  

हालै भारतमा सम्पन्न आईसीसी एकदिवसीय विश्वकपमा पनि बंगलादेशी टोलीको कप्तानी सकिबले नै गरेका थिए । तर, विश्वकपमा बंगलादेशले गतिलो प्रदर्शन गर्न सकेको थिएन । लिग चरणमा नौ खेलबाट चार अंक जोडेको बंगलादेश आठौँ भएको थियो । दुई खेल जितेको बंगलादेश सात खेलमा भने पराजित भएको थियो ।

तर, उनको कप्तानीमा बंगलादेशी टोली सन् २०२५ मा पाकिस्तानमा आयोजना हुने च्याम्पियन्स ट्रफीमा भने छनोट भएको थियो । विश्वकपमा सात खेल खेलेका सकिबले २६.५७ को औसतले कुल एक सय ८६ रन बनाएका थिए । उनले दुईवटा अर्धशतक पनि प्रहार गरेका थिए ।

त्यो विश्वकपमा सकिबको उच्च स्कोर भने ८२ रन थियो । उनले श्रीलंकाविरुद्धको खेलमा उक्त रन बनाएका थिए । बायाँहाते स्पिनर सकिबले विश्वकपमा नौ विकेट पनि लिएका थिए । सांसद बनेलगत्तै अभ्यासमा फर्किएपछि उनले यसै वर्ष अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी–२० विश्वकप पनि खेल्ने अनुमान गरिएको छ ।  

सकिबले बंगलादेशका लागि तीनवटै ढाँचाको प्रतियोगिता खेलेका छन् । उनले देशका लागि हालसम्म ६६ टेस्ट खेल्दै कुल चार हजार चार सय ५४ रन बनाएका छन् । टेस्ट क्रिकेटमा उनले पाँच शतक र ३१ वटा अर्धशतक पनि बनाएका छन् । टेस्टमा उनको उच्च स्कोर दुई सय १७ रन हो ।

यसैगरी उनले दुई सय ४७ वटा एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दै सात हजार पाँच सय ७० रन बनाएका छन् । एकदिवसीय खेलमा उनले नौ शतक र ५६ वटा अर्धशतक प्रहार गरेका छन् । एकदिवसीय खेलमा उनको उच्च स्कोर अविजित एक सय ३४ रन हो ।

यसका अतिरिक्त उनले बंगलादेशका लागि एक सय १७ वटा टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दै कुल दुई हजार तीन सय ८२ रन बनाएका छन् । टी–२० अन्तर्राष्ट्रियमा उनले १२ वटा अर्धशतक प्रहार गरेका छन् । टी–२० मा उनको उच्च स्कोर ८४ रन हो ।

यसैगरी सकिबले बलिङतर्फ पनि बंगलादेशका लागि महत्वपूर्ण योगदान गरेका छन् । उनले टेस्ट क्रिकेटमा दुई सय ३३ र एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा तीन सय १७ विकेट लिइसकेका छन् । उनले टी–२० अन्तर्राष्ट्रियमा पनि एक सय ४० विकेट हात पारेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप