फरक राष्ट्र तर, उस्तै दुर्लभ उपलब्धि
काठमाडौँ । विश्व खेलकुदले सन् २०२४ को प्रारम्भमै दुई महान् फुटबलरलाई गुमाएको छ । विश्व फुटबलका महान् हस्ती मारियो जागालो (मारियो जर्ज लोबो जागालो) को जनवरी ५ तारिखमा निधन भएको थियो ।
विश्व खेलकुदको इतिहासमा अत्यन्तै दुर्लभ उपलब्धि हासिल गर्ने फुटबलरमध्येका एक जागालोको ९२ वर्षको उमेरमा निधन भएको हो । त्यसको तीन दिनपछि नै जनवरी ७ तारिखमा जागालोसँगै मिल्दो जुल्दो इतिहास बोकेका अर्का महान् फुटबलर फ्रान्ज बेकेनबाउर (फ्रान्ज एन्टोन बेकेनबाउर) ले पनि यो धर्तीबाट सधैँका लागि बिदा लिए ।
बेकेनबाउरको ७८ वर्षको उमेरमा निधन भएको हो । विश्व फुटबलमा ब्राजिलियन हस्ती जागालो र जर्मन लिजेन्ड बेकेनबाउर दुवैको बिचमा केही समानता रहेको छ । यी दुवै महान् फुटबलरले खेलाडी र प्रशिक्षकको रूपमा विश्वकपको उपाधि चुमेका थिए ।
खेलाडी र प्रशिक्षक दुवै भूमिकामा विश्वकपको उपाधि चुम्ने तीन महान् फुटबलरमध्ये अब एकजना मात्र जीवित छन् । उनी हुन्, फ्रान्सका ५५ वर्षीय डिडियर क्लाउड डेसच्याम्पस अर्थात ‘डिडियर डेसच्याम्पस’ ।
पश्चिम जर्मनीका लागि इतिहास रच्ने बेकेनबाउर
बेकेनबाउरले सन् १९७४ मा तत्कालीन पश्चिम जर्मनीलाई खेलाडीको भूमिकामा विश्वकपको उपाधि चुमाएका थिए । त्यो विश्वकपमा उनी पश्चिम जर्मनीको टोलीका कप्तान थिए । त्यो विश्वकपको फाइनलमा पश्चिम जर्मनीले नेदरल्यान्ड्सलाई २–१ गोलले हराउँदै उपाधि हात पारेको थियो ।
यसका अतिरिक्त उनले प्रशिक्षकको भूमिकामा सन् १९९० मा पश्चिम जर्मनीलाई नै विश्वकपको उपाधि चुमाएका थिए । त्यो विश्वकपको फाइनलमा पश्चिम जर्मनीले बलियो अर्जेन्टिनालाई १–० गोलले हराएको थियो ।
आफ्नो समयका प्रभावशाली डिफेन्डर बेकेनबाउरले पश्चिम जर्मनीका अतिरिक्त जर्मन क्लब बायर्न म्युनिखमा पनि लामो समय प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए । सन् १९९६ मा प्रशिक्षकको भूमिकाबाट बिदा लिँदा पनि उनी बायर्न म्युनिखमै आबद्ध थिए ।
बेकेनबाउरले व्यावसायिक खेलाडीको भूमिकामा पनि अधिकांश समय बायर्न म्युनिखमै बिताएका थिए । उनले व्यवसायीक खेलजीवनको अन्तिम खेल भने अमेरिकी क्लब न्युयोर्क कसमसबाट खेलेका थिए । सोही क्लबबाट उनले सन् १९८३ मा व्यावसायिक खेलजीवन टुंग्याएका थिए ।
उनले बायर्न म्युनिखका लागि कूल पाँच सय ८२ खेल खेलेका थिए । पश्चिम जर्मनीका अतिरिक्त उनले बायर्न म्युनिखलाई पनि खेलाडी र प्रशिक्षकको भूमिकामा जर्मन लिगको उपाधि चुमाएका थिए । उनले सन् १९७२ मा युरोपियन च्याम्पियनसिपको उपाधि पनि उचालेका थिए ।
आफ्नो उत्कृष्ट प्रदर्शनका कारण बेकेनबाउरले आफ्नो सक्रिय खेल जीवनमा दुई पटक प्रतिष्ठित बालोन डी’ओरको उपाधि पनि हात पारेका थिए । उनले पश्चिम जर्मनीका लागि सन् १९६६ को विश्वकप पनि खेलेका थिए । त्यो विश्वकपको फाइनलमा सर बबी चार्लटनको इङ्ल्यान्डले पश्चिम जर्मनीलाई अतिरिक्त समयमा ४–२ गोलले हराएको थियो ।
सन् १९६६ को विश्वकपसम्म उनी मिडफिल्डरको भूमिकामा मैदानमा देखापर्थे । त्यसपछि आफ्नो भूमिका परिवर्तन गरी उनले आफूलाई विश्वकै प्रभावशाली डिफेन्डरको रूपमा स्थापित गराएका थिए । सन् १९६६ को विश्वकप सुरु हुँदा उनी केवल २० वर्षमा थिए ।
सन् १९६६ को विश्वकपमा उनले टोलीका लागि चार गोल पनि गरेका थिए । त्यो विश्वकपमा उनी सर्वोत्कृष्ट युवा खेलाडी पनि घोषित भएका थिए । राष्ट्रिय टोलीबाट सन्न्यास लिनुअघि उनले पश्चिम जर्मनीका लागि एक सय तीन खेल खेलेका थिए ।
खेलाडीका रूपमा बेकेनबाउरले बायर्न म्युनिखलाई चारवटा लिग उपाधि चुमाएका थिए । बायर्न म्युनिखले सन् १९७४, सन् १९७५ र सन् १९७६ मा युरोपियन कपको उपाधि जित्दा उनी टोलीको कप्तान थिए । उनले सन् १९८२ मा खेलाडीको भूमिकामा ह्याम्बर्गर एसभीलाई पनि बुन्डेस लिगाको उपाधि जिताएका थिए ।
उनी सन् १९७७ मा बायर्न म्युनिख छाडेर अमेरिकी क्लब न्युयोर्क कसमसमा आबद्ध भएका थिए । त्यतिबेला न्यु योर्क कसमसमा बेकेनबाउर र महान् ब्राजिलियन खेलाडी पेलेको जोडी निकै जमेको थियो । पेलेले पनि सन् १९७५ देखि सन् १९७७ सम्म अमेरिकी क्लब न्युयोर्क कसमसबाट ब्यवसायीक फुटबल खेलेका थिए ।
बेकेनबाउरले सन् १९८६ को विश्वकपमा पनि पश्चिम जर्मनीको प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए । त्यो विश्वकपको फाइनलमा अर्जेन्टिनाले पश्चिम जर्मनीलाई ३–२ गोलले हराएको थियो । सन् १९९० मा बेकेनबाउरले केही समयका लागि फ्रान्सेली क्लब मार्सेमा पनि प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए ।
उनी बायर्न म्युनिखको अध्यक्ष पनि बनेका थिए । यसका अतिरिक्त उनले जर्मन फुटबल महासंघको उपाध्यक्षको जिम्मेवारी पनि निर्वाह गरेका थिए । सन् १९९८ मा जर्मन फुटबल महासंघको उपाध्यक्ष हुँदा उनले जर्मनीलाई सन् २००६ को विश्वकप आयोजना गर्ने अधिकार दिलाएका थिए ।
ब्राजिलको ठुला सफलताका सारथी जागालो
बेकेनबाउरको निधन हुनुभन्दा तीन दिनअघि विश्व फुटबलका अर्का महान् हस्ती मारियो जागालोको ९२ वर्षको उमेरमा निधन भएको थियो । आफ्नो समयका प्रभावशाली खेलाडी जागालोले खेलाडी र प्रशिक्षकको भूमिकामा चारवटा विश्वकप उपाधि जितेका थिए ।
जागालोले दक्षिण अमेरिकी राष्ट्र ब्राजिललाई खेलाडीको भूमिकामा लगातार दुईपटक विश्वकपको उपाधि चुमाएका थिए । उनले सबैभन्दा पहिले सन् १९५८ मा ब्राजिललाई विश्वकपको उपाधि जिताएका थिए । त्यो विश्वकपको फाइनलमा ब्राजिलले आयोजक राष्ट्र स्विडेनलाई ५–२ गोलले पराजित गरेको थियो । त्यो विश्वकपको फाइनलमा ब्राजिलका लागि भाभा र पेलेले दुई–दुई तथा जागालोले एक गोल गरेका थिए ।
त्यसको चार वर्षपछि सन् १९६२ मा चिलीमा आयोजित विश्वकपको उपाधि पनि जागालोसहितको ब्राजिलियन टोलीले नै जितेको थियो । त्यो विश्वकपको फाइनलमा ब्राजिलले चेकोस्लोभाकियालाई ३–१ गोलले पराजित गरेको थियो । त्यो विश्वकपको फाइनलमा अमारिल्डो, जिटो र भाभाले एक–एक गोल गरेका थिए । त्यो विश्वकपको समूहगत चरणको पहिलो खेलमा ब्राजिलले मेक्सिकोलाई २–० ले हराउँदा जागालो र पेलेले एक–एक गोल गरेका थिए ।
आफ्नो समयका प्रभावशाली विंगर जागालोले सन् १९५८ देखि सन् १९६४ सम्म ब्राजिलको राष्ट्रिय टोलीबाट खेलेका थिए । सक्रिय खेल जीवनबाट संन्यास लिएपछि उनी प्रशिक्षकको भूमिकामा सक्रिय भएका थिए ।
जागालोले प्रशिक्षकको भूमिका निर्वाह गरेको पहिलो क्लब बोटाफोगो हो । उनले सन् १९६६ मा ब्राजिलियन क्लब बोटाफोगोमा प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए । त्यसपछि उनी ब्राजिलियन राष्ट्रिय टोलीको प्रशिक्षक बनेका थिए ।
उनी सन् १९७० मा पहिलो पटक ब्राजिलको प्रशिक्षक बनेका थिए । त्यतिबेला ब्राजिलको राष्ट्रिय टोली एकसे एक प्रभावशाली खेलाडीहरूले भरिएको थियो । महान् फुटबलर पेले, जर्जिन्हो, गेर्सन, कार्लोस अल्बर्टोजस्ता खेलाडी त्यतिबेला ब्राजिलियन टोलीमा थिए ।
प्रशिक्षकको भूमिकामा आफ्नो पहिलो सहभागितामै जागालोले ब्राजिललाई सन् १९७० को विश्वकपको उपाधि चुमाएका थिए । मेक्सिकोमा आयोजित त्यो विश्वकपको फाइनलमा ब्राजिलले इटालीलाई ४–१ गोलको फराकिलो अन्तरले हराएको थियो । फाइनलमा ब्राजिलका लागि पेले, गेर्सन, जर्जिन्हो र कार्लोस अल्बर्टोले एक–एक गोल गरेका थिए ।
फरक भूमिकामा ब्राजिललाई विश्वकपको उपाधि चुमाएपछि उनले सन् १९७४ मा ब्राजिलियन टोली छाडेका थिए । त्यसपछि उनी लामो समय विभिन्न क्लबको प्रशिक्षकको भूमिकामा सक्रिय रहे । त्यसबिचमा उनले कुवेत, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स (यूएई) को राष्ट्रिय टोलीमा पनि प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए ।
त्यसपछि सन् १९९१ देखि सन् १९९४ उनी ब्राजिलियन टोलीमा को–अर्डिनेटरको भूमिकामा सक्रिय रहेका थिए । सन् १९९४ मा उनी पुनः ब्राजिलियन राष्ट्रिय टोलीको सहायक प्रशिक्षकमा नियुक्त भएका थिए । उनी सहायक प्रशिक्षक रहँदा ब्राजिलले फेरि सन् १९९४ मा विश्वकपको उपाधि जितेको थियो । त्यतिबेला ब्राजिलियन टोलीको प्रमुख प्रशिक्षकमो भूमिकामा कार्लोस अल्बर्टो पेरेरा रहेका थिए । उनी आफै पनि ब्राजिलियन नागरिक नै थिए ।
अमेरिकामा खेलिएको त्यो विश्वकपको फाइनलमा ब्राजिलले पेनाल्टी सुटआउटमा बलियो प्रतिद्वन्द्वी इटालीलाई ३–२ गोलले हराएको थियो । त्यतिबेला ब्राजिलको टोलीमा जर्जिन्हो, ब्रान्को, डुंगा, रोमारियो, रोनाल्डो, काफुजस्ता प्रभावशाली खेलाडी सहभागी थिए ।
त्यो विश्वकपको फाइनलमा पेनाल्टी सुटआउटमा ब्राजिलका लागि रोमारियो, ब्रान्को र डुंगाले गोल गरेका थिए । मार्सियो सान्तोषको प्रहार भने गोलमा परिणत हुन सकेको थिएन । इटालीका लागि भने अल्बर्टिनी र एभानीले गोल गरेका थिए । इटालियन खेलाडी बारेसी, मासारो र रोबर्टो बाजियोको प्रहार भने असफल भएको थियो ।
फ्रान्समा सन् १९९८ को विश्वकप आयोजना हुँदा भने जागालो ब्राजिलियन टोलीका प्रमुख प्रशिक्षक थिए । तर, ब्राजिलियन टोली त्यो विश्वकपको फाइनलमा आयोजक राष्ट्र फ्रान्ससँग ३–० गोलले पराजित हुन पुगेको थियो ।
खेलाडी र प्रशिक्षकको भूमिकामा विश्वकपको उपाधि जित्ने जागालो पहिलो फुटबलर हुन् । त्यसपछि मात्र बेकेनबाउर र डेसच्याम्पसले यस्तो उपलब्धि हात पारेका थिए । सन् १९५८ मा ब्राजिललाई विश्वकपको उपाधि चुमाउने टोलीमा रहेका खेलाडीमध्ये सबैभन्दा पछाडि निधन भएका खेलाडी पनि जागालो नै हुन् ।
जागालोको निधनसँगै अब ब्राजिलका लागि सन् १९५८ को विश्वकपको फाइनल खेल्ने टोलीका कुनै पनि खेलाडी जिवित छैनन् । सन् १९६५ मा अन्तर्राष्ट्रिय खेलजीवनबाट सन्न्यास लिनुअघि जागालोले ब्राजिलका लागि ३३ खेल खेलेका थिए ।
उनले आफ्नो व्यावसायिक खेलजीवनको अधिकांश समय ब्राजिलियन क्लब फ्लेमेङ्गो र बोटाफोगोमा बिताएका थिए । आफ्नो समयका यी प्रभावशाली फुटबलरले ‘दी प्रोफेसर’ र ‘ओल्ड उल्फ’ जस्ता चर्चित उपनाम पाएका थिए ।
ब्राजिलले पछिल्लो पटक सन् २००२ मा जापान र दक्षिण कोरियामा आयोजित विश्वकपको उपाधि जितेको थियो । त्यो विश्वकपको फाइनलमा ब्राजिलले जर्मनीलाई २–० गोलले हराएको थियो । त्यो विश्वकपमा ब्राजिलियन टोलीका प्रमुख प्रशिक्षक भने लुइज फेलिप स्कोलारी थिए । त्यो विश्वकपमा जागालो ब्राजिलियन टोलीको विशेष सल्लाहकारका रूपमा जापान र दक्षिण कोरिया पुगेका थिए ।