कहिले सुरु गर्ने शिक्षामा वास्तु ?
जीवनको महत्त्वपूर्ण पक्ष शिक्षा हो । शिक्षा क्षेत्रमा सरकार र निजी क्षेत्रले अत्यधिक लगानी गरिरहेका छन् । सबै शैक्षिक संस्थाको मूल उद्देश्य सक्षम जनशक्ति उत्पादन गर्नु हो । सक्षम जनशक्ति र व्यावसायिक शिक्षालयहरूको आर्थिक प्रतिफल समेतलाई मनन गर्दा शैक्षिक संस्थाको निर्माणमा वास्तुशास्त्रको सिद्धान्तलाई अवलम्बन गरिनु अनिवार्य हुन्छ, तर व्यवहारमा त्यस्तो देखिँदैन । वास्तुशास्त्रीय मान्यता या सिद्धान्तलाई बेवास्ता गरी सञ्चालित शैक्षिक संस्था सफल र स्थायी बन्न नसक्नु स्वाभाविक नै हो । शैक्षिक संस्था असफल हुँदा त्यसले केवल लगानीकर्ता मात्र असफल हुँदैनन्, भोलिका कर्णधार मानिने बालबालिकाको भविष्य समेत अन्धकार बन्छ । यस्तो महत्त्वपूर्ण क्षेत्रमा वास्तुशास्त्रीय मान्यता अनिवार्य अवलम्बन गरिनुपर्र्छ ।
विद्यालय निर्माण गर्दा वास्तुशास्त्रीय सिद्धान्त अनुसार उपयुक्त भूखण्ड या जमिनको चयन गरिनु पहिलो आवश्यकता हो । सुन्दर र शान्त वातावरणमा विद्यालय निर्माण गरिनुपर्छ । त्यस्तो वातावरणमा जमिनको आकार तथा प्रकारलाई पनि ध्यान दिएर भवन लगायत निर्माण गरिनुपर्छ । ऊर्जावान् भूखण्ड वर्गाकार या आयातकार छ छैन भनी हेरिनुपर्छ । भवन निर्माण गर्दा मुख्य प्रवेशद्वारलाई प्राथमिकतामा राखिनुपर्छ । सकारात्मक प्रवेशद्वार नभएका विद्यालयमा विद्यार्थी र शिक्षकहरूको मानसिकतामा सकारात्मकता आउँदैन । सामान्यतया विद्यालयको मूलः प्रवेश पूर्व या उत्तर दिशाबाट निर्माण गरिनु राम्रो हुन्छ । तर शैक्षिक संस्थाको विषयका आधारमा दिशाको चयन भने अर्को महत्त्वपूर्ण पक्ष हो । यद्यपि पूर्व या उत्तरतिर प्रवेशद्वार भएका विद्यालयका विद्यार्थीको बौद्धिकस्तर सकारात्मक हुन्छ ।
मुख्य प्रवेशका लागि उत्तम व्यवस्थापन गरिसकेपछि विद्यालयको भवन निर्माण गर्दा विशेष ध्यान दिइनुपर्छ । वास्तुशास्त्रीय मान्यता अनुसार कुनै पनि भूखण्डमा निर्माण गर्दा उत्तर–पूर्व क्षेत्रभन्दा दक्षिण पश्चिम क्षेत्रमा अधिक निर्माणभार हुनुपर्छ । शिक्षाका लागि वास्तुपुरुषको शिरको विशेष महत्त्व हुने भएकाले इशान क्षेत्र खुला र ऊर्जावान् हुनुपर्छ । चार पर्खाल (कम्पाउन्ड वाल) निर्माण गर्दा पनि दिशालाई विशेष महत्त्व दिनुपर्छ । दक्षिण पश्चिम दिशालाई उत्तर पूर्वभन्दा उच्च बनाउनु वास्तुशास्त्रीय आधारमा शुभ हुन्छ । विद्यालयको अर्को महत्त्वपूर्ण पक्ष विद्यार्थीका लागि तयार गरिएको कक्षा कोठा हो । कक्षा कोठाको निर्माण र व्यवस्थापनमा वास्तुलाई विशेष महत्त्व दिइनुपर्छ । समग्र विद्यालयको रङरोगन र कक्षा कोठाको रङमा विशेष ध्यान दिनु अनिवार्य हुन्छ । विद्यालयको रङ चयन गर्दा सेतो, क्रिम या हरियो सकारात्मक हुन्छ ।
विद्यालयको कारक ग्रहका रूपमा बुघ र गुरुलाई लिइन्छ । शिक्षाको कारक बुध र ज्ञानको कारक बृहस्पतिलाई आधार मानेर सोही अनुसार रङको संयोजन गर्दा शैक्षिक गुणस्तरमा सकारात्मकता आउँछ । व्यापारको कारक बुध ग्रहलाई अधिक महत्त्व दिँदा त्यसले व्यावसायिक शिक्षालयको आर्थिक पक्षमा समेत सकारात्मक हुन्छ । यसको साथै पिउने पानीको स्थान, विद्युतीय उपकरण, पाक्शाला, मुख्य प्रशासकीय कार्यालय, शिक्षकहरूको कार्यालय, प्रधानाध्यापकको कार्यकक्ष, लेखा व्यवस्थापन कक्ष, शौचालय, सेफ्टी ट्याङ्की, कालोपाटी, प्रार्थना स्थलजस्ता हरेक विषयमा वास्तुशास्त्र अनुकूल व्यवस्थापन गर्न सक्दा मात्र समग्र परिणाम सकारात्मक हुन्छ ।
समग्रमा हरेक निर्माणजस्तै शैक्षिक संस्थाहरूमा पनि वास्तुशास्त्रको अत्यधिक महत्त्व छ । सरकारी शैक्षिक संस्था र निजी क्षेत्रमा सञ्चालित शैक्षिक संस्थाहरूले वास्तुशास्त्रलाई आधार बनाएर समुचित व्यवस्थापन गर्न अनिवार्य छ । हाल सञ्चालनमा रहेका शैक्षिक प्रतिष्ठानहरूको वास्तुशास्त्रीय अवस्था अनुगमन गरी सुधार गर्न सक्ने हो भने मुलुकको शैक्षिक उन्नयनमा सकारात्मक योगदान हुन्छ नै, साथै व्यावसायिक उद्देश्यमा समेत सकारात्मक उपलब्धि प्राप्त हुन्छ । अहिले राज्यले सञ्चालन गरेका शैक्षिक संस्थाको तुलनामा निजी क्षेत्रका शैक्षिक संस्थाको उत्पादनले बढी बजार कब्जा गरेका छन् भन्दा अत्युक्ति नहोला । तर, अधिकांश निजी विद्यालयहरू विभिन्न कारणले असफल देखिन्छन् । एकाध विद्यालयको वर्चस्व छ । यसो हुनुमा वास्तुशास्त्रीय आधारले विशेष भूमिका खेलेको हुन्छ । ती सफल र सबल शैक्षिक संस्थाहरूको वास्तुको अवस्था पक्कै पनि सकारात्मक छन् । जसले शैक्षिक गुणस्तर र आम्दानी दुवैमा अग्रता कायम गरिरहेका छन् । तर जहाँ वास्तुशास्त्रीय अवस्था कमजोर छ या वास्तु विपरीत निर्माण छ, ती संस्थाहरू आर्थिक र शैक्षिक योगदान दुवैका हिसाबमा कमजोर छन् ।
अन्त्यमा विद्यालय एउटा त्यस्तो महत्त्वपूर्ण क्षेत्र हो, जहाँ बालबालिकाको भविष्यसँगै सिङ्गो देशको भविष्य जोडिएको हुन्छ । सामान्य व्यावसायिकताका लागि मात्र शैक्षिक संस्था सञ्चालन गरिनु हुँदैन । किनकि शैक्षिक संस्थाको मूल ध्येय सकारात्मक शिक्षा र सक्षम जनशक्ति उत्पादन गर्नु हो । यस्तो महत्त्वपूर्ण क्षेत्रमा वास्तु व्यवस्थापनलाई महत्त्व नदिइँदा एउटा सञ्चालक मात्र नोक्सानीमा पर्दैन, अपितु सिङ्गो राष्ट्रले नोक्सानी बेहोर्नुपर्छ । एउटा योग्य र सक्षम व्यक्तिको जीवन असफलताको अन्धकारमा फस्छ । यस्तो महत्त्वपूर्ण विद्यालय क्षेत्रले वास्तुको महत्त्वलाई आत्मसात् गर्नुपर्दैन ? अवश्य पनि पर्छ । तसर्थ समग्र शैक्षिक संस्थाहरूले आफ्नो संस्थालाई वास्तुशास्त्रीय सिद्धान्तलाई अवलम्बन गर्दै सही वास्तु व्यवस्थापन गरी सिंगो राष्ट्रको उन्नयनको योगदानमा जुट्ने कि !
(लेखक दक्षिण एसियाली ज्योतिष महासंघका कार्यवाहक महासचिव हुन् ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साई स्वागत सहकारीको रकम अपचलन गरेको आरोपमा भरत जंगम पक्राउ
-
कांग्रेस नीति प्रतिष्ठानको कार्यकारी निर्देशकमा श्रेष्ठ
-
पोखरा विश्वविद्यालयको उपकुलपतिमा प्राडा बेदराज केसी नियुक्त
-
कान्ति बाल अस्पताल विकास समितिको अध्यक्षमा सुवेदी मनोनीत
-
आईसीसी च्याम्पियन्स ट्रफी र भारत भ्रमणका लागि इङ्ल्यान्डको टोली घोषणा
-
कास्की जिल्ला अदालतमा रविसहित ४४ जनाविरुद्ध मुद्दा दायर हुँदा के–के प्रमाण तथा कागजातहरु बुझाइयो ? (सूचीसहित)