बिहीबार, १० माघ २०८१
ताजा लोकप्रिय

राष्ट्रियसभा निर्वाचन : ३ सिटका लागि गण्डकीमा ८ जनाको उम्मेदवारी

सोमबार, २३ पुस २०८०, १८ : १९
सोमबार, २३ पुस २०८०

पोखरा । राष्ट्रियसभामा गण्डकी प्रदेशबाट रिक्त हुन लागेको ३ सिटमा मनोनयन दर्ता भएको छ । प्रदेश निर्वाचन कार्यालय पोखरामा सोमबार उम्मेदवारहरुले मनोनयन दर्ता गरेका हुन् ।

गठबन्धन, एमाले र राप्रपाले छुट्टाछुट्टै उम्मेदवारी दर्ता गराएका छन् । गठबन्धनबाट कांग्रेसका २ र माओवादीका १ जनाको उम्मेदवारी परेको छ भने एमालेले तीनै सिटमा मनोनयन दर्ता गराएको छ । राप्रपाले पनि २ सिटमा उम्मेदवार उठाएको छ ।

कांग्रेसबाट अन्य क्लष्टरमा गोरखाका किरणबाबु श्रेष्ठ र अपांगता कोटामा तनहुँका पदमबहादुर परियारले मनोनयन दर्ता गरेका छन् । गठबन्धनबाटै महिला क्लष्टरमा माओवादीकी मनरुपा शर्माको उम्मेदवारी परेको छ । एमालेबाट अन्य क्लष्टरमा स्याङजाका चक्रबहादुर पराजुली, महिला क्लष्टरमा गोरखाकी सम्झना देवकोटा र अल्पसंख्यक कोटामा मुस्ताङका हेमन्द्र शेरचनको उम्मेदवारी छ ।

प्रदेशसभामा २ सिट मात्रै रहेको राप्रपाले २ सिटमा उम्मेदवारी दिएको छ । राप्रपाको तर्फबाट अन्य क्लष्टरमा कास्कीका रोमबहादुर भण्डारी र महिला कोटामा तनहुँकी गौमाया श्रेष्ठको उम्मेदवारी परेको छ । गठबन्धनमा रहेका दलहरु कांग्रेस, माओवादी, जनमोर्चा र एकीकृत समाजवादीको ३ हजार ८ सय २७ मतभार छ । एमालेको २ हजार ४ सय ७७ छ भने राप्रपाको १ सय ६ मतभार मात्रै छ ।

गण्डकीबाट रिक्त हुन लागेका पदमध्ये २ वटा एमालेको छ भने एउटा कांग्रेसको हो । एमालेबाट राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र सांसद दीपा गुरुङ तथा कांग्रेसका प्रकाश पन्थले ६ वर्षको कार्यकाल पूरा गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप