सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
अपराध

चितवनमा बोरामा शव : भतिजसँग विवाहेतर सम्बन्धपछि हत्या

सोमबार, २३ पुस २०८०, १६ : ५५
सोमबार, २३ पुस २०८०

काठमाडौँ । चितवनको भरतपुरमा बोराभित्र पोको पारेर फालेको अवस्थामा भेटिएका दुई जनाको हत्या विवाहेतर सम्बन्धका कारण भएको खुलासा भएको छ । गत मङ्सिर ६ गते भरतपुर महानगरपालिका–१२ स्थित मिलन चोकमा महिला र पुरुषको शव फेला परेको थियो । 

लामो समय मृतकको पहिचान नै हुन नसकेकोमा केन्द्रीय अनुसन्धान ब्युरोले अन्ततः मृतकको पहिचान गर्दै प्रारम्भिक अनुसन्धानमा उनीहरूको हत्यामा महिलाका पति संलग्न भएको पत्ता लगाएको हो । ब्यूरोका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार मृतकहरू भारत मोतिहारी फुलबारिया सुगौली निवासी १९ वर्षीय ऋषभ कुमार कुशवाहा र सोही स्थानको सुगांव डीह निवासी ३० वर्षीया अस्मिता भन्ने सन्जु देवी रहेका छन् । उनीहरूको हत्या अस्मिताका पति ३३ वर्षीय अखिलेश भगतले गरेको अधिकारीको भनाई छ ।

मृतकहरू तरकारी, फलफूल व्यापारका लागि पटक–पटक नेपालमा आउने गरेका थिए । उनीहरू अन्तिम पटक दसैँपछि नेपाल आएर चितवनको मिलचोकमा कोठा लिएर बस्न थालेका थिए । दुई जनाबिच सम्बन्ध रहेको शङ्का गर्दै अस्मिताका श्रीमान् भगतले उनीहरूसँग झगडासमेत गरेको प्रहरीको भनाई छ ।

यसको रिसमा मङ्सिर २ गते भगतले दुई जनालाई उनीहरूकै कोठामा हत्या गरेका थिए । त्यसपछि दुईवटा शवलाई जुटको बोरामा बन्द गरी ३ गते राति साइकलमा राखेर कल्भर्टमा फालेका थिए । यो कुरा सीसीटिभी फुटेजमा पनि कैद भएको प्रहरीको भनाई छ ।

घटनापछि भगत सुटुक्क भारत फर्किएका थिए । प्रहरीले उनको खोजी गर्न भारतीय प्रहरीसँग समन्वय गर्दा उनीमाथि अपहरण र व्यक्ति बेपत्ता सम्बन्धी एफआईआर दर्ता भई पुस १६ गते पक्राउ परेको पत्ता लागेको थियो । 

भगत हाल भारतको केन्द्रीय कारागार मोतिहारीमा रहेको र भारतीय प्रहरीले समन्वयमा उनीसँग सोधपुछ गर्दा उनले नेपाल आएर भतिज नाता पर्ने कुशवाह र पत्नी अस्मिताको हत्या गरेको स्वीकार गरेको प्रहरी उपरीक्षक अधिकारीले बताए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप