आइतबार, २१ पुस २०८१
ताजा लोकप्रिय

व्यास नगरपालिकाले १ अर्ब ६७ करोडको संशोधित बजेट पेस गर्ने

सोमबार, २३ पुस २०८०, १५ : ३८
सोमबार, २३ पुस २०८०

तनहुँ । व्यास नगर कार्यपालिकाले आर्थिक वर्ष २०८०/८१ का लागि १ अर्ब ६७ करोड ६६ लाख २७ हजार रुपैयाँको संशोधित बजेट नगर सभामा पेश गर्ने भएको छ । 

नगरप्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा बसेको बैठकमा २०८०/८१ को लागि पारित १ अर्ब ६८ करोड ९१ लाख २७ हजार रुपैयाँको बजेट मध्ये ३८.८२% प्रतिशत हालसम्म आय प्राप्त भई २४.३१% व्यय भएको बैठकमा जानकारी दिइएको थियो । वजेट तर्जुमा समिति र राजश्व परामर्श समितिको प्रस्ताव अनुसार संशोधित बजेट प्रस्तुत गर्ने निर्णय गरिएको हो ।

बैठकमा उप-प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, सबै वडाका वडाध्यक्षहरू, सबै कार्यपालिका सदस्यहरू र सम्बन्धित शाखा प्रमुखहरूको उपस्थिति रहेको थियो । बैठकले विधायन समितिबाट प्रस्तावित शिक्षा ऐन लगायत विभिन्न ऐनको संशोधन प्रस्ताव नगर सभामा पेश गर्ने निर्णय गरेको छ ।

त्यस्तै नगर सभामा प्रस्ताव गरिने विभिन्न प्रस्तावहरूलाई मस्यौदा गरी पेश गर्न जीवन गुरुङ ‘कुमार’ को संयोजकत्वमा प्रस्ताव समिति गठन गरिएको छ । सदस्यहरूमा कृष्ण प्रसाद न्यौपाने, चन्द्र माया परियार, सुशीला दुरा र रनसिंह नेपाली रहेका छन् ।

व्यास नगरपालिका भित्र नापी प्रक्रिया चलिरहेको भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीको जग्गा नापी सम्बन्धमा तनहुँ जिल्ला भूमि आयोगका अध्यक्ष रामचन्द्र अधिकारी, मालपोत कार्यालय, तनहुँका प्रमुख केशवराज सुवेदी, नापी कार्यालय तनहुँका प्रमुख विजयकुमार सिंहसँग व्यापक अन्तरक्रिया गरी अब नापी प्रक्रिया अघि बढाउँदा भूमिहीन दलित, भूमिहीन सुकुम्वासीलाई प्राथमिकतामा राख्ने बैठकले निर्णय गरेको छ ।

 तनहुँ जिल्लामा विगत २९/३० सालमा भएको जग्गा नापी पछि थप जग्गा नापी नभएकाले अन्य पालिकाहरू समेतसँग समन्वय गरी पुनः नापी प्रक्रिया अघि बढाउन नेपाल सरकारसँग माग गर्ने बैठकले निर्णय गरेको छ ।

नेपाल सरकार राष्ट्रिय तथ्याङ्क कार्यालयबाट नेपालमा ग्रामीण तथा सहरी क्षेत्रको क्षेत्रगत वर्गीकरण अनुसार व्यास नगरपालिकाका कुल ७८,९३९ जनसङ्ख्या मध्ये वडा नं ६,७,८,९,११,१२,१३ र १४ समेत आठ वडाहरू ग्रामीण वडा रही यी वडाहरूमा ३७.५०% बसोबास रहेको, वडा नं ५ र १० अर्ध सहरी वडामा रही १९.३५% बसोबास रहेको , वडा नं १,२,३,४ सहरी वडामा रही ४३.१४% बसोबास रहेको विवरण कार्यपालिकामा पेश भई भएको छ । सो वर्गीकरणलाई आधार मानी समतामूलक बजेट कार्यक्रम तर्जुमा गर्ने निर्णय पनि बैठकले गरेको छ ।

tt

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप