१४ किलो सुनमा पाँच वर्षअघिको तस्करीमा संलग्न विमल पोद्दारको ‘कनेक्सन’

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एप्रोन एरियाबाट मङ्सिर २१ मा बरामद गरिएको सुनमा व्यवसायी विमल पोद्दारको ‘कनेक्सन’ भेटिएको छ । पोद्दार पाँच वर्षअघि एयरपोर्टबाट बाहिरिएको साढे ३३ किलो सुन तस्करीको पनि प्रतिवादी हुन् ।
विमानस्थल भन्सार कार्यालयको टोलीले १४ किलो सुन बरामद गरेको थियो । गोरखा बारपाक घर भएका ४५ वर्षीय चन्द्र घलेले दुबईबाट सो सुन ल्याएका हुन् । तस्करीबारे छानबिन गर्न गठित समितिले १४ किलो सुन तस्करी र व्यवस्थापनमा चारवटा टिम सक्रिय रहेको निष्कर्ष सहितको प्रतिवेदन बुझाएको छ ।
विमानस्थल भन्सार कार्यालयले जिल्ला अदालत काठमाडौँमा दायर गरेको अभियोगपत्रमा विमल पोद्दारको नाम उल्लेख छ । विमलको नाम प्रतिवादीहरूको बयानबाट खुलेको अभियोग पत्रमा देखिन्छ । अभियोग पत्रमा भनिएको छ– ‘प्रतिवादीहरूको बयानबाट नाम खुलेका अङ्कित अग्रवाल, राजेन्द्र बस्नेत, विमल पोद्दार, राजकुमार भारती, जीवन गुरुङ र गुरु भन्ने व्यक्ति लगायत अन्य संलग्न कोही कसैको यकिन नाम थर वतन तथा कसुरमा संलग्नता खुली आएका बखत पछि मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ३५ बमोजिम आवश्यक कारबाही गरिने समेत निर्णय गरिएको छ ।’
साढे ३३ किलो सुन तस्करीमा संलग्न आरोपमा पोद्दार २०७५ असार ६ मा पक्राउ परेका थिए । पोद्दार भारतीय नागरिक हुन् । उनी करिब ५ दशकदेखि नेपालमा छन् । न्यूरोडमा पहिले सुन पसल सञ्चालन गरेका पोद्दारले डिल्लीबजारमा सिल्भर सिटी अपार्टमेन्ट निर्माण गर्दा ‘निर्माण व्यवस्थापक’ को भूमिका खेलेको साढे ३३ किलो सुनबारे अनुसन्धान गरेका अधिकृतहरू बताउँछन् । डिल्लीबजारमा उनले एड्रेस लाउन्ज पनि सञ्चालन गरेका छन् ।
विमलले तस्करीको सुन सप्लाई गर्ने र हुन्डीमार्फत सुनको रकम व्यवस्थापनको भूमिका खेल्दै आएका छन् । विमानस्थल भन्सार कार्यालयले त्यसबारे अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई लेखेर पठाउने निर्णय गरेको छ । साढे ३३ किलो सुन प्रकरणमा उनी धरौटीमा रिहा भएका हुन् । तर, अहिले पनि उनको सुन तस्करीमा ‘नेक्सस’ कायमै रहेको भेटिएको छ ।
साढे ३३ किलो सुन तस्करीबारे छानबिन गर्न गठित समितिसँग उनले हुन्डी कारोबार गरेको स्वीकारेका थिए । अनुसन्धानमा संलग्न एकजना अधिकृत भन्छन्– ‘हामीले बयान लिँदा उनी धेरै रोए, हुन्डी कारोबार उनले स्वीकारेका थिए ।’
सह–सचिव ईश्वरराज पौडेल नेतृत्वको समितिले २०७५ साउन १६ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनुसन्धान प्रतिवेदन बुझाएको थियो । सो प्रतिवेदनमा विमल पोद्दारलाई ‘ठुलो माछा’ किटान गरिएको छ । पाँच वर्षपछि पनि तिनै पोद्दार सुन तस्करीको सञ्जालमै रहेको भेटिएको छ । सुन तस्करीबारे अनुसन्धानमा संलग्न एकजना उच्च प्रहरी अधिकारी भन्छन्– ‘सुन तस्करीको नेक्सस तोडिएको छैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली कागज बनाउँदै कामदार, तस्बिरहरु
-
कांग्रेस सवा २ करोड नोक्सानमा, घाटाको ब्यालेन्स सिटमा ‘भेट्रान’ व्यवसायीको सिग्नेचर
-
नेपाललाई मानवअधिकार परिषद्को सदस्यमा मत दिन परराष्ट्रमन्त्री राणाको आग्रह
-
राजेन्द्र महतोको प्रश्न: मेरो पीएसओलाई किन फिर्ता बोलाइयो ?
-
सन्तुलित पोषणलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड
-
भूमि अध्यादेशबारे बृहत् अन्तरक्रिया गर्दै जसपा नेपाल