कृष्ण सिटौलाको सहज व्यवस्थापन
विराटनगर । कोशी प्रदेश निर्वाचन कार्यालयमा राष्ट्रियसभा सदस्य पदका लागि उम्मेदवार मनोनयन दर्ता गराएपछि सञ्चारकर्मीले कांग्रेस नेता कृष्ण सिटौलालाई सोधे, ‘तपाईं राष्ट्रियसभाको अध्यक्ष बन्ने सहमति भइसकेको हो ?’
दुईपटक एउटै प्रश्नको सामना गरेपछि उनले भने, ‘प्रारम्भमा धेरै चर्चा गर्नु उपयुक्त हुँदैन । राष्ट्रियसभामा निर्वाचित भएर पुगेपछि तपाईंले भनेका सबै कुराको जवाफ पाउनुहुन्छ ।’
शालिन र भद्र शैली सिटौलाको विशेषता हो । तर, राजनीतिमा उनी चतुर पनि छन् । यद्यपि निर्वाचन कार्यालय परिसरमा उनको मुहारमा उतिसारो खुसी देखिएन । सायद उनमा प्रत्यक्षतर्फबाटै चुनाव लडेर संघीय संसद हुँदै राजनीतिमा अझै भूमिका खेल्ने चाहना थियो होला । तर, अब त्यो सम्भावना लगभग सकिएको छ ।
२०६२/०६३ को जनआन्दोलनपछि सिटौला सधैँजसो सहमति, सहकार्य र एकताको नारालाई कार्यान्वयन गर्ने राजनीतिक नेतृत्वको सहायक भूमिकामै रहे । उनले प्रारम्भमा कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालालाई सहयोग गरे । दोस्रो पटक सुशील कोइरालालाई र अहिले शेरबहादुर देउवालाई सहयोग गरिरहे ।
बदलामा उनी गिरिजाप्रसाद कोइरालाको आशीर्वादमा गृहमन्त्री बने । २०६२/०६३ को जनआन्दोलनपछि उनी २०७० सालको संविधानसभा निर्वाचनमा मात्रै विजयी बने । २०६४ सालमा माओवादीका पूर्ण सिंह राजवंशीबाट पराजित बनेका सिटौलाले ०७० मा भने उनै राजवंशीलाई पराजित गरे ।
२०७४ सालमा वाम गठबन्धनमा मिसिएको राप्रपाका राजेन्द्र लिङ्देनले सिटौलालाई पराजित गरे । सिटौलाको पराजय २०७९ सालको निर्वाचनमा पनि कायमै रह्यो । लिङ्देनले एमालेको सहयोगमा सिटौलालाई साविककै निर्वाचन क्षेत्र झापा–३ बाट पराजित गरे ।
पराजयको स्वाद चाखिरहेका सिटौलालाई अहिले कांग्रेस सभापति देउवाले राष्ट्रिय सभाको उम्मेदवार बनाएका छन् । उनलाई धेरैले राष्ट्रियसभाको अध्यक्षको रुपमा पनि हेरिरहेका छन् । सिटौलाले पनि यस कुरालाई अस्वीकार गरेका छैनन् ।
‘नेपालको राजनीतिक विकास क्रममा संसदबाट नयाँ ढङ्गले अगाडि जानु आवश्यक छ आजको दिनमा । सबै दलहरुको बिचमा नयाँ समझदारी निर्माण गरेर मुलुकसामु उपस्थित चुनौतीको सामना गर्न नीतिगत तबरबाट संयुक्त भएर जानु आवश्यक देखेको छु,’ सिटौलाले सोही कुरालाई बल पुग्ने गरी भने, ‘जनताको हितमा काम गर्न र साझा दृष्टिकोण लिएर संसद अगाडि बढ्नुपर्छ ।’
सिटौलाको राजनीतिक यात्राको सहज व्यवस्थापन भएको कतिपय बताउँछन् । उमेरले ७७ वर्ष पुगिसकेका उनले अबका ६ वर्ष राष्ट्रियसभामै बिताउने छन् । राष्ट्रियसभा अध्यक्ष बन्ने उनको सम्भावना धेरै छ । यद्यपि त्यस अगाडि उनले आगामी माघ ११ गते हुने निर्वाचनमा जित सुनिश्चित गर्नुपर्नेछ ।
कोशी प्रदेशको मतभार सिटौलाका लागि सहज देखिन्छ । किनकि गठबन्धनमा आबद्ध कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी र जसपासँग कोशीमा सहज बहुमत छ । गठबन्धन दलसँग ५ हजार ४३६ मतभार रहँदा एमालेको मतभार ४ हजार २४८ मात्रै छ । यसकारण पनि सिटौलाको राजनीतिको अन्तिम स्टेप राष्ट्रियसभाको अध्यक्ष बनेरै टुङ्गिने आकलन बलियो देखिन्छ ।
आगामी फागुन २० गतेदेखि हालका राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको कार्यकाल सकिँदैछ र राजनीतिमा धेरै फेरबदल नभए उक्त पदमा सिटौला जाने सम्भावना लगभग पक्काजस्तै छ ।
जीवनमा आठ पटक संसदीय निर्वाचन लडेका सिटौलाले ३ पटकमात्रै विजयको स्वाद चाखेका छन् । राजनीतिक यात्राको अन्तिम मोडमा सिटौलाले पाएको अनुकुल अंकगणित र माहोललाई सक्रिय राजनीतिको बहिर्गमनमा पुग्ने सम्मानजनक बाटोका रुपमा हेर्नेहरु पनि प्रशस्त छन् ।