बुधबार, ०५ मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

लघुकथा : कुलदेवता

सोमबार, २३ पुस २०८०, ११ : ५३
सोमबार, २३ पुस २०८०

‘आज दाइँ सकियो । धान चाहिँ घरमै पुर्‍याइदिनुपर्छ है !’ हातका बोराहरू खलामा राख्दै खेतधनी बोले । 
दयेँराहरू केही बोलेनन् । नबोल्नुमा लोभको रहस्य थियो ।

‘दुई किलो जति ब्वाइलर कुखुराको मासुको व्यवस्था पनि गरेको छु । खाउला नि !’
‘हस्’ एउटाले बोल्यो ।

‘धान चाहिँ सिरान तलामा नै पुर्‍याइदेओ है ? भकारी थापेर राखेको छ ।’
खेतधनीको आग्रहमा दयेँरा फेरि मौन रहे । मौन हुनुमा अप्ठ्यारोको रहस्य थियो । खेतधनीले नसुन्ने गरी एउटाले खुसुखुसु आवाज निकाल्यो, ‘बाहुनका तलामा... ।’
‘ब्वाइलरको सितनलाई पाँच सय रुपियाँ पनि छुट्याएको छु ।’ खेतधनीको कुरा सकिन नपाउँदै अर्को दयेँराले ‘हुन्छ’ भन्यो ।

खेतधनीले घरमा खबर पुर्‍याए । नाति केटाले सिरान तलाको भकारी देखाइदियो । धान थन्क्याइसकेपछि इमानदारीपूर्वक दयेँरालाई कुखुराको मासु र पाँच सय रुपियाँ दिने काम पनि भयो ।

बेलुका सुत्ने बेलामा नाति केटाले सोध्यो, ‘हजुर बा, आज सिरान तलामा कुलदेवता छैनन् है ?’
हजुरबाले नातिलाई थप्थप्याउँदै भने, ‘नकराईकन सुत् । भोलिदेखि फेरि आउँछन् ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रमेशचन्द्र घिमिरे
रमेशचन्द्र घिमिरे
लेखकबाट थप