‘सार्वजनिक नैतिकता’ उल्लङ्घन गरेको आरोपमा इरानकी एक महिलालाई ७४ कोर्रा सजाय
तेहरान । ‘सार्वजनिक नैतिकताको उल्लङ्घन’ गरेको आरोपमा इरानी अधिकारीहरूले एक महिलालाई ७४ पटक कोर्रा लगाएको र टाउको नढाकेकामा जरिवाना लगाएको न्यायापालिकाले बताएको छ ।
“दोषी रोया हेशमतीले तेहरानमा व्यस्त सार्वजनिक स्थानहरूमा अपमानजनक तरिकाले उपस्थित भएर उदारतालाई प्रश्रय दिएकी छन्”, न्यायपालिकाको मिजान अनलाइन वेबसाइटले शनिबार राति भनेको छ, “सार्वजनिक नैतिकता उल्लङ्घन गरेको आरोपमा उनलाई ७४ कोर्रा हान्ने सजाय कानून र शरियाअनुसार दिइएको थियो ।”
सन् १९७९ को इस्लामिक क्रान्तिको लगत्तैदेखि इरानमा सबै महिलाहरूका लागि आफ्नो गर्धन र टाउको ढाक्न कानूनले अनिवार्य गरेको छ । इरानमा ड्रेस कोडको उल्लङ्घनमा कोर्रा हान्नु असामान्य छन् । यद्यपि सन् २०२२ को अन्त्यमा सुरु भएको सरकारविरोधी प्रदर्शनका क्रममा उल्लङ्घनको अभ्यास बढेपछि अधिकारीहरूले नियमको अवहेलना गर्नेमाथि कडा कारबाही गरेका छन् ।
ती विरोध प्रदर्शनहरू सन् २०२२ सेप्टेम्बरमा महिलाहरूका लागि इस्लामिक गणतन्त्र इरानको कठोर ड्रेस कोडको कथित उल्लङ्घनको आरोपमा पक्राउ परेकी २२ वर्षीया इरानी कुर्द महसा अमिनीको हिरासतमा मृत्यु भएपछि सुरु भएको थियो ।
विरोध प्रदर्शनका क्रममा महिला प्रदर्शनकारीहरूले आफ्नो टाउकोबाट स्कार्फ उतारेर जलाइदिएका थिए । अन्य महिलाहरूले पनि ड्रेस कोडको उल्लङ्घन सुरु गर्न थाले । त्यसपछि कारबाही सुरु गरियो ।
कुर्द–केन्द्रित अधिकार समूह हेन्गावले हेशमतीको पहिचान कुर्द मूलकी ३३ वर्षीया महिलाका रूपमा गरेको छ । “टाउकोमा स्कार्फ नलगाई सामाजिक सञ्जालमा तस्बिर प्रकाशित गरेको आरोपमा उहाँलाई अप्रिलमा पक्राउ गरिएको थियो”, उनका वकिल मजियार टाटाईले सुधारवादी शारग दैनिकलाई भने, “सार्वजनिकरूपमा मुस्लिम बुर्का नलगाएकामा हेशमतीलाई एक करोड २० लाख रियाल (करिब २५ अमेरिकी डलर) को जरिवाना तिर्न पनि आदेश दिइएको थियो ।”
इरानी अधिकारीहरूले उल्लङ्घनमाथि निगरानी गर्न सार्वजनिक स्थानहरूमा निगरानी क्यामेरा लगाएका छन् र नियमको उल्लङ्घन गर्ने व्यवसायहरू बन्द गरिदिएका छन् । इरानको संसद्ले ड्रेस कोडको उल्लङ्घन गर्नेलाई कडा सजाय दिने विधेयकमाथि पनि छलफल गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरद्वारा उपविजेता नेपाली महिला टोलीलाई २५ लाख नगदसहित सम्मान
-
रङ्गशालामा लाग्यो ओली विरुद्ध मुर्दावादको नारा
-
दिल्लीमा तीव्र वायु प्रदुषण
-
महाकविको ११६ औँ जन्मजयन्तीको अवसरमा कविता वाचन
-
बंगलादेशसँग हारेसँगै राजेन्द्र तामाङद्वारा मुख्य प्रशिक्षक छाड्ने घोषणा
-
प्रहरीका दुई जना डीआइजीलाई एआइजीमा बढुवा गर्न सिफारिस