के गर्दैछन् विश्वकै कान्छो निर्देशक सौगात ?
काठमाडौँ । गिनिज बुक अफ वर्ल्ड रेकर्डमा विश्वकै कान्छो निर्देशकको रूपमा नेपालको तर्फबाट नाम लेखाउन सफल चलचित्र निर्देशक सौगात विष्ट अहिले १८ वर्षका भएका छन् । उनले आज परेको आफ्नो जन्मदिन परिवारसँग सेलिब्रेशन गर्दैछन् । सौगातले ७ वर्ष ३ सय ४० दिनको उमेरमा नेपाली चलचित्र ‘लव यु बाबा’ निर्देशन गरेर ‘गिनिज बुक’ मा नाम लेखाएका थिए ।
खेलकुदमा समेत रुचि राख्ने सौगात पछिल्लो समय अध्ययनमा व्यस्त छन् । हाल कक्षा ११ मा कानुन विषयमा अध्ययनरत उनको कानुन अध्ययन गरेता पनि भविष्यमा चलचित्र विषयमा विज्ञता हासिल गर्दै प्रवेश गर्ने सोच छ । सौगात एक सफल बाल कलाकार समेत हुन् । उनले केही फिल्ममा समेत अभिनय गरेका छन् ।
सौगातले पछिल्लो समय ‘हैरान’ नामक फिल्म निर्देशक गरेका थिए । फिल्ममा सरोज खनाल, गजित विष्ट, सागर लम्साल ‘बले’, बुद्धि तामाङ, सत्यराज आचार्य, शिशिर भण्डारी, पुष्कर रेग्मी, निष्मा घिमिरे, आरोही शर्मा, एन्जलराई लगायतका कलाकारहरूको अभिनय थियो ।