शुक्रबार, २६ पुस २०८१
ताजा लोकप्रिय

काटिएको लाइन नि:शर्त जडानको माग गर्दै रुपन्देहीका उद्योगीद्वारा प्राधिकरण अगाडि धर्ना

आइतबार, २२ पुस २०८०, १५ : ४९
आइतबार, २२ पुस २०८०

बुटवल । विद्युत् काटिएका उद्योगहरूको लाइन नि:शर्त जडानको माग गर्दै रुपन्देहीका उद्योगीहरू आन्दोलनमा उत्रिएका छन् । उद्योग बन्द गरेर आज उनीहरूले नेपाल विद्युत् प्राधिकरण भैरहवा वितरण केन्द्र अगाडि धर्ना दिएका हुन् ।

उद्योगीहरूले लाइन काटिएका उद्योगको विद्युत् लाइन जडान नगरिएसम्म सिद्धार्थ राजमार्ग कोरिडोरमा सञ्चालित उद्योगहरू संयुक्त रूपमा बन्द गरी विरोध सुरु गरेको जनाएका छन्  । बुटवल–भैरहवा औद्योगिक सिद्धार्थ राजमार्ग कोरिडोरमा सञ्चालित १९ वटा उद्योगहरूको नेपाल विद्युत् प्राधिकरण भैरहवा तथा नयाँ मिल वितरण केन्द्रले जबरजस्ती न्यायसम्मत नरहेको ट्रक लाइनको छुट बिलिङ गरेकाले कानुनसम्मत नरहेको ‘छुट बिल’ को विरुद्ध कानुनी बाटो अवलम्बन गरिएको उद्योगीको दाबी रहेको छ ।

उद्योग र विद्युत् प्राधिकरणबिचको विवाद उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा हाल विचाराधीन रहेकै अवस्थामा तिर्नै नपर्ने रकम असुल गर्न उद्योगहरूको विद्युत् लाइन काट्न सुरु गरिएको उद्योगीहरूको आरोप छ ।

3

धर्ना कार्यक्रममा सिद्धार्थ उद्योग वाणिज्य सङ्घ, रुपन्देहीका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले ट्रक लाइन र डेडिकेटेड लाइन प्रयोग नगरेका उद्योगलाई पनि महसुल बुझाउन पत्र पठाएकाले आन्दोलनमा उत्रिनुपरेको बताए । विद्युत् प्राधिकरणले सप्रमाण विद्युत् प्रयोग गरेको प्रमाण उपलब्ध गराए शुल्क तिर्न तयार भए पनि प्रयोग नगरिएको विद्युत् शुल्क तिर्न नसकिने उनको भनाई थियो । 

नेपाल विद्युत् प्राधिकरण भैरहवा वितरण केन्द्रका प्रमुख सञ्जय कुमार मिश्रले केही उद्योगहरूको लाइन काटिएको र लाइन जोड्न उद्योगबाट निवेदन आएको बताए । उनले कार्यालयमा आएका ज्ञानपन पत्रलाई तालुक कार्यालयमा पठाइएको र तालुक कार्यालयबाट आएको निर्णय उद्योगीलाई जानकारी गराइने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप