बुटवलमा रात्रिकालीन बजार किन ?
प्रचलित कानुनअन्तर्गत रही दिनमा जस्तै गरी रात्रिकालीन समयमा उत्पादनका सम्पूर्ण साधान तथा खुला अर्थतन्त्रका क्षेत्रहरूले एक आपसमा व्यावसायिक कारोबार तथा आर्थिक कारोबार गर्ने सहरलाई रात्रिकालीन सहरका रूपमा बुझिन्छ । यस्तो प्रकृतिको बजार मुख्य रूपमा पर्यटन उद्योगसँग सम्बन्धित गतिविधिलाई प्राथमिकताका साथ सञ्चालन गर्न एवं गति प्रदान गर्न सञ्चालन गरिन्छ । उपभोग्य वस्तुको कारोबारभन्दा धेरै कारोबार रात्रिकालीन सहरमा होटल, रेस्टुरेन्ट, बार, नाचघर, दोहोरीघरलगायत पर्यटन उद्योगसँग प्रत्यक्ष व्यावसायिक सम्बन्ध राख्ने क्षेत्रको हुने गर्दछ ।
रात्रिकालीन सहरको अवधारणा चीनमा मध्यकालीन चिनियाँ ताङ राजवंशबाट सुरुवात भएको पाइन्छ । सन् ८३६ मा ताङ सरकारले रात्रि बजार र तिनीहरूको सञ्चालनमा कडा प्रतिबन्ध लगाएको थियो । जुन अभिलेखका आधारमा विश्वमा यस प्रकारको सहरको अभ्यास नवौँ शताब्दीभन्दा पहिले नै रहेको बुझ्न सकिन्छ ।
नेपालमा रात्रिकालीन सहरको सुरुवात सन् १९७४ मा काठमाडौँको दरबारमार्ग, ठमेल बजार र सन् १९८० मा पोखराको लेक साइडमा प्रारम्भिक समयमा विस्तार भएको पाइन्छ । नेपालमा रात्रिकालीन सहरको अभ्यास बढाउनका लागि सन् १९७० बाट थाई एयरले हप्तामा तीन पटक उडान गर्न सुरु गर्नु र राजा महेन्द्रले सन् १९६९ मा दरबारमार्गमा यस प्रकारको बजारको परिकल्पना गर्नुलाई महत्त्वपूर्ण प्रयासका रूपमा लिन सकिन्छ । यो सहरको वास्तविक अभ्यास पोखरामा सन् २००० बाट भएको कुरा लेकसाइड पर्यटन विकास परिषद्ले बताएको छ ।
बुटवलको भौगोलिक अवस्था
नेपालका पुराना नगरपालिकामध्ये एक बुटवल उपमहानगरपालिका लुम्बिनी प्रदेशको रूपन्देही जिल्लामा पर्दछ । देशका प्रमुख राजमार्गहरू पूर्व–पश्चिम राजमार्ग तथा सिद्धार्थ राजमार्गको सङ्गम स्थलमा रहेको यस उप–महानगरपालिका विक्रम संवत् २०१६ सालमा स्थापना भएको हो । नेपाल सरकार, सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयद्वारा विक्रम संवत् २०७१ मङ्सिर १६ गते बुटवल नगरपालिकाबाट बुटवल उपमहानगरपालिकामा स्तरोन्नति भएको यस क्षेत्रको पूर्वमा देवदह नगरपालिका, पश्चिममा सैनामैना नगरपालिका, उत्तरमा पाल्पा जिल्लाको तिनाउ गाउँपालिका रहेको छन् र दक्षिणपट्टिको सिमानाका रूपमा तिलोत्तमा नगरपालिका र सुद्धोधन गाउँपालिका रहेका छन् । तिनाउ नदीको किनारमा अवस्थित बुटवलको उच्चतम तापमान ४५ डिग्री सेल्सियससम्म पुग्दछ भने न्यूनतम तापमान ७ डिग्री सेल्सिअससम्म पुग्ने गरेको रेकर्ड गरिएको छ । लुम्बिनी अञ्चलको प्रशासनिक सदरमुकामका रूपमा रहेको बुटवल उपमहानगरपालिकाभित्रको जनसङ्ख्या करिब डेढ लाखको हाराहारीमा पुगेको पाइन्छ । विक्रम संवत् २०७८ को जनगणना अनुसार यस क्षेत्रको कुल जनसङ्ख्या १,९४,३३५ रहेको छ । जसमध्ये ९४,८४९ जना पुरुष थिए भने ९९,४८६ जना महिला छन् । ९१.३१ प्रतिशत जनसङ्ख्या साक्षर रहेको बुटवलमा शिशु कक्षादेखि स्ताकोत्तर तहको अध्यापन गराउने शिक्षालयहरूको बाक्लो उपस्थिति रहेको छ ।
बुटवलमा रात्रिकालीन सहरको आवश्यकता किन ?
बुटवल पछिल्लो समयमा औद्योगिक उत्पादन, व्यापार, वाणिज्य, शिक्षा र वित्तीय संस्थाहरू सञ्चालन, विकास तथा विस्तारको उत्कृष्ट गनतव्यको रूपमा स्थापित सहरका रूपमा प्रमाणित भएको छ । उनका अनुसार बुटवलमा देशकै उत्कृष्ट निजी, सामुदायिक विद्यालय र क्याम्पसहरू छन् । बुटवलमा केन्द्रीय कार्यालय रहेको एक बैङ्क र २ लघुवित्तसहित एक सयभन्दा बढी बैङ्क तथा वित्तीय संस्थाका शाखा कार्यालय छन् ।
बुटवलको ऐतिहासिक पृष्ठभूमिका बारेमा अध्ययन गर्दा नेपाल एकीकरण हुनुपूर्व पश्चिम नेपालमा बुटवल राज्यका रूपमा बुटवल रहेको जसको सिमाना पूर्वमा पाल्पा र नवलपरासी क्षेत्र र पश्चिमा प्युठानसम्म विस्तारित भएको पाइन्छ । ती सिमानाभित्रका नागरिकहरूको आर्थिक केन्द्रका रूपमा प्राचीन समयदेखि आर्थिक क्रियाकलाप सञ्चालन गरेको थियो । यस्तो प्रकारको बुटवल राज्य विसं १६१० मा स्थापना भएको थियो । बुटवलको आर्थिक इतिहास नेपालको आर्थिक इतिहास जतिकै पुरानो रहेकको पाइन्छ । सन १८१६ को सुगौली सन्धिपछि बुटवल पश्चिम नेपालको मुख्य आर्थिक केन्द्रका रूपमा सञ्चालित भएको थियो । जसको नेतृत्व वर्तमान समयको पुरानो बटौली सहरले गरेको हो ।
बुटवल ११ औँ शताब्दीदेखि नै प्रमुख व्यापारिक, आर्थिक तथा वाणिज्यका क्षेत्रमा नमुना सहरका रूपमा प्रसिद्ध रहेको थियो । यहाँ पहाडका मानिसहरूले घिउ, सुठो, तेल, जडीबुटी आदि कृषि उपज ल्याई बिक्री गर्ने तथा आफूहरूलाई आवश्यक पर्ने दैनिक उपभोग्य वस्तुहरूको खरिद गरेर लैजाने गरेका जीवित ईतिहासहरूले पनि बुटवल प्राचिन समय देखी आर्थिक केन्द्रका रूपमा रहेको प्रमाणित भएको छ । बुटवलको औद्योगिक ईतिहासमा वि.स. २०२० मा सञ्चालनमा आएको शिब बिडी उद्योग र २०३२ सालमा सञ्चालन भएका कृष्ण साबुन उद्योग र बुटवल घिउ उद्योगलाई लिन सकिन्छ । वि.स. २०३२ मा बुटवल औद्योगिक क्षेत्रको निर्माण र लगतै सञ्चालनमा आउनु र वि.स. २०७२ सालमा मोतिपुरमा अर्को औद्योगिक क्षेत्र स्थापना भई सञ्चालनका लागी आवश्यक प्रक्रियाहरू अगाडि बढ्नुले बुटवल अव देशको मुख्य आर्थिक सहरका रूपमा स्थापित हुदै गएको पुष्टि भएको छ ।
समानता स्वाभिमान र अवसर बस्नयोग्य बुटवल सहर भन्ने मुख्य नाराका साथ बुटवल उपमहानगरपालिकाले आवश्यक पूर्वाधार विकास तथा विस्तारका क्षेत्रमा आफ्नो वार्षिक नीति तथा कार्यक्रमलाई केन्द्रित गरिरहेको छ । त्यसको परिणामस्वरूप पश्चिम नेपालका थुप्रै लगानीकर्ताको लगानी अहिले बुटवल केन्द्रित भएर छिमेकी पालिकाहरूमा विस्तारित भइरहेको छ । कोभिड–१९ पछि व्यापार व्यवसायमा भित्रिएको खुला बजार तथा उपभोताको सोचमा आएको परिवर्तनका कारणले अनलाइन बजारको समेत विकास भइरहेको छ । नेपाली अर्थतन्त्रमा काठमाडौँ, वीरगन्ज, पोखरापछि सशक्त प्रभाव पार्ने सहरका रूपमा पछिल्लो समयमा बुटवल आइरहेको छ । जनगणना २०७८ को नतिजाले पनि रूपन्देही बसाइँ सराइका लागि आन्तरिक रूपमा पहिलो गन्तव्य प्रमाणित गरेको परिवर्तित सन्दर्भमा बुटवलमा उपभोक्ताको मागलाई समेत हृदयगम गर्दै रात्रिकालीन सहरको आवश्यकता रहेको महसुस हुन्छ ।
वर्तमान समयमा बुटवलमा रात्रिकालीन सहरका लागि आवश्यक पर्ने सबै प्रकारका भौतिक पूर्वाधारले समपन्न कालिका पथ तयारी अवस्थामा रहेको छ । कालिका पथमा रातभर नै व्यवसाय सञ्चालन गर्न सकिने तवरको भौतिक र मानवीय जनशक्ति बुटवल रहेको कुरालाई यहाँका व्यावसायिक संस्थाहरूले बताइरहेको छन् । यद्यपि रातभर नै सञ्चालन गर्दा स्थानीय बासिन्दालाई असर पर्ने भएकाले पहिलो चरणमा राति १२ बजेसम्म र बजार क्षेत्रको बस्तीसँग आवश्यक सहकार्य र समझदारी शान्त तवरमा सञ्चालन हुने व्यवसायलाई दीर्घकालमा रातभर नै सञ्चालन गर्न सकिन्छ ।
सूर्यास्तपछि सामान्यतया मुख्य तथा व्यापारिक सडकको दायाँ बायाँ रहेका स्थानीय बिक्रेताहरूले आफ्नो मौलिक परम्परा एवं घरेलु उद्योगका उत्पादनसँगै राष्ट्रिय र अन्तर्राष्ट्रिय उद्योगका उत्पादनलाई बिक्री वितरण गर्ने बजार नै रात्रिकालीन सहर हुन् । वर्तमान समयमा बुटवलमा यस प्रकारका सबै वस्तु तथा सेवा उपलब्ध हुनुको साथै यसका लागि आवश्यक पर्ने स्थानीय मौलिक कला तथा भौतिक पूर्वाधारको अनुकुल व्यवस्थापन रहेको छ । रात्रिकालीन सहरहरू दैनिक उत्सवमय तरिकाले उपभोक्तालाई सेवा उपलब्ध गराउने गर्दछ । जुन कुरा बुटवलको कालिकापथ केन्द्रित व्यवसायले पछिल्ला दुई आर्थिक वर्षदेखि उपलब्ध गराउँदै आएका छन् ।
रात्रिकालीन सहरको अन्तर्राष्ट्रिय मापदण्डका अनुसार २४सै घण्टा अत्यावश्यकीय सेवा प्रवाहमा कुनै पनि प्रकारको अप्ठ्यारो नभएको सहरलाई रात्रिकालीन सहर सञ्चालनका लागि कानुनसम्मत तरिकाबाट स्वीकृति दिन सकिने कुरा उल्लेख गरिएको छ । रात्रिकालीन सहर सञ्चालन गर्नका लागि सुरक्षा व्यवस्थापन पहिलो चुनौती रहन्छ ।
बुटवलको सन्दर्भमा भारतसँगको खुला सिमानाले प्रत्यक्ष प्रभाव पार्न सक्ने दरिलो सम्भावना रहे पनि विज्ञान र प्रविधिको उच्चतम् प्रयोगबाट यो समस्या समाधान गर्न सकिन्छ । वर्तमान समयमा वैकल्पिक आम्दानीको उचित स्रोत प्राप्त गर्न नसकी स्नातक अध्ययन गर्ने उमेरका धेरै युवा वैदेशिक रोजगारीमा जान बाध्य भइरहेका छन् । जसका कारण नेपालको पुँजी निर्माण प्रक्रिया आशातीत गतिमा अगाडि बढ्न सकिरहेको छैन । अर्थतन्त्र विषम परिस्थितिमा सञ्चालित भएको छ । कोभिड–१९ र प्रदेश राजधानीको स्थानान्तरण, बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, पूर्ण रूपमा सञ्चालनमा आउन नसकेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, अव्यस्थित औद्योगिक क्षेत्र तथा विशेष आर्थिक क्षेत्रका कारण रूपन्देहीमा निजी क्षेत्रको १० खर्बभन्दा धेरै लगानी जोखिममा परेको अवस्थामा गुमेको बुटवलको आर्थिक चलायमानलाई लयमा फर्काउने बलियो सूत्र र आवश्यकता नै रात्रिकालीन सहर हो ।
रात्रिकालीन सहर सञ्चालन गर्न बुटवलको अवस्था
कोभिड–१९ को विश्वव्यापी प्रभावमा क्रमिक रूपमा कमी आइसकेपछि २०७८ सालदेखि बुटवलमा रात्रिकलीन सहरको सञ्चालनका बारेमा बहस सुरु भएको छ । यस बहसलाई व्यावहारिकतामा रूपान्तरण गर्न सक्ने रात्रिकालीन बजार सञ्चालन गर्न प्रस्ताव गरिएको कालिकापथमा न्यूनतम आधारभूत पूर्वाधारहरू तयार गएिका छन् । जसका कारणले वर्तमान समयमा सो क्षेत्रका व्यावसायिक गतिविधि बढिरहेका छन् । बजारको व्यवस्थापनका सन्दर्भमा स्थानीय सरकारले प्राथमिकताका साथ कार्यक्रम सञ्चालन गर्न नसक्नु नै हो । यातायातको सहज पहुँच स्थापना, सबै प्रकारका व्यवसायीको सामूहिक उपस्थिति, इनटरनेट र सञ्चारका अन्य माध्यको गर्विलो बाक्लो उपस्थिति छ । यस क्षेत्रमा सानादेखि तारेस्तरका होटल लजको व्यवस्थापन छ । सुविधा सम्पन्न मनोरञ्जन गृहका सेवामा विस्तार, बैङ्क तथा वित्तीय कारोबारका लागि शाखा कार्यालयहरूको सहज पहुँच, प्रशस्त पार्किङ सुविधासहितको खुला सडक, मुख्य राजमार्ग र भित्री सडकहरूबाट सजिलै पुग्न सकिने अवस्था छ । निजीक्षेत्रले व्यवस्थापन गर्नुपर्ने जनशक्ति सजिलै व्यवस्थापन गर्न सकिने आधारहरू, आपत्कालीन अवस्थामा सबै सहायक मार्गहरूबाट सजिलै राहत र उद्धारका कार्य गर्न सकिने गरी सडकको पर्याप्त व्यवस्थापन भएको छ । निजी क्षेत्रले यस क्षेत्रलाई रात्रिकालीन सहर बनाउनका लागि अहिलेसम्म ४१ अर्ब बराबरको लागानी गरेको छ । बुटवल उपमहानगरपालिकाको आर्थिक वर्ष २०८०–८१ का लागि तयार गरिएको वार्षिक नीति तथा कार्यक्रमको रोजगार प्रवर्धन तथा सहकारी शिर्षक अन्तर्गतको बुँदा २४० को वैदेशिक रोजगारबाट फर्किएका श्रमिकहरूको सीप पहिचान गरी स्वरोजगारमूलक कार्यमा संलग्न गराउन पहल गर्ने र विद्यार्थीहरूका लागि कमाउँदै पढ्दै गर्ने कार्यक्रमलाई निरन्तरता दिनका लागि रात्रिकालीन बजार उपयुक्त विकल्प हो ।
रात्रिकालीन सहरका लागि भएका प्रयास
बुटवल उपमहानगरपालिकाले गरेको प्रयास
१. बुटवल उपमहानगरपालिकाको आर्थिक वर्ष २०७९–८० का लागि तयार गरिएको वार्षिक नीति तथा कार्यक्रमको उद्योग, वाणिज्य तथा पर्यटन प्रवर्धन शीर्षकको बुँदा नम्बर ६ यस प्रकारको प्रयास गर्ने उल्लेखित थियो ‘बुटवलको आर्थिक गतिविधिलाई थप चलायमान बनाई बजारलाई गुल्जार गर्न आवश्यक र समयको मागसमेत भएको हुँदा कालिकापथ, अमरपथ र राममन्दिरपथलगायतको क्षेत्रमा प्रशासनिक निकायहरूसँगको समन्वय र साझेदार संस्थाहरूको सहकार्यमा रात्रिकालीन बजार सञ्चालनको व्यवस्थापन मिलाइनेछ ।’
२. बुटवल उपमहानगरपालिकाको आर्थिक वर्ष २०८०–८१ का लागि तयार गरिएको वार्षिक नीति तथा कार्यक्रमको उद्योग, वाणिज्य तथा पर्यटन प्रवर्धन शीर्षकको बुँदा नम्बर २२९ मा यस प्रकारको प्रयास गर्ने उल्लेखित छ ‘बुटवलको आर्थिक गतिविधि थप चलायमान एवं गुल्जार बनाउन कालिकापथ, अमरपथ लगायत स्थानमा रात्रिकालीन बजार सञ्चालन गरिने छ ।’
व्यावसायिक सङ्घ सस्थाको अगुवाइमा भएको प्रयास
१. होटल तथा रेस्टुरेन्ट व्यवसायी सङ्घ रूपन्देही र बुटवल उद्योग वाणिज्य सङ्घको संयुक्त आयोजनामा बुटवल उपमहानगरपालिका प्रमुखको उपस्थितिमा मिति २०७९ पुस १ गते सरोकारवालाका बिचमा रात्रिकालीन बजार व्यवस्थापन विषयक अन्तक्र्रिया कार्यक्रम सञ्चालन गरिएको सोही कार्यक्रममा मेयरले आजकै मितिबाट बुटवल कालिकापथमा रात्रि ११ बजेसम्म कारोबार सञ्चालन गर्न स्वीकृति दिएको थियो । उक्त सार्वजनिक स्वीकृति कार्यान्वयनका लागि जिल्ला प्रशासन कार्यालय र उपमहानगरपालिकाको कार्यालयमा पटक पटक डेलिगेसन र पत्राचार गरिएको अवस्था छ ।
२. रात्रिकालीन सहरको सुरक्षा व्यवस्था व्यवस्थापन गर्नका लागि प्रमुख जिल्ला अधिकारी र जिल्लाका सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिको बिचमा मिति २०८० कात्तिक १ गते बुटवलमा अन्तक्र्रिया गरिएको थियो । सोही कार्यक्रममा रात्रिकालीन सहर आवश्यक रहेको र छिटो सञ्चालन गरिने निष्कर्ष निकालिए पनि कार्यान्वयनमा आउन सकिरहेको छैन ।
अबको कार्ययोजना
रात्रिकालीन बजार सञ्चालनका लागि आधार निर्माणमा नकारात्मक प्रभाव पारेको स्पा व्यवसायको गतिविधिलाई प्रशासनको सहयोगमा नियन्त्रण गर्नु आवश्यक छ ।
पुगौँ रूपन्देही, घुमौँ दिनभरि आराम र मनोरञ्जनका लागि बुटवलमा रात्रि सफारी अभियान सञ्चालन गर्नु पर्ने छ ।
रात्रिकालीन सहरको अवधारणा अभ्यस्त भइसकेको कालिकापथमा सुरक्षाका लागि स्थानीय सरकार, जिल्लाका सुरक्षा निकाय, स्थानीय बासिन्दा र व्यावसायिक सङ्घसंस्थाको लगानी र निगरानीमा अत्याधुनिक सीसीटीभी क्यामेराको जडान हाइमास्ट बत्तीको जडान, सडक बत्तीको प्रयोग तथा ड्रोन र प्रट्रोल गस्तीको व्यवस्थापन गर्नुपर्ने छ ।
बाह्य पर्यटकको बसाइ अवधि बढाउन सांस्कृतिक डबली तथा विशेष प्याकेज, बुटवलको मौलिकता झल्काउने कार्यक्रम स्थानीय सरकार र निजी क्षेत्रका विभिन्न सङ्घसंस्थाहरूबाट संयुक्त साझेदारीमा बनाई अभ्यासमा लैजाने व्यवस्था गर्नुपर्ने छ ।
नजिकैको पालिकाबाट आउने आगन्तुकहरू रात्रिकालीन सहरको आनन्द लिन आउने आन्तरिक पर्यटकका लागि सुरक्षित, मर्मादित यातायात सुविधाको व्यवस्था स्थानीय व्यावसायिक संस्था र प्रशासनको समन्वयमा सञ्चालनको व्यवस्था गर्नुपर्ने छ ।
रात्रिकालीन व्यवसायमा देखिएको लगानी जोखिम न्यूनीकरण गर्नका लागि स्थानीय, प्रदेश तथा सङ्घीय सरकारले परियोजनामा आधारित पुँजी प्रवाह कार्यक्रम सञ्चालन गर्नु पर्ने छ ।
कोभिड–१९ र प्रदेश राजधानीको स्थानान्तरणबाट बिस्तारै खुम्चिएको बुटवलको आर्थिक कारोबारको गतिलाई पुनः उत्थानका लागि आन्तरिक पर्यटनका कार्यक्रममा सबै नागरिकको पहुँच विस्तार गर्नका लागि जिल्लाका १६ पालिकाकासँग सहकार्यको वातावरण सिर्जना गरिनु आवश्यक छ ।
जग्गावाला तथा घरवालाहरूबाट पीडित हुने क्रम बढिरहेको कारणले गर्दा सरकारका निकायको प्रत्यक्ष रोहबरमा कानुन व्यवसायीसहित करार सम्झौता गरिनु पर्ने आवश्यकता छ ।
व्यवसायीहरू श्रमिकको सामाजिक सुरक्षा कार्यक्रमका लागि प्रतिबद्ध हुनु पर्ने छ ।
तिनै तहका सरकारको संयुक्त प्रयासमा रात्रिकालीन व्यवसायसँग सम्बन्धित प्राविधिक, व्यावसायिक सीप प्रदान गर्ने पाठशाला स्थापना र सञ्चालन हुनु पर्ने ।
प्रहरी प्रशासनबाट आगन्तुकको मनोबलमा नकारात्मक प्रभाव पर्ने गरिने चेक जाँच कार्यक्रमलाई रोक्नुपर्ने र बुटवललाई मनोवैज्ञानिक रूपमा सुरक्षित विश्रामस्थलका रूपमा विकसित गर्न सरोकारवाला सबैको सामुहिक प्रतिबद्धता आवश्य छ ।
रात्रिकालीन बजारमा नेपाली खानालाई ब्रान्डका रूपमा विकसित गर्दै लैजानका लागि कृषकहरूको मनोबल बढाउने कार्यक्रम सञ्चालन गर्न आवश्यक छ । यसका लागि छपिँयाको माछाको मौलिक परिकार उपलब्ध गराउन सकिन्छ ।
पदयात्रा पर्यटनका लागि हिलर्पाक, वसन्तपुर, नुवाकोट, चारापाला सामुदायिक वन परिसर, सैनामैना डाँडालगायतका ठाउँमा पदमार्ग निर्माण सञ्चालन गरी रात्रिकालीन सहरको आनन्द लिन साझ बुटवलमा आगन्तुक ल्याई सुरक्षित बसोबासको व्यवस्था गर्नु आवश्यक छ ।
अन्त्यमा
दिवाकालीन बजार जस्तै रातको समयमा पनि उत्पादन र उपभोगका सबै प्रकारका आर्थिक कारोबार सहज तरिकाले सञ्चालन हुने बजार नै रात्रिकालीन सहर हो । रूपन्देहीको परिवर्तित आर्थिक सामाजिक पूर्वाधार विस्तारको गति र यसले सिर्जना गरेको आर्थिक वातावरणका आधारमा बुटवल उपमहानगरपालिकाको कालिकापथमा रात्रिकालीन सहर सञ्चालनका लागि आवश्यक सबै आधारहरू तयारी अवस्थामा रहेको छ । यसलाई दिगो, मर्यादित एवं व्यवस्थित तरिकाले सञ्चालन गर्नका लागि सरोकारवालाहरू बिचमा साझा प्रतिबद्धता र सामूहिक नेतृत्वको जरुरी छ ।
भुसाल आर्थिक अनुसन्धान केन्द्र नेपालका अध्यक्ष हुन् ।