सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय

फिल्म क्षेत्रमा योगदानको कदर हुँदैन : निर्देशक श्रेष्ठ

आइतबार, २२ पुस २०८०, १२ : ३४
आइतबार, २२ पुस २०८०

काठमाडौँ । फिल्म निर्देशक दीपक श्रेष्ठले पछिल्लो समय फिल्म निर्माण भन्दा पनि प्रदर्शन र प्रचार गाह्रो भएको बताएका छन् । फिल्म ‘पर्खी बसेँ तिमीलाई’ को प्रदर्शन लगायत विभिन्न पक्षको जानकारी दिन आयोजित कार्यक्रममा श्रेष्ठले पछिल्लो समय फिल्मी माहोल बिग्रिएको गुनासो गरे ।

‘फिल्म क्षेत्रमा कसको कति योगदान छ । कसले कस्तो फिल्म बनाउँछ । केही मतलब छैन । कसैको योगदानको कदर छैन’, श्रेष्ठले भने– ‘सबै चलेका अनुसारको पछि लागेका छन् । किन र केका लागि मैले बुझ्न सकिन ।’

श्रेष्ठ निर्देशित २७ औँ फिल्म हो ‘पर्खी बसेँ तिमीलाई’ । पुस २७ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्ममा नयाँ कलाकार अभिनेता किरण श्रेष्ठ र अभिनेत्री रक्षा बुढाथोकीको मुख्य भूमिका छ । अहिलेसम्म धेरै फिल्म नयाँ कलाकार लिएर बनाएका दीपकको यो पटकको अनुभव अलि तितो छ । नयाँ कलाकार फिल्म रिलिज र प्रचारमा समेत उनले समस्या भोगिरहेका छन् । त्यसैले अबको फिल्म नयाँ कलाकार लिएर नगर्ने उनको भनाई छ ।

फिल्म युनिटका अलावा निर्माता राजाराम बुढाथोकी, सङ्गीतकार महेश खड्का, गीतकार डा.कृष्णहरि बराल, गायक प्रमोद खरेल, वितरक करण श्रेष्ठ लगायतको कार्यक्रममा उपस्थिति थियो ।  कार्यक्रममा नव अभिनेता किरण श्रेष्ठले मण्डला नाटक घर हुँदै फिल्मसम्मको यात्राको अनुभव साटे । उनले सात वर्षमा तेह्र नाटकमा अभिनय गरेको बताउँदै डेब्यु फिल्ममा त्यो अनुभवले राम्रो काम गरेको बताए ।

नव अभिनेत्री बुढाथोकीले पनि फिल्म यात्राको अनुभव साटिन् । बाल्यकालदेखि नै फिल्म प्रतिको लगावलाई ‘पर्खी बसेँ तिमीलाई’ ले मूर्तरूप दिएको उनले बताइन् । सङ्गीतकार महेश खड्का, गीतकार बराल, गायक प्रमोद खरेल लगायतले कार्यक्रममा फिल्मको सफलताका लागि शुभकामना दिए ।

रोमन फिल्म र तपश्री फिल्मस् (सिक्किम) को संयुक्त ब्यानरमा निर्माण गरिएको फिल्ममा शिव श्रेष्ठ, विल्सन विक्रम राई, सुनिता श्रेष्ठ लगायतका कलाकारको अभिनय छ ।  राजाराम बुढाथोकीको निर्माण, कोमल गुरुङको सह निर्माण, परिच्छेद सेन, मौनता श्रेष्ठ र पुरुषोत्तम ढुङ्गेलको लेखन, सङ्कल्प भुजेलको छायाङ्कन, शम्भुजित बाँस्कोटा, दीपक शर्मा, महेश खड्का र बाबुल गिरीको सङ्गीत, भूपेन्द्र अधिकारीको सम्पादन रहेको फिल्ममा रामजी लामिछाने र निशा रसाइलीको नृत्य छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप