दर्शन अर्थात् फिलोसोफी के हो ?
त्यस दिन मनुष्यले बडो अनौठो अनुभूति गर्यो । सधैँ सबेरै उठ्ने अनन्य मित्र त्यो बिहान मरिगए उठेन । उसले आफ्नो परम मित्रलाई झकझक्यायो । नाम लिई बोलायो । अपितु उसको मुखबाट कुनै आवाज निक्लेन । मित्रले कुनै प्रतिक्रिया जनाएन ! कुनै रात फेरि त्यही छवि, त्यही छाया सपनामा आयो । प्रेम सरोवरको मझधारमा उभिँदै कालजयी गीत गायो । तब ऊभित्र जिज्ञासा पैदा भयो – मानिस मृत्युसँगै सधैँका निम्ति बिदा भएर जान्छ, या यो वा त्यो रूपमा जीवितै रहन्छ ? सम्भवतः त्यो नै आदि मनुष्यको दिमागमा छाएको प्रथम दार्शनिक सवाल हुनुपर्छ ।
बिजुली किन चम्कन्छ ? मेघ किन गर्जिन्छ ? गर्जनसँगै भयङ्कर आवाजका साथ जमिनमा खस्ने चकमक के हो ? रातमा आकाशमा देखिने उज्याला पिण्डहरू के हुन् ? पृथ्वी किन हल्लिन्छ ? बाढी, पहिरो, आँधी–तुफान, ज्वालामुखीको रहस्य के हो ? सूर्य सधैँ एकातिरबाट उदाउने र अर्कोतिर अस्ताउने किन गर्छ ? औँशी–पूर्णिमाको रातमा सूर्य–चन्द्रमामा देखिने कालो दाग के हुन् ? जगत्को रचनाकार को हो ? आत्मा के हो ? मृत्युपछि चेतना कहाँ जान्छ ? पदार्थ चेतनाको सर्जक हो या चेतनाले पदार्थको सृष्टि गर्छ ? यी त्यस्ता प्रश्न हुन्, जसको सपाट जवाफ आदि मानवसँग थिएन ।
अर्को शब्दमा भन्नुपर्दा आदिमानव सूर्य, चन्द्रमा र ताराहरू त देख्दथ्यो तर तिनको संरचना र गतिका बारेमा बिल्कुलै अनभिज्ञ थियो । प्रकृतिमा देखापर्ने बाढी, पहिरो, वर्षा, आँधीहुरी, भूकम्प, ज्वालामुखी, चट्याङ आदि घटना के कारणले घटित हुन्छन् भन्नेबारे ऊ पूर्णतः बेखबर थियो । ऊ त्यस किसिमका त्रासदपूर्ण घटनासँग अतिशय भयभीत रहन्थ्यो । यस्तैमा ऊ त्यस्ता घटना घटाउने पक्कै कुनै अलौकिक शक्ति हुनुपर्छ भन्ने निष्कर्षमा पुग्यो । उसको निष्कर्ष ‘महावली ईश्वर’तर्फ इङ्गित थियो । ‘त्यस्तो महाबलि ईश्वर जसको सार्वभौमसत्ता मातहत जीवन र जगत सञ्चालित छ ।’
यस प्रकार मानव विश्वासको प्रयोगशालाबाट ईश्वर नामको टेस्ट ट्युब बेबीले जन्म लिन पुग्यो । त्यसपछि उसले नवजात ईश्वरलाई खुसी पारी प्राकृतिक प्रकोपबाट जोगिन पूजाआजा, भोग–बलि दिन सुरु गर्यो । साथै पूजा–अनुष्ठान लगायत रिवाजलाई धर्मको उपमा दियो । वैदिक साहित्यमा वर्णित अग्नि, वायु, जल, सूर्य, पृथ्वी आदि प्राकृतिक तत्त्वहरूको पूजा–आराधनाले तिनै कुराको सङ्केत गर्छन् ।
दर्शन, जगत् र जीवनसँग सम्बद्ध प्रश्नहरूको अन्वेषण हो । साथै प्रश्नहरूको तर्कपूर्ण, विधिपूर्वक, क्रमबद्ध, समालोचनात्मक र सुव्यवस्थित अध्ययन पनि हो । फिलोसोफी शब्दको नेपाली रूपान्तर दर्शन हुन आउँछ । फिलोसोफी ग्रिक शब्द फिलोस र सोफिया मिलेर बनेको बुझिन्छ ।
यो विशाल ब्रह्माण्ड रहस्यहरूको संग्रहालय हो । आज पनि ब्रह्माण्डमा सुल्झाउन बाँकी बग्रेल्ती दार्शनिक रहस्य छन् । प्रकृतिमा मानिस नै एउटा त्यस्तो जीव हो, जो जगत् र जीवनका अनुत्तरित रहस्यको उत्खनन गर्ने क्षमता राख्छ । त्यस मानेमा मानव सभ्यताको यात्रा अज्ञेयबाट ज्ञेयतर्फको यात्रा हो । अज्ञेयलाई ज्ञेयमा बदल्ने अभियानमा थुप्रै दार्शनिक, वैज्ञानिकको दिमागी ऊर्जा खपत भएको छ । ती दार्शनिक, वैज्ञानिकहरूमा बालसुलभ जिज्ञासा थिए । उनीहरूभित्र क्रियाशील जिज्ञासाकै बीचबाट दर्शन अर्थात् फिलोसोफीको अभ्युदय हुन पुग्यो ।
भनाइ छ— प्रश्न सोध, उत्तर मिल्नेछ । ढोका ढक्ढक् गर, खुल्नेछ । यात्रा सुरु गर, गन्तव्यमा पुगिनेछ । अर्थात् प्रश्न छैन त जवाफ पनि छैन । यात्राबिना गन्तव्यमा पुगिँदैन । प्रश्न चेतनशील मस्तिष्कको उपज हो । प्रश्न दर्शनको जननी पनि हो । दर्शनले कुनै पनि विषयलाई सूक्ष्म ढंगले सोच्न, हेर्र्न, विचार गर्न आह्वान गर्दछ ।
तसर्थ दर्शन, जगत् र जीवनसँग सम्बद्ध प्रश्नहरूको अन्वेषण हो । साथै प्रश्नहरूको तर्कपूर्ण, विधिपूर्वक, क्रमबद्ध, समालोचनात्मक र सुव्यवस्थित अध्ययन पनि हो । फिलोसोफी शब्दको नेपाली रूपान्तर दर्शन हुन आउँछ । फिलोसोफी ग्रिक शब्द फिलोस र सोफिया मिलेर बनेको बुझिन्छ । जसमा फिलोसको अर्थ अनुराग र सोफियाको अर्थ ज्ञान मानिएको छ । फिलोसफर उही हो, जसमा ज्ञानप्रति अगाध प्रेम छ । श्रद्धा र भक्तिभाव छ । जसले जीवन र जगत्का तमाम विषयवस्तुलाई बिहङ्गम दृष्टिका साथ हेर्छ । व्याख्या–विश्लेषण गर्छ ।
दार्शनिक र दर्शन एकै सिक्काका दुई पाटा हुन् । दर्शन, जीवन र जगत्का अनुद्घाटित रहस्यहरूको एक्स–रे हो । सिटिस्क्यान हो । आम मानिसका निम्ति दर्शन भनेको ‘वाद’ हो, ‘इजम्’ हो । अथवा यसो भनौँ, जुन शब्दको पछाडि ‘वाद’ वा ‘इजम्’को बृहत आयाम जोडिन्छ दर्शन त्यही हो । जस्तो कि समाजवाद, पुँजीवाद, साम्राज्यवाद, उपनिवेशवाद, फासीवाद, सामन्तवाद, माक्र्सवाद, गान्धीवाद, आदि–इत्यादि । रेने डेकार्टलाई आधुनिक दर्शनशास्त्रको पिता भनिएको छ ।
प्लेटोले आफ्नो पुस्तक ‘रिपब्लिक’मा दार्शनिकको परिभाषा दिएका छन्, ‘दार्शनिक त्यही हो जो ज्ञान प्राप्त गरेर वा नयाँ कुरा सिकेर कहिल्यै अघाउँदैन ।’ । फिलोसोफीलाई ‘मदर अफ अल साइन्सेज’ समेत भन्ने गरेको पाइन्छ । फ्रान्सेली विचारक अगस्त कोम्टे ‘दर्शन विज्ञानको पनि विज्ञान हो’ भन्ने गर्थे । तपाईं बिएससी गर्नुस्, बिकम गर्नुस् या एमएससी, एमकम, एमए जेसुकै डिग्री हासिल गर्नुस् । त्योभन्दा माथि गएपछि तपाईंको डिग्री एमफिल अर्थात् मास्टर अफ फिलोसोफीको नामले चिनिनेछ । त्योभन्दा पनि माथिल्लो सिँढी उक्लेपछि तपाईंले लिने डिग्रीलाई पीएचडी याने ‘डक्टर अफ फिलोसोफी’ शब्दहरूले सम्बोधित गरिनेछ । भनाइको तात्पर्य, संसारका सबै एकेडेमिक डिग्रीहरू दर्शनको सीमान्त बिन्दुमा गएर टुङ्गिन्छन् । ‘फिलोसोफी इज मदर अफ अल डिसिप्लेन’ वाक्यांशको तात्पर्य पनि त्यही सेरोफेरोमा भेटिन सक्छ ।
भनिन्छ, प्राचीन ग्रिकहरू बालकझैँ जिज्ञासु थिए । उनीहरूमा ज्ञानप्रति अतिशय लगाव थियो । ग्रिकहरू हरेक कुरामा प्रश्न गर्थे । यतिसम्म कि सूर्य पूर्वबाट उदाउने र पश्चिममा अस्ताउने तथ्यलाई समेत तर्कको मदानीमा मथेर मात्र ग्रहण गर्दथे ।
तर्कशास्त्र र दर्शनबीच नजिकको साइनो भेटिन्छ । तर्कशास्त्रको जननी मानिने प्राचीन युनानमा सोफिस्टहरूको समूह थियो । सोफिस्टहरू ईपू ५०० तिर अन्य मुलुकको बाटो हुँदै युनान प्रवेश गरेका थिए । उनीहरू ‘हाफ टिचर, हाफ थिङ्कर’ थिए भन्ने भनाइ छ । सोफिस्टहरू शुल्क लिएर तर्कशास्त्रसम्बन्धी शिक्षा दिन्थे । शिक्षा दिँदै एक ठाउँबाट अर्को ठाउँमा पुग्थे । सोफिस्टहरूले तर्क शिक्षाको शुल्क लिने तरिका अनौठो थियो । उनीहरू विद्यार्थीसँग आधा शुल्क भर्ना हुँदा र बाँकी अध्ययन समाप्त गरी तर्कशास्त्रमा अरुलाई पराजित गरेपछि लिन्थे । तर्कको माध्यमबाट गलतलाई सही र सहीलाई गलत सिद्ध गर्ने प्रयत्न गर्नु उनीहरूले दिने तर्क विद्याको सार थियो । प्लेटो सोफिस्टहरूलाई ‘शब्दका जादुगर’ भन्ने गर्थे ।
सृष्टि सम्बन्धमा धर्मपिच्छेका मतहरू छन् । हिन्दू धर्मग्रन्थ भन्छ– ‘ईश्वरले पहिला नार नामको जल उत्पन्न गरे । अनि त्यसमा नारायण नामको बीज छोडे । त्यो बीज बढेर हिरण्यगर्भ नाम गरेको सुनको अण्डा बन्यो । त्यसै अण्डाबाट स्वेच्छाले ब्रह्मा उत्पन्न भए । ब्रह्मा अर्थात् प्रजापति सुरुमा स्त्री–पुरुष कुनै लिङ्गका थिएनन् ।
जगत् जेठो कि जीवन जेठो ? सृष्टिको रचयिता ईश्वर हो कि अरु कोही हो ? उपरोक्त दार्शनिक प्रश्नमा दुनियाँ कहिल्यै एकमत हुन सकेन । यस विषयमा हजारौँ वर्ष अघिदेखि मतान्तर रहँदै आएको छ । सृष्टि सम्बन्धमा धर्मपिच्छेका मतहरू छन् । हिन्दू धर्मग्रन्थ भन्छ– ‘ईश्वरले पहिला नार नामको जल उत्पन्न गरे । अनि त्यसमा नारायण नामको बीज छोडे । त्यो बीज बढेर हिरण्यगर्भ नाम गरेको सुनको अण्डा बन्यो । त्यसै अण्डाबाट स्वेच्छाले ब्रह्मा उत्पन्न भए । ब्रह्मा अर्थात् प्रजापति सुरुमा स्त्री–पुरुष कुनै लिङ्गका थिएनन् । एक दिन ब्रह्माले आफ्नै शरीरलाई आधा–आधा गरी चिरेर दुई भाग बनाए । विभाजित भागमध्ये उनको बायाँ भाग स्त्री र दायाँ भाग पुरुष भयो । त्यसपछि ब्रह्माले आफ्नै स्त्री शरीरसँग सहवास गरे । सहवासबाट मनु र सतरूपा नामका दाजु–बहिनीको जन्म भयो । मनु र सतरूपाबाट जन्मेका सन्तान नै कालान्तरमा ‘मानव’ कहलाए ।’
परन्तु सृष्टि कसरी भयो भन्नेबारे विज्ञान बिल्कुलै फरक धारणा व्यक्त गर्दछ । ‘बिग ब्याङ् थ्यौरी’लाई जगत्को उत्पत्तिसम्बन्धी सबैभन्दा आधिकारिक धारणा मान्ने गरिएको छ । वैज्ञानिकहरू भन्छन्, ‘प्रारम्भमा सर्वत्र शून्य थियो । शून्यको बिचबाट चार अर्ब ५० करोड वर्षपहिले ब्रह्माण्डको स्वनिर्माण भयो र पृथ्वीसहित सौर्यमण्डल बन्यो । ब्रह्माण्ड सुरुमा एकदमै तातो थियो । यो बिस्तारै सेलाउँदै गयो । महाविस्फोटबाट तारा र ग्रहहरू बने । आजभन्दा तीन अर्ब ७० करोड वर्षपहिले ब्रह्माण्डमा जीवनको पहिलो अस्तित्व देखा पर्यो । त्यसैगरी आजभन्दा एक अर्ब २० करोड वर्षपहिले ‘प्राइमेट्स’ नामका जीवहरूको उदय भयो । ती जीवहरू विकसित हुँदै जाने क्रममा चिम्पान्जी, ओराङउटान्स आदि अस्तित्वमा आए । कालान्तरमा ‘प्राइमेट्स’बाटै विकसित प्रजाति चार खुट्टाको सट्टा दुई खुटुटाले हिँड्न सक्ने हुन थाले ।
यस्तैमा आधुनिक मानवको पुर्खा मानिने होमोसेपियन्स मनुष्य अस्तित्वमा आयो । होमो सेपियन्स मानव अद्भुत क्षमताको धनी थियो । उसले आफूमा निहित विलक्षण क्षमताकै बलमा सृष्टिका बाँकी सबै जीवमाथि हैकम जमाउन थाल्यो । यत्रतत्र सर्वत्र होमोसेपियन्सको एकछत्र राज चल्न लाग्यो । आजभन्दा ७० हजार वर्षपहिले मानव विकासले अर्को अग्रगामी छलाङ हान्यो । त्यति बेलासम्म होमो सेपियन्सको दिमागी क्षमता अत्यधिक बढ्न थाल्यो । उसमा कल्पना गर्न सक्ने । बौद्धिकता प्रदर्शन गर्न सक्ने । स्मरण गर्न सक्ने आदि गुणहरू विकसित भए । साथै होमो सेपियन्स मनुष्य भाषाको आविष्कार गर्न सक्षम भयो । ऊ जटिलभन्दा जटिल समस्याको समेत समाधान दिन सक्ने भयो । अगाडि बढ्दै जाँदा परिवार र समाजले जन्म लिन पुग्यो । जसले राज्य निर्माणको आधारशीला खडा गर्यो ।
यति चर्चा गर्दै गर्दा विद्वान् जति पश्चिममा थिए । दर्शनसम्बन्धी जेजति उपलब्धि भए पश्चिममै भए । केवल पश्चिमले त्यसलाई हुर्कायो–बढायो । त्यस गौरवमय यात्रामा पूर्वको खासै योगदान छैन भनियो भने अतिशयोक्ति हुनेछ । सत्य यही हो कि पूर्वमा पश्चिममा भन्दा धेरैपहिले दार्शनिक परम्पराको जग बसिसकेको थियो । विश्वमा सबैभन्दा पहिलो पुस्तक पूर्वमा लेखिएको थियो र त्यो वेद नामको दार्शनिक ग्रन्थ थियो । त्यसका रचयिता हाम्रा ऋषिमुनिहरू थिए । पाश्चात्य ‘दर्शनशास्त्रका संस्थापक’ ‘थेल्स’ ‐६२५–५४० बिसी) जन्मिनुअघि नै हाम्रोमा वेद उपनिषद्, महाभारतजस्ता दार्शनिक ग्रन्थहरूले आकार ग्रहण गरिसकेका थिए । तिनमा सयकडौँ दार्शनिक सवालको रोचक जवाफ भेटिन्छन् । हिन्दु समाज वैदिक दर्शनको जगमा खडा छ । जसअन्तर्गत सांख्य, योग, न्याय, वैशेषिक, मीमांसा र वेदान्त दर्शन पर्दछन् ।
पूर्वीय सभ्यताभित्र लोकायत, बौद्ध, जैन तथा चिनियाँ दर्शन (कन्फुसियस, ताओ) मा भरोसा राख्ने सम्प्रदाय पनि छन् । दर्शनको विकासमा बुद्ध, महावीर, लाओत्से, कन्फुसियस, शंकराचार्य लगायतले खेलेको भूमिका कुनै पनि मानेमा कम आँक्न सकिँदैन । पूर्वीय ऋषिमुनिहरू दार्शनिक प्रज्ञानले युक्त थिए ।
अन्त्यमा यही भन्न सकिन्छ, दर्शन जगत् र जीवनको सार हो । दर्शन सिर्जनाको मूल आधार हो । मान्छे मर्छ तर दर्शन मर्दैन । पुराना पातहरू झर्छन् । नयाँ पातहरू पलाउँछन् । ऋतु बदलिन्छ । सालहरू फेरिँदै जान्छन् । आज ज्ञान मानिएका विषय कालान्तरमा अज्ञान ठहरिन सक्छन् । पुराना सूत्रहरू समयको नयाँ प्रवाहलाई सम्बोधन गर्न अक्षम ठहरिन सक्छन् । युगको आरानमा खारिँदै जाँदा दर्शनको रूप–रङ्ग, काँचुली फेरिन सक्छ । पोसाक बदलिन सक्छ । किन्तु, ‘असतो मा सद्गमय । तमसो मा ज्योतिर्गमय ।’ असतबाट सततर्फ, अँध्यारोबाट उज्यालोतर्फको दार्शनिक यात्रा सृष्टिको अन्तिम किनारासम्म कायम रहनेछ ।
(लेखक नेपाल प्रज्ञा प्रतिष्ठानको प्राज्ञ सभा सदस्य हुन् ।)