शुक्रबार, १४ मङ्सिर २०८१
ताजा लोकप्रिय

श्रीलंकाका राजदूतद्वारा श्रीलंका-भैरहवा उडान सुरु गर्ने प्रतिबद्धता

शनिबार, २१ पुस २०८०, १९ : २०
शनिबार, २१ पुस २०८०

लुम्बिनी ।  नेपालका लागि श्रीलंकन राजदूत सुदर्शना पाथिरानालाई लुम्बिनी विकास कोषले स्वागत गरेको छ । कोषका उपाध्यक्ष डा. ल्हाक्याल लामा (खेन्पो छिमे) ले शनिबार राजदूत पाथिरानालाई बुद्धजन्मस्थल लुम्बिनीमा स्वागत गरेका हुन् । 

उपाध्यक्ष डा. लामाले राजदूत पाथिरानासँग बुद्धजन्मस्थल लुम्बिनीको पर्यटकीय, धार्मिक र ऐतिहासिक विकासका लागि भैरहवा स्थित अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न आग्रह गरे । उनले श्रीलंका बुद्धिष्ट राष्ट्र समेत रहेकाले भैरहवा विमानस्थलमा सिधा उडान गर्दा बुद्धजन्मस्थल लुम्बिनी आउने निकै सहज हुने बताए । एयर फोर्स चिफ समेत रहेर काम गरिसकेका राजदूत पाथिरानाले गौतमबुद्ध विमानस्थलमा श्रीलङ्काबाट नियमित उडान हुने प्रतिबद्धता जनाए । 

उनले बुद्धजन्मस्थल लुम्बिनी जस्तो पवित्र स्थान आउन धेरै श्रीलंकनहरु इच्छुक हुने गरेको बताउँदै सिधा उडान गरेर आउने व्यवस्थाका लागि तत्तकालै काम गर्ने बताए । उक्त अवसरमा राजदूत पाथिराना र उपाध्यक्ष डा. लामाबिच लुम्बिनीको धार्मिक, सांस्कृतिक र पर्यटकीय विकास, संरक्षण र संवर्द्धन गर्ने विषयमा सहकार्यका लागि समेत छलफल भएको छ । 

राजदूत पाथिरानाले शनिबार बुद्धजन्मस्थल लुम्बिनी स्थित मायादेवी मन्दिरको दर्शन समेत गरेका छन् । कोषका सदस्य सचिव सानुराजा शाक्यले राजदूत पाथिरानालाई लुम्बिनीको महत्त्व, यसको पछिल्ला विकास लगायतका विषयमा जानकारी गराए । 

राजदूत पाथिरानालाई लुम्बिनी विकास कोषका योजना प्रमुख सरोज भट्टराई, कार्यकारी सदस्य श्याम रोका, सूचना तथा जनसम्पर्क अधिकृत हरिध्वज राई, लेखा अधिकृत भीम बस्नेतले समेत स्वागत गरेका थिए । राजदूत पाथिरानाले लुम्बिनीसँगै भैरहवा स्थित गौतमबुद्ध विमानस्थलको समेत भ्रमण गर्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप