शुक्रबार, १२ पुस २०८१
ताजा लोकप्रिय
सहकारी ठगी

सूर्यदर्शनको बदमासी : कसरी बन्यो ग्यालेक्सी टेलिभिजनसँग ३० करोडको तमसुक ?

शनिबार, २१ पुस २०८०, १४ : ५६
शनिबार, २१ पुस २०८०

पोखरा । पोखराको सूर्यदर्शन सहकारीले ग्यालेक्सी फोरके टेलिभिजनको माउ कम्पनी गोर्खा मिडियासँग गलत सम्झौता गरेको भेटिएको छ । सहकारी डुबाउनेहरूले नै बचतकर्ताको तर्फबाट टिभीका सञ्चालक गितेन्द्रबाबु राईसँग ३० करोडको सेयर सम्झौता गरेका हुन् ।

सहकारीबाट विभिन्न व्यक्ति र कम्पनीको नाममा गएको रकम गोर्खा मिडिया कम्पनीमा पुगेको छ । सहकारीबाट केही करोड सिधै कम्पनीको खातामा गएको छ भने अरु रकम विभिन्न व्यक्तिका नाममा फेक खाता खोलेर उक्त खाताबाट ट्रान्सफर गरिएको हो । तर कति रकम टिभीमा लगानी भयो भन्ने प्रस्ट उल्लेख छैन ।

सहकारी ठगीको आरोपमा फरार रहेका सञ्चालक समितिका पूर्वसदस्य शिवबहादुर गुरुङ उर्फ महेन्द्र भोटेले मंगलबार जिल्ला अदालतमा हाजिर भएर ३० करोड गोर्खा मिडियाबाट सेयर सुरक्षण भएको बयान दिएका छन् । पीडित संघर्ष समितिका संयोजक किरण श्रेष्ठले पनि उक्त तमसुक आफूहरुसँग भएको बताए । ‘तमसुक त छ । तर तमसुकको वैधानिकता छैन,’ उनले भने, ‘ल्याप्चे लगाइएको छ । उक्त ल्याप्चे जीवी (गितेन्द्रबाबु) राईको हो वा होइन थाहा छैन ।’

यद्यपि अनुसन्धानका लागि उक्त तमसुक पनि प्रमाणका रूपमा प्रयोग हुन सक्ने श्रेष्ठको भनाइ छ । भोटेको बयानले तमसुकलाई बल पुगेको छ ।

सूर्यदर्शन सहकारीबाट रवि लामिछानेको नाममा समेत पुलेसो कर्जा मार्फत १ करोड ट्रान्सफर भएको सार्वजनिक भएको छ । तमसुकमा गितेन्द्रबाबु राई (जीबी) सँग पर्वतका दुर्गाप्रसाद शर्मा र कास्कीका महेन्द्र भोटे (शिवबहादुर गुरुङ)बिच हस्ताक्षर भएको छ । बचतकर्ताको बचत सुरक्षण गर्न करारनामा गरिएको लिखत बाहिरिएको हो ।

उक्त लिखतमा ग्यालेक्सी फोरके टिभीको सेयरबाट सहकारीका बचतकर्ताको बचत सुरक्षण गर्न टिभीले सहमति जनाएको थियो । ‘सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका सदस्यहरूको ३० करोड बराबरको बचत रकम ग्यालेक्सी फोरके टेलिभिजनको सेयरबाट सुरक्षण गरिदिएको छ,’ सहमतिमा भनिएको छ, ‘टिभीले सेयर बिक्री गर्दा सहकारीको रकम बराबरको सेयर तथा सम्पत्तिहरू बिक्री वितरण गर्न पाउने छैन ।’

करारनामा अनुसार उक्त रकमको सेयर टिभीको सेयरबाट असुल गर्न मिल्नेछ । सहकारी सामान्य अवस्थामा चल्न थालेपछि भने करारनामा रद्द हुने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रकाश ढकाल
प्रकाश ढकाल
लेखकबाट थप