शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय
कविता

अभागी बाबु बुथ्रेमाइला

शनिबार, २१ पुस २०८०, १४ : ३५
शनिबार, २१ पुस २०८०

खुट्टामा गोल्डस्टार जुत्ता 
शिरमाथि छड्के ढाकाटोपी
कम्मरमा खुइलिएको छालाको पेटी 
खरानी रङ्गको पत्लुन र अकाशे रङको कमिज
कमिजमाथि सजिएको कालो पातलो इस्टकोट
अनि इस्टकोटभित्र दाइने गोजीमा अल्झेको कलकत्ते काइयो । 

मेरो कविताको मुख्य पात्र
अर्थात् मोफसलको बुथ्रेमाइला
यो उसैको सङ्क्षिप्त हुलिया हो  

गहुँगोरो वर्णको बुथ्रेमाइला 
उमेरमा सायद उन्नाइस नाघेको हुनुपर्छ 
जतिखेर उसले आफू जन्मेको थातथलो छाडेर
आकाशको अग्लो ध्रुव तारा छुने रहर पालेर
सहर पसेको थियो 

तर यो सहरले बुथ्रेमाइलालाई 
किञ्चित सुख दिएन 
सुख त केवल अपवाद हो,
कहिल्यै आफ्नो भनी चिनेन 
पहाडे–गाम्ले–गन्धे–गँवार
पाखे–भोटे–गिठ्ठे–पाङ्ग्रे–पुङ्ग्गे 
नानाथरी नामले ऊ 
उपेक्षित र अपहेलित भइरहनुपथ्र्यो 

तथापि यो सहरलाई बुथ्रेमाइलाले अगाध प्रेम गर्दथ्यो
यो सहरलाई उसले कहिल्यै पराइ ठानेन
मोफसलको बुथ्रेमाइला एक सच्चा सहरप्रेमी पहाडे ठिटो 

जतिखेर सहर जस्तै तरूण थियो 
बुथ्रे माईलाको यौवन 
निक्खर तोरीफूल बास्ना आउने 
उसको बाक्लो कपालबाट 
बग्दथ्यो सधैँ इमानदारिताको मीठो सुगन्ध
कसैलाई कहिल्यै घृणाको कुबचन नबोल्ने 
कसैलाई कहिल्यै ईष्याको नजरले नहेर्ने 

मसिना, चिम्सा, तिखा उसका आँखामा 
कसैप्रति दाउपेच थिएन
हँसिला उसका अनुहारमा 
कसैप्रति प्रतिशोध थिएन
मोफसलको बुथ्रेमाइला 
एक सच्चा सहयोगी पहाडे ठिटो 

ऊ सायद पहाडकै आफ्ना समकालीनसँगै 
गल्ला लाग्या भए
ब्रिगेडियर मेजर अफ्सर केके हुने थियो 
कम्तीमा त कप्रोल या सार्जेन्ट हुने थियो 
पाउने थियो उसले बहादुरी र इमानदारीको
नाममा छातीभरी टल्कने चाँदीका तमाम तक्मा 
मोफसलको बुथ्रेमाइला 
एक अवश्यम्भावी शौर्यवान पहाडे ठिटो ।

तर बुथ्रेमाइलालाई 
आफू जन्मेको माटो र उभिएको जमिन
छाडेर,  पराई देशमा नोकरी गर्नु थिएन
ऊ त आफ्नै देशको माटोमा बिनादासत्व
स्वतन्त्रताको सङ्ग्लो सास फेर्न चाहन्थ्यो
आफ्नै मुलुकको माटोमा पसिनाले सिञ्चित
स्वदेशी विपना उमार्न चाहन्थ्यो
स्वदेशकै माटोमा अन्तिम मुठी सास गाड्न चाहन्थ्यो
मोफसलको बुथ्रेमाइला एक स्वाभिमानी श्रमजीवी नेपाली 

यसरी बुथ्रेमाइला तात्कालिक संस्कृतिइतर 
सहरको धुलो, धुँवा र कर्कस ध्वनि फैलिएको खाल्डोमा 
नित्य बिहान कालो मरिच चिया र सेतो धुवाँ चपाउँदै
कहिले फलाम जोड्थ्यो फलाम छेड्थ्यो 
त कहिले काठ चिथ्र्यो काँटी ठोक्थ्यो ।

दिनभर थाकेको एक्लो ज्यान ओछ्यानमा फाल्नुअघि
जुवानो झानेको तीनपानेले ज्यान तताएपछि
एउटा कटेरो, एउटी श्रीमती र दुईवटा सन्तानको
सुरम्य सौम्य सपना देख्दथ्यो ।

नभन्दै स्वप्नमै एक मध्यरात
कुनै अज्ञात देवताबाट प्राप्त तथास्तुपछि 
पूरा भयो स्वप्नशील बुथ्रेमाइलाको अलौकिक सपना ।

तर समयको विश्राम खण्डमा आइपुग्दा नपुग्दै 
यो सहरको कुन्नि कुन देउताको हो 
अवाञ्छित आँखा लाग्छ 
कहिल्यै पनि सपनामा नचिताएको 
बज्रपात उमाथि जाइलाग्छ ।

औ ! अधबैँसे उमेरकी उसकी अर्धाङ्गिनी
अर्धपागल टिकटके छट्टु जालन्धरसित 
ओछ्यान साटेको दृश्य 
मानसिक अस्पतालबाट घर फर्केको कान्छो छोरा
अवसादको पासोमा झुन्डिएर प्राण त्यागेको दृश्य 
एउटा छोराको लास आर्यघाटमा नसेलाउँदै
अर्को छोराको लास मलेसियाबाट बाकसमा आएको दृश्य ।

यी सबै दृश्य बिनाकुनै प्रतिक्रिया भोगिरहेको 
मोफसलको बुथ्रेमाइला एक अभागी पति र अभागी पिता 

आजभोलि बुथ्रेमाइला स्तब्ध र एक्लो छ 
धुलो धुवाँ र कर्कश ध्वनि फैलिएको
उही पुरानै खाल्डोमा नितान्त एक्लो छ ।
पुनश्च प्रत्येक बिहान कालो चिया र सेतो धुवाँ चपाउँदै
पुनश्च ऊ फलाम जोड्छ, फलाम छेड्छ 
काठ चिर्छ, काँटी ठोक्छ ।

यसरी मोफसलको बुथ्रेमाइला हेर्दाहेर्दै
मेटामरफोसिस फलामेकाठको 
नबोल्ने देवता भएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

खुपेन सुनुवार
खुपेन सुनुवार
लेखकबाट थप