नेपाली कराँते खेलाडी हुन्, तिलकुमारी गलामी अर्थात् तिलु राना । भारतको कोलकातामा जन्मिएकी राना ११ वर्षको उमेरबाटै खेल जीवनमा प्रवेश गरेकी थिइन् ।
बक्सिङबाट खेल करियर सुरु गरेकी तिलुले आफ्नो परिचय भने कराँतेमा बनाइन् । १९९४ देखि २०११ सम्म खेल जीवनमा सक्रिय रहँदा रानाले गोल्डमेडलसहित थुप्रै मेडल हात पारिन् ।
तर वैवाहिक जीवनमा बाँधिएपछि र छोराछोरी जन्मिएपछि उनको कराँते करियर सोचेअनुरुप बढ्न सकेन । तैपनि तिलु आज स्पोर्ट ट्रेनर, बक्सर, एमएमए, योगा, जुम्बा, एरोविक्सआदि क्षेत्रमा प्रशिक्षकका रूपमा समेत उभिएकी छिन् ।
खेल जीवनमा मात्र नभएर तिलुले आफ्नो ४१ वर्षको उमेरमा ब्युटी प्याजेन्ट ‘मिस एण्ड मिसेस युनिभर्सल अफ २०२३’ मा सेकेन्ड रनरअप हुँदै टाइटल विनरको अवार्डसमेत हात पारिन् । पछिल्लो समय बागबाजरमा एक फिटनेस सेन्टर सुरु गरी आफैँ ट्रेनरका रूपमा रही व्यावसायिक जीवन पनि बिताइरहेकी छिन् । उनी अभिनय क्षेत्रमा पनि आफूलाई सक्रिय छिन् ।
श्रीमान्सँग डिभोर्स, ४ जना छोराछोरी र सासूको जिम्मेवारी बोध गरिरहेकी तिलुको जीवन आफ्नै गतिको छ । आफ्नै मोटोपनामाथि श्रीमान्को भद्दा मजाक अनि त्यसैले लिएको डिभोर्सको रूपले उनको मन आज पनि दुखाइरहन्छ ।
तर, जीवनमा हार्नु हुन्न भन्ने बुझेकी तिलु जसले १०४ केजी तौललाई घटाएर आज ५३ केजीमा उनी बाँची रहेकी छिन् । यी र यस्तै विषयमाथि उनै खेलाडी, मोडेल, स्पोर्टस् ट्रेनर तिलु रानासँग गरिएको विशेष संवाद :
मेरो बुबा भारतीय आर्मी । उहाँ बक्सिङ खेलाडी हुनुहुन्थ्यो । उहाँबाट प्रेरणा पाएर नै म बक्सिङमा लागेकी हुँ । रफ गेम भएको हुनाले र भारतमा खासै केटी मान्छेले बक्सिङ खेलेको कदर नहुने हुनाले पनि त्यसलाई निरन्तरता दिन सकिनँ । पछि नेपाल आएर म १९९४ देखि कराँतेमा प्रवेश गरेकी हुँ । जसका लागि स्वर्गीय मेरा गुरुको प्रेरणा महत्त्वपूर्ण रह्यो ।
मेरो जन्म कोलकातामा भएको हो । पेसाका कारण बुबा भारतमा बस्ने भएकाले उतै हुर्किएँ, पढेँ । १० वर्षको उमेरमा नेपाल फर्किएपछि खेलकुदमा सक्रिय भएकी हुँ । यद्यपि मेरो खेल जीवन नेपालका लागि भारतमा धेरै रह्यो ।
घरमा आमाबुबामात्र होइन समाजले पनि महिलाका लागि खेलकुदमा बन्देज जस्तै थियो । बच्चा जन्माउने छोरी मान्छेलगायतका कुराले पनि छेकथुन हुन्थ्यो । तर त्यो बेला हामी दुई बहिनी मात्र थियौँ र बाबाले मलाई मेरो छोरा नै यही हो भनेर हिम्मत दिनुहुन्थ्यो । जसका कारण आज म यहाँ छु । बाबाले दिनुभएको हिम्मत र आँटले नै म यहाँ आइपुगेकी हुँ । त्यो समय महिलाहरूलाई देश विदेश गएर खेल्ने अनुमति चाहिँ थिएन ।
जतिबेला म खेलाडीका रूपमा स्थापित थिएँ, म चर्चित नै थिएँ जस्तो लाग्छ । बिचमा मेरो आफ्नो लिगेसी चाहिँ टुटेको हो । परिवार भएपछि सबै ध्यान परिवारतिर गयो । यद्यपि कराँतेलाई निरन्तरता त दिइनैरहेँ । ट्रेनिङ चलिरहन्थ्यो । यद्यपि जे हुनुपर्थ्यो त्यो चाहिँ नभएकै हो, आज आएर महसुस हुन्छ ।
मैले १ दर्जनभन्दा बढी मेडलहरू जितिसकेपछि ‘हाम्रो गोरेटो’ भन्ने पत्रिकामा मेरो सफलताका बारेमा छापिएको थियो । आज पनि मेरो बायोडाटामा भारतमा भएका प्रतियोगिता र प्राप्त उपलब्धिको लामै लिस्ट छ । अनि जति मलाई याद थियो त्यति मैले सम्झने गरेकी छु । सार्क राष्ट्रका सबै राष्ट्रमा पुगेर खेलेकी छु र त्यहाँ पनि केही न केही उपलब्धि हासिल गरेर फर्किएकी हुन्थेँ । तर ती सबैका बारेमा चाहिँ सबैलाई जानकारी गराउन म असफल जस्तै बनेकी छु । लाग्छ आफ्ना उपलब्धिहरूका बारेमा बुझाउन नजान्नु मेरै कमजोरी होलान् कि !
तपाईंले सोध्नु भएजस्तै छैटौँ अन्तर्राष्ट्रिय कराँतेमा म एक्लैले ३ वटा गोल्ड मेडल र १ सिल्भर मेडल जितेकी थिएँ । अन्य विभिन्न विधामा पनि मैले कराँतेमा आफ्नो बलियो स्थान बनाएर आज रेफ्री र निर्णायकमा समेत काम गरिरहेकी छु । तर, चर्चा र परिचयको कुरा चाहिँ कतिपय अवस्थामा घरबाट साथ नमिलेर हुने रहेछ । कुनै कुरा साथीभाइबाट साथ नमिलेर पनि हुने रहेछ । कुनै कुरा संघसंस्थाहरु र तिनीहरूसँगको आबद्धतामा पनि भर पर्ने रहेछ । आज म पछाडि पर्नुको कारण मेरो आफ्नो परिवार हो वा पारिवारिक वातावरणमा फसेपछि म आफू नै यसको कारक हुँ ।
मैले खेलकै विधाबाट विद्यावारिधि नै गरेकी छु । इरानमा डा. रेजा जसको आफ्नै विश्वविद्यालय पनि छ, त्यहाँबाट मैले विद्यावारिधि प्राप्त गरेकी हुँ । एमएमए अर्थात् मिक्सिङ मार्सल आर्टमा रहेर चाहिँ ट्रेनरको रूपमा २ वर्ष दुबईमा काम गरेकी छु । सुरुवात मेरो बक्सिङबाट भएको हो । त्यसपछि कराँते त मेरो लक्ष्य नै थियो र छ पनि । ४१ वर्षको उमेरमा आइपुग्दा पनि खेलाडीकै रूपमा चिनिन मनलाग्छ । तर त्यो सम्भव त छैन तर पनि अरूले खेलेको देख्दा खेल्न मनलाग्छ । बाँकी योगा, जुम्बा तथा फिटनेसका सबै विषयमा चाहिँ मैले लामो समयसँग सिकेर अभ्यास गरेर सीप सिकेकी हुँ । जुन कुरा मेरो जीवनमा आवश्यक थिए ।
हाम्रो बेलामा हेर्दा र अहिले हेर्दा त कराँतेको अवस्था धेरै नै विकसित पाउँछु । महिला र पुरुष भनेर त्यतिबेला छुट्याइन्थ्यो अहिले त्यस्तो देखिँदैन । अन्तर्राष्ट्रिय लेभलमा तुलना गर्दा अहिले पनि नेपाल पछाडि नै छ तर हाम्रो स्तर माथि पुगिसकेको छ । त्यो बेलाको जस्तो महिला खेलाडीहरूलाई कठिन पनि छैन अहिले । खेल र खेलको स्तर माथि पुर्याउने मुख्य भूमिका खेलाडी स्वयं र प्रशिक्षकहरूको हुने भएकाले प्रशिक्षकले बाटो देखाउने खेलाडीले मेहनत गरे सबै राम्रो नै हुन्छ ।
म त खासै फरक देख्दिनँ । खेल खेल्दा पनि अभ्यास मात्र गरेर हुँदैन । हामीले देशको लागि समाजको लागि के गर्न सकिन्छ भन्ने दबाब हुन्छ र पदाधिकारी भइरहँदा पनि संघसंस्था कसरी मजबुत बनाउने कसरी अघि बढाउने भन्ने दबाब रहन्छ नै । काम र उद्देश्य फरक हुन्छ नै तर लक्ष चाहिँ खेलको स्तरोन्नति र राष्ट्रका लागि उपलब्धि हासिल गरौँ भन्नेमै फोकस हुन्छ ।
हामी पनि पहिला संघर्ष गरेर आएको हो। जापान गोजुरियो केनवाकाई कराँते नेपाल नामक संघ दर्ता गर्नुभन्दा पहिला हामीलाई पनि गाह्रो भएको थियो । तर पछिल्लो अवस्था हेर्दा संघसंस्थाहरु पदकै लोभमा खेलिने कारणले धेरै समस्या देख्छु । खेल र खेलाडीको हितमा भन्दा पनि पदको लोभ गर्ने, अरूलाई अगाडि बढ्न नदिने सोचले गर्दा खासै विकास हुन नसकेको चाहिँ यथार्थ जस्तो लाग्छ ।
त्यहाँको शिक्षा एकदमै राम्रो छ । नेपालमा खुट्टा तान्ने प्रवृत्ति धेरै हुन्छ । उता पनि हुन्छ, हरेक देशमा हुन्छ तर नेपालमा धेरै छ। हरेक कुरा सिस्टममा चल्छ र हरेक कुरामा त्यहाँ स्थायित्व हुन्छ तर यहाँ अझै पनि त्यो संस्कार बस्न नसकेको हो कि !
एक–दुईवटा विधालाई नै राम्रो बनाएर लैजाँदा हुन्छ जस्तो लाग्छ । अनावश्यक विधाहरूले गर्दा यसको विकासमा पनि कमी देखिन्छ । संघसंस्थाहरुले आफ्नो भूमिका राम्रोसँग निर्वाह गर्नुपर्छ । नयाँ विधाहरू ल्याउनै हुँदैन भन्ने त छैन तर नयाँमा टेस्ट गर्नुभन्दा वर्तमान अवस्थामा जे जे विधा छन् तिनीहरूमा लगानी गरेर अघि बढ्दा राम्रो हुन्छ ।
थोरै पारिवारिक कुरा गरौँ – एउटी महिला भएर विवाह र बच्चा जन्मिसकेपछि चाहिँ परिवारको साथ कति पाउनुभयो ?
परिवारको त मलाई पुरै साथ थियो । परिवारको साथ नभएको भए आज यहाँसम्म आइपुग्दिन थिएँ होला । माइती र घर दुवै परिवारको सपोर्टले नै म यहाँ आइपुगेकी हुँ । तर पछिल्लो समय श्रीमानसँगको मनमुटाबले करियरमा केही धक्का लाग्यो । पछिल्लो समयमा म छोडपत्र गरेर बच्चाहरूसँग बस्दै आएकी छु । यस्ता विभिन्न कुराले करियरलाई धक्का भने दिएकै हो ।
बच्चा जन्मिएपछि र परिवार बढेपछि मनमुटाब बढ्दै गयो । अर्कातर्फ मेरो कराँतेमा करियर बनाउनकै लागि उहाँले ठुलो रकम खर्च गर्नु भएको थियो । गाउँबाट काठमाडौँमा संघर्ष गर्दा उहाँले खेत (१ बिघा २ कट्ठा) नै बेच्नु परेको थियो । त्यो सब मेरा लागि पनि थियो । श्रीमान् पनि कराँतेको ‘चिफ इन्स्ट्रक्टर’ नै हुनुहुन्थ्यो । तर कराँतेबाट त्यसको ‘रिटर्न’ हुन सकेन कि ! सम्बन्ध चिसिनुमा जापाना गोजुरियो केनवाकाई कराँते नेपाल स्थापनामा ठुलो खर्च लागेर पनि थियो । जे हो भए पनि हामी बिचमा मनमुटाब सुरु भयो र सम्बन्ध तोडियो । तर कराँते त्याग्न चाहिँ सकिन ।
कराँतेमा भविष्य खोजे पनि विवाह पछि त्यसमै फर्कन गाह्रो भयो । कराँतेमा अन्य विभिन्न संघ संस्था पनि खोलियो तर आर्थिक रूपले धेरै गाह्रो नै थियो । र सन् २०१८ पछि श्रीमानसँग विदेश जानेकी भन्ने सल्लाह हुँदा उहाँ मान्नु भएन । र, मैले बच्चाबच्ची छाडेर नै विदेश जाने निर्णय गरेकी थिएँ। तर विदेश जाँदा पनि कराँतेकै जाने मन थियो र गुरुहरूको सहयोगमा दुवैमा ‘इन्टरनेशनल गोल्डेन फाल्कोन कराँते’मा प्रशिक्षकका रूपमा गएकी थिएँ ।
तर दुवैमा मैले भाग्य भनौँ अन्य धेरै काम गर्ने मौका पनि पाएँ । योगा, जुम्बा तथा फिटनेसको तालिम तथा गर्भवती महिलाहरूलाई शारीरिक कसरत गराउने लगायतका कामले मेरो कमाई पनि राम्रो भयो । खेल क्षेत्रमै सक्रिय रहन पनि सहयोग मिल्यो ।
मैले अघि पछि जे सुनेकी थिएँ मैले त्यो वातावरण थाहा नै पाइनँ । होला कतिपय ठाउँमा महिला दिदीबहिनीहरूले शारीरिक मानसिक यातना भोग्नु पर्यो होला। त्यस्तो नहोस्, तर मैले चाहिँ खेलाडी/प्रशिक्षक भएर पनि पनि होला सम्मान र इज्जत नै पाएँ ।
मलाई मेरो श्रीमानले कहिल्यै पनि अरूको जागिर गरेर बाँच्नु पर्छ भनेर सिकाउनु भएन। उहाँको बानी पनि राजा जस्तो बसेर सौखिन हिसाबले खानु/बस्नु पर्छ भन्ने थियो । यसको अर्थ स्वाभिमानमा बाँच्नु पर्छ भनेर सिकाएकाले विदेश बसेर आएपछि फिटनेस सेन्टर खोलेर गरिखाने आधार तयार गरेकी हुँ । यो एक तरिकाले व्यवसाय नै भए पनि खेलकुद क्षेत्रसँग नै आधारित भएर पनि साथीहरूसँग र बैंकमा ऋण लिएर फिटनेस चलाएकी हुँ ।
यसमा मैले छुटाउन नहुने चाहिँ म विवाहपछि एक दमै मोटी थिएँ । झण्डै १ सय ४ केजीकी थिएँ । जसले गर्दा श्रीमानले मेरो मोटोपन रुचाउनु भएन । सायद उहाँलाई दुब्ली केटीमा मन गयो कि, यसले पनि मेरो सम्बन्ध विच्छेदमा भूमिका निर्वाह गरेको थियो । त्यसैले मैले मेरो मोटोपना घटाउनु पर्छ भनेर बदलाको भावले पनि मैले आफूलाई फिट राख्न फिटनेसको क्षेत्र रोजेकी हुँ ।
म सुरुमा १०४ केजीबाट घटेर ९४ केजीमा झरेकी हुँ । जतिबेला दुबई गएँ त्यो बेला पनि ९४ केजी नै थिएँ । खास गरेर श्रीमानले नै मोटो पनामाथि टिप्पणी गरेर अरूलाई रोज्दा मन दुख्यो । र आफूले आफूलाई फिट राख्नु पर्छ, आफूले आफैलाई केयर गर्नु पर्छ भनेर एकोहोरो रूपमा लागेँ र आज ५३ केजी भएर फिटका साथ हिँडिरहेकी छु ।
लगभग ३ देखि ४ वर्षको अवधिमा मैले ५१ केजी तौल घटाएकी हुँ । यसमा सामान्य शारीरिक व्यायाम र नेचुरल डाइटिङ मात्र भएको छ । डाइटिङ गरेर चाहिँ मैले शरीरको तौल घटाएको होइन । र सबैलाई आफ्नो तौल घटाउने तरिका पनि नेचुरल व्यायाम र नेचुरल डाइटिङकै बारेमा सजेस्ट गराउँछु ।
कुनै पनि मेसिनको प्रयोग नगरी गरिने व्यायामको कुरा गरेको हुँ मैले । जस्तो दौडिने, पेटको व्यायाम गर्ने, थाई, हिप घटाउने पनि व्यायाम हुन्छन् सबै गर्ने र सधैँ गर्ने । अर्थात् निरन्तर गरिरहने गर्यो भने त्यसले रिजल्ट दिन्छ ।
मेरो आफ्नै जिम सेन्टर भए पनि जिम जान म कसैलाई पनि सल्लाह दिन्न र घरमै बसेर विभिन्न प्रकारका शारीरिक अभ्यासहरू गरेर र खानपानमा सन्तुलन मिलाएर पनि स्वास्थ्य जीवनशैली अपनाउन सकिन्छ । डाइटिङ चाहिँ शरीरका लागि उपयुक्त नहुन सक्छ ।
‘हाँस्दै’– उहाँ त मिल्छ भने फेरी हाम्रो घरबार सुरु गरौँ भन्नु हुन्छ । तर म दुब्लो पातलो राम्री भएर मात्र होइन भोगाइले पनि मेरो आवश्यकता महसुस गर्नु भएको हुनसक्छ । उहाँले गरेका पुराना गल्तीका बारेमा पश्चात् भयो होला। तर, बच्चाहरूका लागि बोले पनि पुनः हाम्रो मिलन चाहिँ सम्भव छैन ।
मिस एण्ड मिसेस युनिभर्स २०२३ म सेकेन्ड रनअरअपको उपधाी जितेकी छु । सोही प्रतियोगितामा मिसेस ट्यालेन्टको उपाधि पनि प्राप्त गरेँ । अलि अलि अभिनयको नि रहर थियो । आज खै कसरी हो पूरा हुँदै छ । खुसी छु । १०४ केजी बाट घटेर ५१ केजीमा पुगेपछिको रहर पनि हो कि नयाँ ठाउँमा पनि अनुभव प्राप्त गरौँ न भनेर पनि हो । अहिले त सिरियलमा अभिनयको अवसर पनि पाएकी छु। अझ खुसीको कुरा त मेरो आफ्नै जीवनीमा आधारित ‘कर्मको फल’ सर्ट फिल्म बनिरहेको छ र त्यसमा म आफै अभिनय पनि गरिरहेकी छु।
आफूले आफूलाई काबूमा राख्न सकिएन भने वा समय व्यवस्थापन गर्न सकिएन भने समस्या हुने । मैले चाहिँ सबै कुरा भ्याइरहेकी छु ।
मेरो ३ जना छोरी १ जना छोरा हो । ठुली छोरी इन्जिनियरिङ पढिरहेकी छ । सँगै मैले मेरो सासू आमाको रेखदेख पनि आफैसँग राखेर गरिरहेकी छु । परिवार र करियर दुवै चलिरहेको छ।
मलाई मेरो सासू आमाको जिम्मेवारी कसैले दिएको होइन तर पनि सासूआमाका ३ जना छोरी र १ जना छोरामात्र हो । छोरीहरू बिहे गरेर आ–आफ्नो घरमा गइसक्नु भएको छ। अब आमालाई यता न उताको बनाएर राख्ने कुरा पनि भएन । फेरि मेरो बच्चाहरू आमाको पनि नातिनातिना हुन् । मानसिक रूपमा आमा समस्यामा हुनुहुन्छ । होस पाउनुहुन्न, केही गर्ने वा कतै हिँड्ने गर्नुहुन्छ । मैले ससुरा बालाई पनि सँगै बसुम् भनेकी थिएँ तर उहाँ काठमाडौँमा बस्न नसकेर बुटवल आफ्नै घर फर्कनु भयो ।
एकदम गाह्रो हुन्छ। घर सम्हाल्दा अफिस छुट्ने डर, अफिस सम्हाल्दा घर छुट्ने डर । ठुली छोरी १९वर्षको भइन्, उनले पनि सहयोग गरेको भएर अलि सहज भएको छ। धेरै मिलाउनु पर्छ । धेरै कुरा जीवनमा भोग्नु पर्ने रहेछ । अनि संघर्ष त हरेकको जिन्दगीमा हुन्छ पनि । आज आएर धेरै संघर्ष गर्नुपरेको छ भनेर पनि भन्दिन किनकि जीवन भोगाइ नै त रहेछ ।
वृद्धाश्रम राख्नु उहाँहरूको पनि आफ्नै बाध्यता होला । विदेश जाँदा आफ्ना बुवाआमालाई वृद्धाश्रममा छोड्नु नै उहाँहरूलाई सुरक्षित लाग्यो होला । तर आफू हुँदाहुँदै पनि वृद्धा आश्रममा राख्नु राम्रो होइन । वृद्धवृद्धाहरुलाई सेवा गर्न पाउनु भनेको त सौभाग्य प्राप्त गर्नु हो । धेरै कठिन हुन्छ होला, अफिस बालबच्चा सबै हेर्नु पर्दा झनै गाह्रो हुन्छ नै । तर, आफूमाथिको जिम्मेवारी त निर्वाह गर्नै पर्छ । बिहान बेलुका आफूले जे खाइन्छ त्यही दिने न हो । उहाँहरूलाई सँगै राखेर सेवा गर्नु भनेको भगवान्को सेवा गर्नु जस्तै त हो ।
यदि कोही कसैले आफ्ना बाबा आमालाई वृद्ध आश्रम छाडेका छन् भने पनि उहाँहरूलाई बावाआमासँगै राख्न आग्रह गर्छु । एउटै घरमा बस्ने भएपछि झगडा हुनु सामान्य हो । मनमुटाब हुनु सामान्य हो तर मनबाट सेवा गर्नु आग्रह गर्छु ।
सन्तुष्ट छु । ऋण–धन भन्ने कुरा त सबैलाई लाग्छ । आफ्नो काममा सन्तुष्ट छु । मेहनतले पुगेको छ। परिवार चलाइरहेकी छु ।
जिन्दगीमा भोग्ने र देख्ने कुरा सबै देखिसकेको छु जस्तो लाग्छ । आफ्ना बालबच्चाहरूको करियर राम्रो बनाउने बाटोतर्फ लागेकी छु । अब आफ्नो भविष्य त यस्तै हो छोराछोरीका भविष्य चाहिँ सुनिश्चित गरिदिनु छ । बाँकी जे जे हुन्छ गर्दै जाने त हो।
आफ्नो दुःखसुख पोख्ने ठाउँ त चाहिन्छ कि ! तर, बच्चाहरूको भविष्य पहिला सुनिश्चित गरेपछि मात्र केही सोच्नु पर्ला ।
प्रतिक्रिया