शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय
कविता

ऋणको मूल्य

शनिबार, २१ पुस २०८०, ११ : ५१
शनिबार, २१ पुस २०८०

म जवान
ऋणको पहरी बोकेर
बाउको ऋण तिर्न आफ्नै 
शिर लिएर परदेसिएको 
दैलो उघार्दै गरेको हुँ ।

म आफ्नै स्वाभिमान छातीमा 
टाँगेर आमाको सिन्दूरको 
मेटिएको टाटो पुर्न
तिम्रो धन्दाको राजस्वरूपी 
इमान तिर्न आएको हुँ ।

गल्ती त मौन रूपले तिम्ले ग¥यौ बा
किन जहिले 
राज्य बेच्नेलाई आफ्नो कर्मको 
हस्तले भाग्याका रेखा कोरेका थियौ ?

आमाको रातो धोतीको पहिरन
साटेर आफ्नो कर्म बाकसमै
टाँसिएर 
सबै सपना थुनाएर
तिमी छिरेको विमानले
बा मलाई पनि बोलाएको छ ।

आमाको पटुको तीन फन्को खोलेपछि 
भेटिएको लघुवित्तको ऋण
तिर्न म मुठीमा 
सम्पत्तिको सहारा खोज्न
तिम्रो सरकारको ढोकामा आएको छ ।

सरकार म तिमीसँग केही माग्न 
आएको छैन 
तिमी किन मेरो शिरको
इमान र कर्ममा गोली ठोक्दै छौ ?
मेरो जवान इमान
नबुझे पनि 
पनि मेरो कर्मको 
खैरो किन खोज्दै छौ ।

गैरीखेतको चामलले 
आमाले दसैँमा टीका 
लगाउँदा एउटै आशीर्वाद दिएकी छन्
ऋण तिर्न कमाउनु है
सास फेर्न 
कमाउनु है ।

आफन्ती पाउन कमाउनु है
गरिबको घरमा मुस्कान 
किन्न कमाउनु है
आमा रेडियो खोल्छिन्
समाचार सुन्छिन्
आफ्नै एक सन्तानको हत्याले ।

आमा पुनः 
पीडाको विधवा हुन्छिन्
आमा 
यहाँ कसैकी आमा पटक पटक विधवा 
हुन्छिन् 
कसैकी आमा 
सन्तानको ममताको 
स्पर्श हुन्छिन्
हो आमा अब ढुङ्गा हुन्छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुजन गैह्रे
सुजन गैह्रे
लेखकबाट थप