जब कांग्रेस नेतालाई रास्वपा सदस्य भएको इमेल गयो...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सदस्यताका लागि आवेदन नदिएका व्यक्तिलाई सदस्य भएको म्यासेज पठाएको छ । कांग्रेस नेता नारायण आचार्यको इमेलमा रास्वपाले पार्टी सदस्य भएको म्यासेज पठाएको हो ।
कांग्रेसका महासमिति सदस्य तथा एनआरएनएका उपाध्यक्ष आचार्यले फेसबुकमार्फत रास्वपाले आफूलाई सदस्य भएको भनेर पठाएको इमेलबारे जानकारी गराएका छन् ।
‘आज अचानक मेरो प्राईभेट इमेलमा राष्ट्रिय स्वतन्त्र पार्टीको नो रिप्लाई इमेल आयो, त्यहाँ मेरो पूरा नाम थरसहित तपाई राष्ट्रिय स्वतन्त्र पार्टीको सदस्य बन्नु भयो । साथै तपाईको सदस्यता शुल्क पनि प्राप्त भयो भनेर लेखिएको छ,’ उनले लेखेका छन् ।
आफ्नो इमेलमा आएको जानकारीबारे रास्वपालाई जानकारी गराउने उनको भनाइ छ । ‘म अचम्मित भएँ मेरो ईमेल कसैले दुरुपयोग गर्यो या सुनियोजित रूपमा पार्टीको सदस्यहरु यति धेरै छन् भनेर देखाउन जस्को ईमेल पायो उसको नाममा सदस्यता दर्ता गरिदिने काम भइरहेको छ । भोलि राष्ट्रिय स्वतन्त्र पार्टीलाई पनि ईमेल लेखर जानकारी माग्ने बिचारमा छु,’ आचार्यले लेखेका छन् ।
नेपाली कांग्रेसको नेदरल्याण्ड जनसम्पर्क समितिका पूर्वसभापति आचार्य शंकरदेव क्याम्पसको पूर्व स्ववियु सभापति समेत हुन् ।
रास्वपाका संगठन विभाग प्रमुख कविन्द्र बुर्लाकोटीले प्राविधिक समस्याका कारण आचार्यलाईको इमेलमा म्यासेज गएको देखिएको रातोपाटीलाई बताए । उनले भने, ‘सदस्यता शुल्यक भुक्तानी भएको नम्बरमा हेर्दा नारायण आचार्य धादिङको गल्छी गाउँपालिका – ५ का मान्छे छन् । धादिङका नारायण आचार्यको इमेल थिएन होला । उहाँले नारायण आचार्य नामकै इमेल एडेर्स राखिदिँदा बाग्लुङका नारायण आचार्यका पुग्यो । कुरा यत्ति हो ।’
पार्टी सदस्यता लिँदा इमेल नभएका मान्छेले अनुमानमा इमेल एडेर्स राख्दा असम्बन्धित व्यक्ति कहाँ म्यासेज पुगेको बुर्लाकोटीको भनाइ छ । ‘यसमा रास्वपामा आस्था राख्ने र वेवास्ता गर्ने मान्छेले इमेल आउँदा वास्ता गर्दैनन् । अर्को पार्टीको मान्छे भएका कारणले रास्वपाले फेक सदस्य बनाउछ भन्ने सन्देश दिन लेख्ने गर्छन् ।’