शनिबार, ०१ मङ्सिर २०८१
ताजा लोकप्रिय

बहुउपयोगी केसभालाई हामीले कहिले चिन्ने ?

नेपालमा केसभा खेतीको सम्भावना
शुक्रबार, २० पुस २०८०, १३ : ३४
शुक्रबार, २० पुस २०८०

पूर्वी नेपालमा सिमलतरुलका नामले चिनिने केसभा (अंग्रेजी नाम) कन्दमूल खासगरी सुक्खा र बन्जर जमिनमा खेती हुन्छ । पूर्वका धेरै ठाउँमा यसको खेती हुँदै आएको छ । यसबाट साबुदाना बन्छ । गत एक वर्षको भन्सारको तथ्यांक हेर्ने हो भने भारतबाट २० लाख केजी साबुदाना आयात गरिएको छ । यसको भन्सार मूल्य एक सय ५० भारु तोकिएको छ । खास बजार मूल्य फरक होला तर भन्सारकै मूल्यमा खरिद गर्दा पनि वर्षमा ४८ करोड रुपैयाँँको साबुदाना नेपालमा खपत हुन्छ । 

केसभाको पिठो बनाएर मःम, चाउमिन, पास्ता, रोटी आदि परिकार तयार पार्न सकिन्छ । यसबाट गहुँको आयातमा ठूलो कटौती हुन सक्छ । त्यस्तै, आइसक्रिम र ससेजमा पनि केसभाको पिठो हालिन्छ । यसको भन्सारमा तथ्याङ्क भेटिँदैन, कारण यो अर्कै कुनै नामले भित्रिन्छ, सायद कच्चा मासु वा आइसक्रिमको कच्चा पदार्थ भनेर आउँछ होला । 

अर्को कुरा यसको पिठोलाई पशुदानामा मकैको विकल्पका रूपमा मिसाउन सकिन्छ । यसबाहेक केसभाको पातलाई पनि पशुदानाका रूपमा प्रयोग गर्न सकिन्छ । पूर्वी नेपालमा जमानादेखि सिमल तरुलको पातलाई खोलेका रूपमा प्रयोग गर्ने चलन छ । पात तथा यसको बोक्राबाट बायोप्लास्टिक बनाउन सकिन्छ । आज प्लास्टिकको यत्रो भयावह प्रभावलाई केही हदसम्म भए पनि घटाउन सकिन्छ । 

यसको बोटबाट उत्पन्न हुने एक किसिमको किटनाशक गन्धले प्राकृतिक किटनाशकको काम गर्छ । जसले विषादीरहित खेतीका लागि प्रश्रय मिल्छ । केसभालाई बारका रूपमा लगाएर भित्र तरकारी वा खाद्यान्न लगाउन पनि सकिन्छ । 

नेपालमा केसभा कसरी भित्रियो भन्ने खास तथ्य भेटिँदैन । यो पहिलो विश्वयुद्धमा नेपालसम्म आइपुगेको विश्वास गरिन्छ । पंक्तिकारले अनुसन्धान गर्दै आएको इलामको चुलाचुली गाउँपालिकामा भने २०२४ सालमा एकजना लिम्बु वृद्धाले सिक्किमबाट नेपाल आउँदा एउटा लौरो टेकेर ल्याइएकी थिइन् । उक्त लौरो इलामको पेल्टिमारीस्थित आफ्नो घरमा पुगेपछि यसै फालिदिइन् । पछि पुरिएर एक किसिमको सिमल जस्तो बिरुवा उम्रियो । अर्को वर्ष झन् ठूलो झाङ भयो । मानिसले उखेलेर हेर्दा तरुलजस्तो जरा भेटियो । खान मिल्ने हो कि होइन भनेर त्यत्तिकै फालिदिए । फेरि उम्रियो र ती महिलाको घरमा फैलियो । एक दुई वर्षपछि फेरि सिक्किमका आफन्तकोमा गएका बेला सिमल तरुलबारे छलफल भएपछि यो चिज खान मिल्ने जानकारी भयो । त्यसपछि पेल्टिमारीमा यो कन्दमूल फैलिएको इतिहास छ । हुनसक्छ, सोही स्थानबाट अन्य भागमा फैलियो । 

नेपालमा केसभा प्रशोधन उद्योग स्थापना गर्ने हो भने केहीले जागिर पक्कै पाउलान् तर सबैभन्दा बढी जनताले यसको खेतीबाट लाभ लिन सक्छन् । केसभालाई रोप्न, गोड्न र खन्न जनशक्ति आवश्यक हुन्छ । समथर जमिनमा मेसिनको पनि प्रयोग गर्न सकिन्छ । 

केसभा आज विश्वमा करिब ८० करोड मानिसको पहिलो खाद्यान्न हो । यो खासगरी अफ्रिकी मुलुकहरूमा निकै लोकप्रिय छ । बिस्तारै एसियाली मुलुकहरूमा पनि यसको प्रयोग बढ्दै गएको छ । अफ्रिकातिर व्यावसायिक खेतीमा प्रतिहेक्टर ६० मेट्रिक टनसम्म उत्पादन हुन्छ । अमेरिकामा ८० टन भने भारतमा ४० टनसम्म भएको पाइन्छ । नेपालमा त्यस्तै प्रतिहेक्टर १५ टनसम्म उत्पादन भएको पाइन्छ । नेपालमा पुरानो बिउको प्रयोग, यसलाई त्यति वास्ता नगर्ने, मलजलको उचित व्यवस्थापन नभएका कारण कम उत्पादन भएको चुलाचुलीका किसानको अनुभव छ । 

यसलाई सुक्खा र पानी नजम्ने माटोमा मात्र खेती गर्न सकिन्छ । पानी जम्यो भने फल कुहिन्छ । यसरी हेर्दा नेपालको पूर्वी भागदेखि पश्चिमी भागसम्म करिब ५० लाख मेट्रिक टनसम्म केसभा उत्पादन गर्न सकिन्छ । कच्चा केसभाबाट ३० प्रतिशत पिठो निकाल्न सकिन्छ भने अरु अंश पशुदानाका रूपमा वा बायोप्लास्टिक बनाउन प्रयोग गर्न सकिन्छ । त्यस्तै, २० प्रतिशत साबुदाना निकाल्न सकिन्छ । भनाइको अर्थ एक सय केजी कच्चा केसभाबाट २० केजी साबुदाना र अरु ५० केजी अन्य कच्चा पदार्थ निकाल्न सकिन्छ । बाँकी १० प्रतिशत प्रशोधनका क्रममा नष्ट हुन सक्छ । 

यो कन्दमूल विश्वमा सबैभन्दा बढी कार्बोहाइड्रेड पाइने खाद्य वस्तुमध्येको एक हो । अमेरिकी खाद्य तथा औषधी प्रशासनका अनुसार ३५ ग्राम केसभामा ३१ ग्राम कार्बोहाइड्रेट पाइन्छ । दुई ग्राम रेसा पाइन्छ भने पोटासियम र क्याल्सियम क्रमशः हामीलाई दैनिक चाहिने मात्रामध्ये दुई र डेढ प्रतिशत पाइन्छ । ३५ ग्राम केसभामा एक सय ३० क्यालोरी पाइन्छ । त्यस्तै, केसभालाई भिटामिन सी र ईको राम्रो स्रोत मानिन्छ । 

यसमा प्रोटिन र फ्याट शून्य रहेकाले जुनसुकै स्वास्थ्य समस्या भएका मानिसले पनि केसभा खान मिल्छ । 

पशुदानाको राम्रो स्रोत

पशुपन्छीको दाना उत्पादकहरूका अनुसार नेपालमा वार्षिक ६० अर्ब रुपैयाँ बराबरको दानाको कच्चा पदार्थ आयात गरिन्छ । यसमध्ये करिब ६० प्रतिशत हिस्सा मकैले ओगटेको छ । स्थानीय मकै खासै उपलब्ध नभएको व्यापारीहरू बताउँछन् । मात्र बढीमा २० टन मकै हाम्रो बजारमा पाइन्छ । बाँकी सबै आयात गरिन्छ ।

पशु दानामा मकैको विकल्पमा केसभाको पिठो प्रयोग गर्न सकिने अध्ययनहरूले देखाएका छन् । खासगरी दक्षिण पूर्वी एसियाली मुलुकहरूमा केसभालाई दानामा मकैको विकल्पका रूपमा प्रयोग गर्दै आइएको छ । 

हाल नेपालको पूर्वी भागमा यसलाई उसिनेर खाने प्रचलन छ । कसैकसैले यसबाट घरैलु मदिरा पनि बनाउँछन् । यसबाहेक केसभाको हामीकहाँ त्यति ठूलो उपयोग भएको छैन ।

आफू फिलिपिन्स भ्रमणमा जाँदा केसभाको पिठोलाई दानामा मकैको विकल्पका रूपमा प्रयोग गरेको जानकारी भएको कब नेपाल प्रालिका निर्देशक डा. बलराम किसी बताउँछन् । उनी नेपाल पोल्ट्री व्यवसायीको पेसागत संस्थाका पदाधिकारी पनि हुन् । उनले पनि कसैले केसभाको पिठो उपलब्ध गराए आफूहरू दानामा प्रयोग गर्न सक्ने बताए ।

त्यस्तै, नेपाल सरकारका कृषि इन्जिनियर सञ्जीव बिमली पूर्वी नेपालमा केसभाको बोरा भेटिएकाले नेपालको दाना उद्योगमा केसभाको पिठो प्रयोग हुन थालेको बताउँछन् । यसको मतलब भारतबाट आयात सुरु भइसकेको छ । 

पशुदानामा केसभालाई मकैको विकल्पका रूपमा सबैभन्दा पहिले तान्जानियामा प्रयोग गरियो । अध्ययन अनुसार केसभामा मकैमा भन्दा बढी कार्बस् पाइन्छ तर यसमा प्रोटिनको मात्रा कम हुन्छ । त्यसैले प्रोटिनको मात्राका लागि अन्य खाद्यवस्तु वा रसायन प्रयोग गरी बढीमा ५० प्रतिशतसम्म केसभालाई प्रयोग गर्न सकिने अध्येताहरूले बताएका छन् । केसभा भिरालो जमिन, सुक्खा र अत्यधिक अम्लीय माटोमा पनि उत्पादन हुन्छ । त्यस्तो जमिनमा मकै उत्पादन गर्न सकिँदैन । त्यसैले यस्तो जमिनको प्रयोग गरेर केसभा लगाई मकैको आयात घटाउन सकिन्छ ।

विदेशबाट मकै आयात गर्दा पैसा त बाहिर जान्छ नै, अमेरिकी डलरको सञ्चिति पनि घट्छ । यसका साथै हाम्रा उत्पादकहरू बन्देजमा पर्दछन् भने रोजगारी पनि उतै जान्छ । 

नेपालमा केसभा प्रशोधन उद्योग स्थापना गर्ने हो भने केहीले जागिर पक्कै पाउलान् तर सबैभन्दा बढी जनताले यसको खेतीबाट लाभ लिन सक्छन् । केसभालाई रोप्न, गोड्न र खन्न जनशक्ति आवश्यक हुन्छ । समथर जमिनमा मेसिनको पनि प्रयोग गर्न सकिन्छ । 

विश्वको करिब १९ प्रतिशत केसभा उत्पादक नाइजेरियामा सन् १९९९ सम्म प्रतिहेक्टर जमिनमा १० मेट्रिक टन मात्र केसभा उत्पादन हुन्थ्यो । जब आयात घटाउन नाइजेरियन सरकार कटिबद्ध भयो, त्यसको एक दशकमा केसभा उत्पादन लगभग दुईगुणाले वृद्धि गरियो । त्यसको १५ वर्षपछि गरिएको एक अध्ययन अनुसार त्यस मुलुकका १८ लाख मानिसहरू केसभासँग जोडिँदा वर्षमा अढाइ लाख जनाले थप रोजगारी पाएका थिए । उनीहरूको वार्षिक आय सरदर साढे पाँच सय अमेरिकी डलरले वृद्धि भएको तथ्याङ्क छ । नाइजेरियामा सामान्यतया १५ कट्ठा वा आधा हेक्टरदेखि साढे दुई हेक्टरसम्म जमिन भएका किसान छन् । अवस्था लगभग हाम्रैजस्तो हो । 

सिँचाइ सेवा नभएको ठाउँमा पनि फल्ने र समुद्री सतहदेखि १५ सय मिटरको उचाइसम्म खेती गर्न सकिने भएकाले नेपालमा कम्तीमा पनि ४० लाख हेक्टरमा केसभा खेती गर्न सकिन्छ । यसो गर्दा वर्षमा आठ करोड मेट्रिक टन कच्चा केसभा उत्पादन हुन सक्छ । सामान्य रूपमा २५ रुपैयाँ प्रतिकेजीका दरले किसानबाट खरिद गर्ने हो भने वर्षमा दुई अर्ब रुपैयाँ किसानको पोल्टामा जान्छ । एकजनाले सरदर १० टन उत्पादन गर्ने अनुमान गर्ने हो भने वार्षिक ८० हजार मानिसले थप रोजगारी पाउँछन् । धेरै मानिसको आर्थिक अवस्थामा सुधार आउँछ । उद्योग फस्टाउँछन् र मकैका लागि पैसा विदेश जाँदैन । यसको खेतीले दानामा मकैको प्रयोग घटाई खाद्य सुरक्षामा पनि योगदान पु¥याउँछ । 

हाल नेपालको पूर्वी भागमा यसलाई उसिनेर खाने प्रचलन छ । कसैकसैले यसबाट घरैलु मदिरा पनि बनाउँछन् । यसबाहेक केसभाको हामीकहाँ त्यति ठूलो उपयोग भएको छैन । केसभाको पिठोबाट अन्य देशमा जस्तो मम, चाउमिन पनि हामीकहाँ बनाइएको छैन । बहुउपयोगी केसभालाई राज्यले चिन्न सकेको छैन, यसको उपयोगिता, उद्योग र खेतीका बारेमा हामीकहाँ बहस हुन आवश्यक छ ।  

(लेखक केसभामा पोस्टडक्टरल अनुसन्धानमा संलग्न छन् ।) 

[email protected] 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. बद्रीप्रकाश ओझा
डा. बद्रीप्रकाश ओझा
लेखकबाट थप