कोशीमा दुई उम्मेदवारका लागि एमालेबाट ७ जनाको नाम सिफारिस
विराटनगर । कोशी प्रदेशबाट निर्वाचित हुने दुई जना राष्ट्रियसभा सदस्यका लागि नेकपा एमालेले केन्द्रलाई सात जना उम्मेदवारको सिफारिस गरेको छ । कोशी प्रदेशका पदाधिकारीको बिहीबार काठमाडौँमा बसेको बैठकले चारजना पुरुष र तीन जना महिलाको नाम सिफारिस गरेको हो ।
सिफारिस हुनेहरुमा उमानाथ ओली (झापा), हरिशचरण बानियाँ (झापा), परशुराम अधिकारी (भोजपुर) र कर्ण घले (खोटाङ)को नाम सिफारिस गरेको हो । यस्तै तीनजना महिलामा रजनी मेचे (इलाम), मेचीमाया धिमाल र रुक्मिणी कोइराला (सुनसरी) रहेका छन् ।
आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा कोशी प्रदेशका दुई सिटमा प्रतिस्पर्धा हुँदैछ । खुलातर्फका नेपाली कांग्रेसका रमेशजंग रायमाझी र महिलातर्फ नेकपा माओवादी केन्द्रकी बिना पोखरेलको पदावधि सकिने भएकोले निर्वाचन हुन लागेको हो ।
कांग्रेसले भने यसअघि नै पुरुषतर्फ कृष्णप्रसाद सिटौलासहित ३८ जना खस आर्य र खस आर्य महिलातर्फ २५ जनाको नाम सिफारिस गरेको छ । सिटौलाको पक्षमा भने कांग्रेसले व्याख्यातमक टिप्पणी गरेको छ ।
कांग्रेसबाट सिफारिस हुनेमा सुजाता कोइराला, महेश आचार्य, मिनेन्द्र रिजाल, गुरुराज घिमिरे, उमेशजंग रायमाझी, तारामान गुरुङ, टंक राई, गिरिराज आचार्य, डिला संग्रौला लगायतका नेता छन् । यस्तै माओवादीले पनि ७ जनाको नाम सिफारिस गरेको छ । जसमा अजम्बर काङमाङ राई, टंक गिरी, भोगेन्द्र यादव, लक्ष्मी न्यौपाने, चम्पा कार्कीलगायत छन् ।
प्रदेशमा गठबन्धन कायम भएमा एमालेको उम्मेदवार पराजित हुने निश्चित छ । राष्ट्रियसभाको लागि कोशीमा स्थानीय तहका २७४ र प्रदेशका ९३ सांसद गरी कूल ३६७ मतदाता रहेका छन् । निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ५३ र स्थानीय तहका प्रमुख तथा उप–प्रमुखको मतभार १९ रहेको छ ।
प्रदेशमा प्रदेश सभाका ९३ सांसदमा एमालेका ४०, कांग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाको ६, एकीकृत समाजवादीको ४ र जसपाको १ जना छन् । सांसदहरुतर्फ एमालेको २१२०, कांग्रेसको १५३७, माओवादीको ६८९, राप्रपाको ३१८, एकीकृत समाजवादीको २१२ र जसपाको ५३ मतभार रहेको छ ।
१३७ पालिकाका २७४ मध्ये एमालेका ११०, कांग्रेसका ११५, माओवादीका ३१, राप्रपाका ४, एकीकृत समाजवादीका ७, जसपाका ४ र स्वतन्त्र ३ जना छन् । पालिकामा एमालेको २०९०, कांग्रेसको २१८५, माओवादीको ५८९, राप्रपाको ७६, एकीकृत समाजवादीको १३३, जसपाको ७६ र स्वतन्त्रको ५७ मतभार रहेको छ ।
प्रदेशमा एमालेको कूल मतभार ४ हजार २१०, नेपाली कांग्रेसको ३ हजार ७२२ र माओवादी केन्द्रको १ हजार २७८ रहेको छ । यस्तै एकीकृत समाजवादीको ३४५, राप्रपाको ३९४, जसपाको १२९ र स्वतन्त्रको ५७ मतभार रहेको छ । गठबन्धन कायम रहँदा गठबन्धनको पक्षमा ५४८३ मतभार हुनेछ । एमालेको भन्दा १२६४ ले गठबन्धनको बढी रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अखिल क्रान्तिकारीको उमेर हदले नयाँ तरंग ल्यायो : शर्मा
-
पौष कृष्ण औँसी : गोकर्णेश्वर उत्तरगया क्षेत्रमा भक्तजनले गरे श्राद्ध
-
परेवाडाँडामा गोरु जुधाइ प्रतियोगिता
-
बन्दीपुर भ्रमण वर्ष मनाइँदै
-
१० बजे १० समाचार : नयाँ यात्रामा गौतम र रावल, रास्वपामा दलको नेतामा विवाद
-
एनपीएल विजेता ‘जनकपुर बोल्ट्स’लाई सिरहामा स्वागत