काठमाडौँका पेट्रोल पम्पले ४५ दिनभित्र शौचालय सञ्चालनमा ल्याउनु पर्ने, अध्ययन गर्न समिति गठन
![काठमाडौँका पेट्रोल पम्पले ४५ दिनभित्र शौचालय सञ्चालनमा ल्याउनु पर्ने, अध्ययन गर्न समिति गठन](https://npcdn.ratopati.com/media/news/pppp_uqlm80s0ug.jpg)
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पेट्रोल पम्पहरूमा शौचालय सञ्चालन गर्न अनुरोध गर्ने भएको छ । आज महानगरपालिकामा नेपाल आयल निगम, सडक विभाग, नेपाली सेना, नेपाल प्रहरी, उपत्यका ट्राफिक प्रहरी, महानगर प्रहरी बलसहितको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले महानगरपालिकाभित्र सञ्चालनमा रहेका पेट्रोल पम्पहरूको अध्ययन गर्न महानगर प्रहरी उपरीक्षक विष्णुप्रसाद जोशीको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरेको छ । समितिको सदस्यमा नेपाल आयल निगम, उपत्यका ट्राफिक प्रहरी कार्यालय, सडक विभाग, जिल्ला प्रशासन कार्यालय, पेट्रोलियम डिलर्स एशोसिएसन र रिपुमर्दिनी पेट्रोल पम्प भद्रकालीका प्रतिनिधि छन् ।
समितिलाई पेट्रोल पम्पहरूको निरीक्षण गरेर तत्काल सुधार गर्नु पर्ने काम र निश्चित अवधिमा सुधार गर्नु पर्ने कामको अध्ययन गरेर ४५ दिनभित्र प्रतिवेदन पेस गर्न समय दिइएको छ ।
महानगरपालिकाले गएको वैशाखमा पेट्रोलियम पदार्थ विक्री मापदण्ड पूरा नगरेको वडा नं. १६ बालाजुमा रहेको कोतः धुकु आयल स्टोरमा शिलबन्दी गरेको थियो । नेपाल आयल निगमका अनुसार ‘पेट्रोलियम पदार्थ विक्रेता नियमावली २०७५ (प्रथम संशोधनसहित)’ को मापदण्ड नपुगेका कारण तत्काल स्थानान्तरण गर्नुपर्ने महानगरपालिकाभित्रका १६ वटा पम्पको सूचीमा यो पनि थियो ।
सहरभित्र भएका पेट्रोल पम्पहरू आगलागीजन्य विपद्को जोखिम रहेको, सवारी साधन तथा पैदल यात्रुको आवागमनमा समस्या परेको गुनासो आउने गरेका छन् ।
‘पेट्रोलियम पदार्थ विक्रेता नियमावली २०७५ (प्रथम संशोधनसहित)’ अनुसार काठमाडौँ र ललितपुर महानगरपालिकाभित्र पेट्रोल पम्प सञ्चालन गर्न ७५० वर्ग मिटर वा १ रोपनी ८ आना क्षेत्रफल भएको जग्गा आवश्यक पर्ने मापदण्डमा उल्लेख छ । यसमा सडक तर्फको मोहडा कम्तीमा २० मिटर हुनुपर्छ । भौतिक पूर्वाधारसहित विक्रीस्थलको मापदण्ड पूरा भएको हुनुपर्छ । विक्री स्थलको भित्र ३ तर्फ पम्प बिल्टअप लेबलबाट १.२० मिटर अग्लो सिमेन्टको जोडाइमा ईट्टा वा ढुङ्गाको पर्खाल लगाएको र त्यसमाथि ०.९० मिटर अग्लो चेनलिङ्क फेन्सिङ्ग लगाएको हुनुपर्छ । रिफ्युलिङ्ग जोनको सेड, सतही ढल, रोड सेफ्टी कर्ब स्टोन एजिङ्ग, वफर स्ट्राईप, डिस्पेन्सिङ्ग पम्प जडान लगायतका संरचना तथा पूर्वाधार हुनुपर्छ ।
पेट्रोलियम पदार्थको विक्री क्षेत्र, बिक्रीस्थलको क्षेत्रफल तथा विक्री स्थलमा उपलब्ध हुने पूर्वाधारको आधारमा विक्रेताको मापदण्ड तोकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : रविलगायत विरुद्ध ४२७ पृष्ठ लामो अभियोगपत्र दायरदेखि सरकारको कार्यशैलीप्रति कांग्रेसभित्र असन्तुष्टिसम्म
-
फाल्गुनन्द गोल्डकप : झापा–११ माथि मच्छिन्द्रको फराकिलो जित
-
नागरिक लगानी कोष र म्याग्दी हाइड्रोपावरबिच सेयर प्रत्याभूति सम्झौता
-
लक्ष्मी सनराइज बैंक र आईएफसीबिच नेपालमा वित्तीय दुरुपयोग समाधान गर्ने बारे साझेदारी
-
ताली बजाएर र भाषण गरेर मात्रै क्रिकेटको विकास हुँदैन : अध्यक्ष चन्द
-
मन्त्रालयको बजेट नगरपालिकाको भन्दा पनि कम हुँदा काम गर्न सकिएन : खेलकुद मन्त्री