दोस्रो टेस्टको दोस्रो दिन नै भारतले दक्षिण अफ्रिकालाई सात विकेटले हरायो
काठमाडौँ । दक्षिण अफ्रिकाविरुद्धको दोस्रो टेस्ट क्रिकेटमा भारत विजयी भएको छ । केप टाउनमा खेलिएको दोस्रो टेस्टको दोस्रो दिन बिहीबार भारतले घरेलु टोली दक्षिण अफ्रिकालाई सात विकेटले पराजित गरेको हो । दोस्रो खेलमा भारतको जितसँगै शृंखला १–१ को बराबरीमा सकिएको छ ।
आफूले पाएको ७९ रनको लक्ष्य पछ्याउँदै भारत दोस्रो पाली ब्याटिङ गर्न आएका थियो । भारतले आफूले पाएको विजयलक्ष्य १२ ओभरमा तीन विकेट गुमाएर ८० रन बनाउँदै पुरा गरेको हो । दोस्रो पालीमा भारतका लागि ओपनर यशस्वी जैसवालले २८ रनको योगदान गरे । उनले २३ बलमा ६ चौका पनि प्रहार गरे ।
भारतका लागि अर्का ओपनर रोहित शर्माले अविजित १७ रन बनाए । कप्तानसमेत रहेका शर्माले २२ बलको सामना गरी दुई चौका पनि हिर्काए । शुभमन गिलले पनि टोलीको खातामा १० रन थपे । उनले ११ बलमा दुई चौका हिर्काए । विराट कोहलीले पनि १२ रन बनाए । कोहलीले ११ बलमा दुई चौका हिर्काए ।
श्रेयस ऐयरले पनि टोलीका लागि अविजित चार रन जोडे । भारतले दोस्रो पालीमा अतिरिक्त रुपमा नौ रन पायो । दक्षिण अफ्रिकाका बलर नान्द्रे बर्गर, कागिसो राबडा र मार्को जानसेनले एक–एक विकेट लिए ।
त्यसअघि दोस्रो टेस्टको दोस्रो दिन दक्षिण अफ्रिकी टोली आफ्नो दोस्रो पालीमा केवल एक सय ७६ रन बनाउँदै अलआउट भएको थियो । दोस्रो पालीमा दक्षिण अफ्रिकाका लागि ओपनर एडिन मारक्रमले शतक बनाएका थिए । उनले टोलीका लागि एक सय ६ रनको योगदान गरे । लामो समय क्रिजमा सँघर्ष गरेका मारक्रमले एक सय तीन बलमा दुई छक्का र १७ चौका हिर्काएका थिए ।
दक्षिण अफ्रिकाले तीन विकेटको नोक्सानीमा ६२ रनको स्थितिबाट दोस्रो दिनको खेल अगाडि बढाएको थियो । दोस्रो पालीमा पनि अन्य दक्षिण अफ्रिकी ब्याट्सम्यान भने खासै जम्न सकेनन् । कप्तानसमेत रहेका अर्का ओपनर डिन एल्गार १२ रनमै आउट भएका थिए ।
पाँचौँ नम्बरमा क्रिज समाल्न आएका डेभिड बेडिङ्घमले ११ रन बनाए । सातौँ नम्बरका ब्याट्सम्यान मार्को जानसेनले पनि ११ रन जोडे । अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । भारतका बलर जसप्रित बुमराह एक्लैले ६ विकेट लिए । उनले १३.५ ओभरमा ६१ रन खर्चिए । मुकेश कुमारले पनि दुई विकेट हात पारे । मोहम्मद सिराज र प्रसिद्ध कृष्णाले एक–एक विकेट लिए ।
त्यसअघि दोस्रो टेस्टको पहिलो दिन बुधबार दुबै टोलीको गरेर कुल २३ विकेट खसेको थियो । घरेलु टोली दक्षिण अफ्रिका पहिलो पालीमा २३.२ ओभरमा केवल ५५ रन बनाउँदै अलआउट भएको थियो । पहिलो पालीमा दक्षिण अफ्रिकाका लागि काइली भेरिनीले १५ र डेभिड बेडिङ्घमले १२ रन बनाएका थिए । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । भारतका बलर मोहम्मद सिराजले ६ तथा जसप्रित बुमराह र मुकेश कुमारले दुई–दुई विकेट लिएका थिए ।
पहिलो दिन नै भ्रमणकारी टोली भारत पनि आफ्नो पहिलो पालीमा ३४.५ ओभर खेल्दै केवल एक सय ५३ रन बनाएर अलआउट भएको थियो । भारतका पछिल्ला ६ ब्याट्सम्यान त टोलीको खातामा एक रन पनि नथपी पेभेलियन फर्किएका थिए । भारतका लागि पहिलो पालीमा विराट कोहलीले ४६, कप्तान रोहित शर्माले ३९ र सुभमन गिलले ३६ रन बनाएका थिए ।
अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । भारतले अतिरिक्त रुपमा २४ रन पाएको थियो । दक्षिण अफ्रिकाका बलर कागिसो राबडा, लुङ्गी निग्दी र नान्द्रे बर्गरले तीन–तीन विकेट लिएका थिए । त्ययसअघि सेन्चुरियनमा खेलिएको पहिलो टेस्टमा दक्षिण अफ्रिका एक पाली र ३२ रनले विजयी भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माघ नसकिँदै देशभर तापक्रम बढ्न थाल्यो
-
युवाले खोलेका उद्योग नै चलेनन्, ६ महिनामा ३०० वटा खारेज
-
रातोपाटी बिफिङ : वामदेव एमाले फर्किने ‘च्याप्टर’ तत्काललाई क्लोजदेखि पूर्व उपराष्ट्रपतिलाई उपाध्यक्ष बनाउने प्रचण्ड योजना स्थगितसम्म
-
अखिल क्रान्तिकारी निर्वाचन : उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशित
-
प्रेस सेन्टर उदयपुरको अध्यक्षमा अभिमन्यु लामिछाने चयन
-
दोस्रो पौवादुङमा गोल्ड कपको उपाधि राजगढ झापालाई