बिहीबार, ११ पुस २०८१
ताजा लोकप्रिय

कालीगण्डकी करिडोर : महभीर-पोखरेबगर खण्डमा कालोपत्र सुरु

बिहीबार, १९ पुस २०८०, १६ : ०५
बिहीबार, १९ पुस २०८०

म्याग्दी । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत म्याग्दीको महभिर–पोखरेबगर खण्डमा कालोपत्र सुरु भएको छ । अन्नपूर्ण गाउँपालिका–७ महभिरबाट वडा नं ६ पोखरेबगर र भुरुङ्ग तातोपानी क्षेत्रमा सडक कालोपत्र गर्न थालिएको हो । 

बेनी–जोमसोम–कोरला सडक योजनाका इन्जिनियर अच्युतविलास पन्तले ठेकेदार कम्पनीले यसअघि प्राइम कोड बिछ्याएको पोखरेबगर र भुरुङ्ग–तातोपानी क्षेत्रमा बिटुमिन र चिप्ससहित पहिलो कोड राख्न थालेको जानकारी दिए ।

“गाउँपालिकाको केन्द्र पोखरेबगर र नागढुङ्गा–भुरुङ्ग तातोपानी क्षेत्रमा फस्ट कोड राखेको छ”, उनले भने, “महभिरबाट भिरकाटेसम्म कालोपत्रका लागि बेस राखिसकेको छ । त्यहाँ फस्ट कोड राख्ने तयारी भएको छ ।” करिब तीन किलोमिटर सडक कालोपत्र गर्न लागिएको इन्जिनियर पन्तले जानकारी दिए ।

समुदाय, जनप्रतिनिधि र सरोकारवालाको दबाबपछि निर्माण व्यवसायीले तीन वर्षपछि काम सुरु गरेका हुन् । रघुगङ्गा गाउँपालिका–३ राहुघाटबाट अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्ग तातोपानीको नागढुङ्गासम्मको १९ किलोमिटर सडक कालोपत्र गर्न विसं २०७४ मा शर्मा युनाइटेड जेभी र बेनी–जोमसोम–कोरला सडक योजनाबीच ठेक्का सम्झौता भएको थियो ।

प्रतिकूल भूगोल, विपद् र कोरोना महामारीका कारण यो सडक निर्माण विसं २०७७ हिउँददेखि सुस्ताएको थियो । धरौटी जफत, ठेक्का तोड्ने र कालोसूचीमा राखेर कारबाही गर्ने प्रक्रिया अघि बढाएपछि ठेकेदार काममा फर्किएर कालोपत्र गर्न थालेको बेनी–जोमसोम–कोरला सडक योजनाका प्रमुख ध्रुव झाले बताए ।

“पहिरोग्रस्तस्थल र कडा पहरा फुटाउनुपर्ने भागमा वाहेक सडक विस्तार, नाली, पर्खाल निर्माण र सबबेस बिछ्याउने काम सकिएको छ”, उनले भने, “चमेरे, वैसरी र महभिरबाहेकको सडकमा कालोपत्रको तयारी भएको छ ।” शर्मा युनाइटेडका इन्जिनियर प्रशान्त तिमिल्सिनाले करिब छ किलोमिटर दूरीमा सवबेस र बेस राख्ने काम सकिएको बताए ।

“मौसमले साथ दियो भने छदेखि आठ किलोमिटर दूरीसम्मको सडक यसपालि नै कालोपत्र गर्नका लागि मजदुर र उपकरण परिचालन गरी तयारी थालेका छौँ”, उनले भने । यो खण्डमा विभिन्न स्थानमा करिब चार किलोमिटर पहिरोस्थल भएकाले ग्राभेल गर्ने, महभिरमा कडा पहरा भएकाले आयोजनाले सुरुङ निर्माण गर्ने योजना बनाएको र तातोपानी कुण्डको केही भागमा वैकल्पिक सडक निर्माण गर्नुपर्ने भएकाले ठेक्काबाट हटाइएको छ ।

रघुगङ्गा गाउँपालिकाको राहुपारेबाट बेगखोला खण्डको करिब छ किलोमिटर दुई वर्षअघि कालोपत्र भएको थियो । राहुघाट–बेगखोला खण्डको सडक कालोपत्र गर्ने जिम्मेवारी लिएको सहायक ठेकेदार ओमकारेश्वर कन्ट्रक्सनका सञ्चालकलाई ताकेता गरिएको शर्मा युनाइटेडका इन्जिनियर तिमिल्सिनाले बताताए ।

बेगखोला–नागढुङ्गा खण्डको कामलाई पूर्णता दिन मूल ठेकेदार आएको हो । राहुघाट–बेगखोला खण्डको सहायक ठेकेदारले काम नगरे मूल ठेकेदारले नै पूर्णता दिने जनाएको छ । कालोपत्र भइसकेको बैसरी र सिरुवारी क्षेत्रमा ठूलो पहिरो खसेकाले जोखिम बढाएको छ ।

यसैबीच बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको नागढुङ्गाबाठ काभ्रे खण्डमा चार वर्षपछि सडक निर्माण सुरु भएको छ । विसं २०७६ चैतमा कोरोना महामारी फैलिएपछि रोकिएको अन्नपूर्ण गाउँपालिका–२ नागढुङ्गाबाठ वडा नं ३ को काभ्रे खण्डमा सडक निर्माणको काम यसै महिनादेखि सुरु भएको हो ।

भारत र चीनलाई जोड्ने चार सय ३५ किलोमिटर दूरीको कालीगण्डकी करिडोर सडकलाई गण्डकी प्रदेशको भाग्यरेखा मानिएको छ । पर्वतको मालढुङ्गाबाट म्याग्दी हुँदै मुुस्ताङस्थित चीनको सिमाना कोरलानाका जोड्ने दुई सय दुई किलोमिटर दूरीको सडक दुुई लेनको कालोपत्र र ग्राभेल बनाउन विसं २०७३–७४ देखि सुुरु भएको योजनाको हालसम्म ७५ प्रतिशत भौतिक प्रगति भएको छ ।

छवटा खण्डमा ८५ किलोमिटर ग्राभेल र तीनवटा खण्डको १९ किलोमिटर सडक कालोपत्र गर्ने काम सकिएको छ । योजनामार्फत १३ वटा पक्की पुल र तीनवटा बेलीब्रिज निर्माण सकिएका छन् । सडकले पूर्वाधार, आर्थिक, व्यापारिक, जलविद्युत्, पर्यटन र धार्मिकस्थलको विकासका लागि महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप