भर्खरै प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता सकिएको छ । प्रतियोगिताको उपाधि एपीएफ क्लबले जितेको थियो । फाइनलमा एपीएफले कोशी प्रदेशलाई हराएको थियो ।
प्रतियोगितामा सातवटै प्रदेशका टोलीको सहभागिता रहेको थियो । त्यसमध्ये पनि गण्डकी प्रदेशको टोलीमा सबैभन्दा बढी युवा खेलाडीको बाहुल्य रहेको थियो । गण्डकी प्रदेशको टोलीमा अधिकांश खेलाडी १९ वर्षभन्दा कम उमेरका थिए ।
पछिल्लो समय गण्डकी प्रदेश र त्यसमा पनि स्याङ्जा जिल्लाले प्रतिभाशाली महिला खेलाडी उत्पादन गरिरहेको छ । यसै परिप्रेक्ष्यमा गण्डकी प्रदेशकी प्रतिभाशाली युवा खेलाडी ज्योत्सनिका मरासिनी र स्याङ्जा जिल्ला क्रिकेट संघका सचिवसमेत रहेका प्रशिक्षक विक्रम तिवारीसँग रातोपाटीका लागि मनोज न्यौपानेले गरेको कुराकानीको सम्पादित अंश :
ज्योत्सनिका : पहिले थोरै खेल खेलिन्थ्यो । तर, प्रधानमन्त्री कप निकै ठुलो प्रतियोगिता हो । यो प्रतियोगितामा सातवटै प्रदेश र विभागीय टोलीको पनि सहभागिता रहेको थियो । त्यसैले आफूभन्दा बलिया टोलीहरूसँग खेल्नु पर्दा सोचेजस्तो नतिजा आउन नसकेको हो । तर, यो प्रतियोगिता हाम्री नयाँ खेलाडीका लागि निकै उपलब्धिमूलक रह्यो । आफूभन्दा अनुभवी खेलाडीहरूसँग खेलेर हामीले धेरै कुरा सिक्ने मौका पाएका छौँ । कुनै पनि प्रतियोगिताको उद्देश्य हार–जितमात्र हुँदैन । हामी नयाँ खेलाडीका लागि अनुभव आर्जन गर्नु पनि महत्त्वपूर्ण उपलब्ध हो । आफूभन्दा बलिया टिमसँग खेल्दा हामीले आफ्ना कमी–कमजोरीहरु पनि थाहा पायौँ । यसले आगामी दिनमा आफ्नो कमजोर सुधार्न हामीलाई मद्दत गर्नेछ ।
विक्रम : यसअघि हामीले ठुला प्रतियोगिताहरूमा केवल औपचारिकताका लागि सहभागिता जनाउँथ्यौँ । तर, पछिल्लो समय हामीले आफूभन्दा निकै बलिया टोलीहरूलाई पनि चुनौती दिनसक्ने हैसियत बनाएका छौँ । यसअघिका प्रधानमन्त्री कपमा हामीसँग राम्रो अनुभव थिएन । टोलीमा नयाँ र युवा खेलाडीको बाहुल्य थियो । अहिले पनि हाम्रो टोलीमा युवा खेलाडीकै बाहुल्य छ ।
तर, अहिले टोलीमा भएका युवा खेलाडीको प्रदर्शनमा निखार आउँदै गएको छ । गण्डकी प्रदेशको अहिले कै टिमको कुरा गर्ने हो भने पनि नौजना यू–१९ खेलाडी छन् । हामीले हिजो युवा खेलाडीका लागि गरेको लगानीको प्रतिफल अब विस्तारै पाउने छौँ । यही प्रतियोगितामा पनि हामीले बलिया टोलीहरूलाई गतिलो चुनौती दिएका छौँ । प्रतियोगिताको पहिलो चरणबाटै बाहिरिए पनि हामीले एपीएफ क्लब, कोशी प्रदेश, बागमती प्रदेश, सुदूरपश्चिम प्रदेशजस्ता बलिया टोलीलाई राम्रै चुनौती दियौँ । टोलीमा अनुभवी खेलाडीको अभाव रहेकाले पनि हामी पहिलो चरणबाटै बाहिरिन पुग्यौँ । तर, समग्रमा हाम्रा युवा खेलाडीले प्रतियोगितामा निकै राम्रो प्रदर्शन गरे ।
ज्योत्सनिका : म सानैदेखि खेलकुदमा लागेकी हुँ । सानैदेखि विभिन्न खेल खेल्थेँ । मैले केही समय फुटबल पनि खेलेँ । फुटबलको यू–१६ राष्ट्रिय टोलीमा पनि छनोट भएकी थिएँ । तर, दूर्घटनामा परेका कारण त्यो अवसरको सदुपयोग भने गर्न सकिन । केही समय कराँते पनि खेलेँ । इन्डो–नेपाल कराँते प्रतियोगितामा त स्वर्ण पदक पनि जितेकी छु । यसदेखिबाहेक मैले टेबलटेनिसको विभिन्न प्रतियोगिता पनि खेलेकी छु । १३ वर्षको उमेरदेखि मैले क्रिकेटको उमेर समूहको राष्ट्रिय प्रतियोगिता खेल्न थालेकी हुँ । अरू खेलका प्रतियोगिताहरू खेले पनि म आफूलाई क्रिकेट खेलाडीकै रूपमा चिनाउन चाहन्छु । पछिल्लो समय मैले आफ्नो ध्यान पनि क्रिकेटमै केन्द्रित गरेकी छु ।
ज्योत्सनिका : यसअघि यू–१९ राष्ट्रिय प्रतियोगिताका लागि आठ–नौ दिनको बन्द प्रशिक्षण सञ्चालन गरिएको थियो । तर, प्रधानमन्त्री कपको तयारीका क्रममा भने हामी ‘क्वालिटी म्याच’ खेल्ने अवसर पाएनौँ । स्वाभाविक रूपमा प्रधानमन्त्री कप ठुलो प्रतियोगिता हो । तर, यो प्रतियोगिताका लागि बन्द प्रशिक्षण पनि लामो समय सञ्चालन भएन । प्रतियोगिता सुरु हुनुअघि एक–दुई दिनमात्र बन्द प्रशिक्षण सञ्चालन भयो । त्यसैले हामीले प्रतियोगितामा स्वाभाविक प्रदर्शन गर्न सकेनौँ । यदि हामीले राम्रो तयारी गर्न पाएको भए प्रधानमन्त्री कपमा योभन्दा अझ स्तरीय प्रदर्शन गर्ने थियौँ ।
विक्रम : नेपालले छिट्टै नै संयुक्त अबर इमिरेट्स (यूएई) मा एसियन रिजनको यू–१९ छनोट प्रतियोगिता खेल्दैछ । स्वाभाविक रूपमा गण्डकी प्रदेशको टोलीमा यू–१९ खेलाडीको बाहुल्य छ । हाम्रा खेलाडी क्षमतावान् पनि छन् । त्यसैले हाम्रा खेलाडीले त्यो प्रतियोगिताका लागि देशका लागि महत्त्वपूर्ण योगदान पुर्याउन सक्छन् । यसका अतिरिक्त सन् २०२७ मा नेपालले यू–१९ महिला विश्वकप बंगलादेशसँग मिलेर सहआयोजना गर्ने योजना बनाएको छ । त्यो यू–१९ विश्वकपलाई ध्यानमा राखेर पनि गण्डकी प्रदेशले अहिले युवा खेलाडी उत्पादनमा जोड दिएको हो । हामीले अहिले युवा खेलाडीमा गरेको लगानीको प्रतिफल विस्तारै देखिने छ ।
विक्रम : पक्कै पनि हामी पछिल्लो समय हामी नेपाली खेलकुदमा स्याङ्जा जिल्लालाई फरक पहिचान दिने योजनासहित अगाडि बढिरहेका छौँ । हाम्रो यो अभियानमा युवा खेलाडी, अभिभावक र स्थानीयले पनि राम्रो साथ दिँदै आउनु भएको छ । अहिले स्याङ्जा जिल्लाबाट उत्कृष्ट युवा महिला खेलाडीहरू तयार भइरहेका छन् । क्रिकेट स्वाभाविक रूपमा केही महँगो खेल भएकाले हामीलाई केही समस्या भने परिरहेको छ । तर, सबैको सक्रिय सहयोगबाट हामी आफ्नो लक्ष्यमा सफल हुनेछौँ भन्ने विश्वास छ । खेलाडी बन्ने भनेको नै स्कुलस्तरदेखि हो । त्यसैले हामीले पनि आफ्नो सम्पूर्ण ध्यान विद्यालयस्तरमै केन्द्रित गरेका छौँ ।
विक्रम : हो, हाम्रा दुईजना प्रतिभाशाली खेलाडीले उमेर हदका कारण प्रधानमन्त्री कप खेल्न पाएनन् । हामीले नौजना खेलाडीलाई टोलीमा समावेश गरेका थियौँ । अन्तिम समयमा क्यानले १५ वर्ष नपुगेका खेलाडीलाई टोलीमा समावेश नगर्न पत्र पठायो । त्यसैले हाम्रा दुई खेलाडी टोलीबाट बाहिरिए । अन्तिम समयमा आएर निकै खल्लो भयो । ती दुई खेलाडीलाई बिदाइ गर्न उनीहरूका अभिभावक पनि आउनु भएको थियो । तर, हामीले उनीहरूलाई टोलीमा राख्न सकेनौँ । क्षमतावान् हुँदा हुँदै पनि हामीले दुई खेलाडीलाई खेलाउन सकेनौँ । ती दुई खेलाडी र उहाँहरूको अभिभावकको आँसु अहिले पनि म सम्झिरहेको छु । निकै खल्लो लाग्यो । तर, अन्य प्रदेशबाट भने १५ वर्ष नपुगेका खेलाडीले पनि प्रधानमन्त्री कप खेलेको भन्ने समाचार आयो । यदि यस्तो हो भने अब हामीले जिल्ला फर्किएर ती दुई खेलाडी र उहाँहरूको अभिभावकलाई के जवाफ दिने भनेर चिन्ता लागेको छ ।
विक्रम : उत्कृष्ट त छैन तर, सन्तोषजनक भने छ । प्रदेशले पनि हामीलाई राम्रो साथ दिइरहेको छ । हामीले पनि प्रदेशलाई राम्रो नतिजा दिन सफल भएका छौँ । धनगढीमा भएको यू–१९ प्रतियोगिताको उपाधि पनि गण्डकी प्रदेशले नै जितेको थियो । स्वाभाविक रूपमा महिलाका लागि प्रतियोगिताहरूको अभाव छ । यसका लागि हामीले सधैँ नेपाल क्रिकेट संघको मुख ताकेर मात्र हुँदैन । प्रदेश स्तरमा पनि निरन्तर प्रतियोगिताहरू आयोजना हुनु आवश्यक छ । प्रदेशदेखि बाहेक सम्बन्धित जिल्लाभित्र पनि निरन्तर प्रतियोगिता आयोजना भइरहनुपर्छ । यसतर्फ पनि हामीले योजना बनाइरहेका छौँ । निरन्तर हुने प्रतियोगिताले नै खेलाडीको प्रदर्शनमा निखार ल्याउने हो ।
विक्रम : पक्कै पनि, लगानी नगर्ने तर नतिजा खोज्ने प्रवृत्ति राम्रो होइन । जिल्लामा भौतिक पूर्वाधारको अवस्था भने निकै दयनीय छ । प्रतियोगिता र प्रशिक्षणका लागि सुविधायुक्त मैदान पनि छैन । हामीले सामान्य मैदानमा खेलाडीलाई तयारी गराउनु पर्ने हुन्छ । यसले खेलाडीको प्रदर्शनमा असर पारिरहेको हुन्छ ।
ज्योत्सनिका : खेलकुद र अध्ययन दुवै आवश्यक छ । त्यसैले मैले खेलकुदसँगै अध्ययनलाई पनि विशेष महत्त्व दिएकी छु । अहिले म जिल्लामै व्यवस्थापन विषय लिएर ११ कक्षमा पढ्दै छु । अहिलेसम्म खेल र अध्ययनबिच तालमेल मिलाउँदै आएकी छु । तर, भविष्यमा ठुला प्रतियोगिताहरू आयोजना हुँदा त्यसले अध्ययनलाई केही प्रभावित बनाउन सक्छ । अन्तर्राष्ट्रिय प्रतियोगिता र परीक्षा एकैपटक जुध्न गएमा समस्या आउँछ । तर, अहिलेसम्म त्यस्तो परिस्थिति सृजना भएको छैन ।
ज्योत्सनिका : पक्कै पनि महिला खेलाडीका लागि प्रतियोगिताहरू निकै कम छन् । तर, प्रतियोगिताभन्दा पनि महत्त्वपूर्ण कुरा भनेको नियमित प्रशिक्षण हो । अहिले हामी युवा खेलाडीलाई गुणस्तरीय प्रशिक्षण आवश्यक छ । अहिले जिल्लामै हामीले नियमित प्रशिक्षण लिइरहेका छौँ । प्रशिक्षकहरूले पनि निकै राम्रो प्रशिक्षण गराइरहनु भएको छ ।
ज्योत्सनिका : परिवारले पनि मलाई खेलकुदमा लाग्न निकै सहयोग गर्नु भएको छ । खासगरी मेरो दाइ अनुपम मरासिनीबाट मैले खेलकुदमा लाग्न निकै हौसला र सहयोग पाएकी छु । दाइले सहयोग गर्नुभएकाले नै अहिले म यो स्थितिमा पुग्न सफल भएकी हुँ । म निराश हुँदा पनि दाइले नै मलाई निरन्तर क्रिकेटमा लागिरहन हौसला दिनु हुन्छ ।
ज्योत्सनिका : मैले सानै उमेरदेखि क्रिकेट खेल्न थालेकी हुँ । क्रिकेटमा भविष्य देखेर नै यो खेलमा लागेकी हुँ । नेपालमा यो खेलको राम्रो भविष्य पनि छ । तर, यसका लागि अझ निकै ठुलो सङ्घर्ष गर्नु आवश्यक छ । मलाई विश्वास छ, एक दिन म आफ्नो उद्देश्यमा पक्कै सफल हुनेछु ।
ज्योत्सनिका : प्रशिक्षण र प्रतियोगिताको अवस्था हेर्दा पुरुष खेलाडीको तुलनामा महिला खेलाडीले निकै कम अवसर पाएजस्तो लाग्छ । महिलाका लागि आयोजना हुने प्रतियोगिताहरू पनि निकै कम छन् । हामीले वर्षभरि निकै कम प्रतियोगितामा मात्र आफ्नो क्षमता देखाउन पाउँछौँ । यस्तो अवस्था देख्दा हामी महिला खेलाडीमाथि केही विभेद भएजस्तो भने लाग्छ । पुरुष खेलाडीको यू–१६ प्रतियोगिता हुन्छ । तर, महिला खेलाडीका लागि यू–१६ प्रतियोगिता नै छैन ।
विक्रम : एउटा प्रतिभाशाली खेलाडी तयार पार्न प्रशिक्षकको मात्र होइन, खेलाडीसँग जोडिएका हरेक पक्षले निकै ठुलो लगानी गरेको हुन्छ । सबैभन्दा पहिले खेलाडी नै मानसिक रूपमा तयार हुनुपर्छ । त्यसपछि परिवारको साथ र सहयोग आवश्यक पर्छ । प्रशिक्षकले पनि दक्ष खेलाडी उत्पादन गर्न निकै ठुलो योगदान गरेको हुन्छ । राज्यको पनि लगानी भएको हुन्छ । यी सबै पक्षका लगानी र समर्पणबाट नै प्रतिभाशाली खेलाडी उत्पादन हुन्छन् । यसमध्ये कुनै एउटा पक्षमात्र पनि कमजोर भयो भने ब्यालेन्स बिग्रन पुग्छ । अझ प्रशिक्षकका लागि त दक्ष खेलाडी उत्पादन गर्नु भनेको बच्चा हुर्काउनु बराबर हो । त्यसैले एउटा खेलाडी पलायन हुँदा त्यसको सबैभन्दा ठुलो चोट प्रशिक्षकलाई नै परेको हुन्छ ।
प्रतिक्रिया