रेमिटेन्स, बालकुमारी घटना र दलाल पुँजीवाद
युवा इतिहासका सर्जन, युगका अग्रगामी ताकत, क्रान्तिका वाहक तथा देशका रक्षक हुन् । हाम्रो देशमा युवा अर्थतन्त्रका प्राणवायु हुन् । प्राणवायु भनेको विदेशमा पुगेका युवाले पठाएको रकम अर्थात् विप्रेषण हो ।
आर्थिक परिदृश्यमा वैदेशिक रोजगारीबाट प्राप्त हुने विप्रेषण (रेमिटेन्स) महत्त्वपूर्ण अर्थतन्त्रको टेकोका रूपमा रही आएको छ । अर्थतन्त्रमा घट्दो कृषि र बढ्दो रेमिटेन्सको स्थिति छ । मानव जीवनको आधारभूत आवश्यकता पूरा गर्ने आम्दानी पनि स्वदेशमै बसेर गर्न नसकेपछि नै अधिकांश युवाले वैदेशिक रोजगारी रोजेका हुन् । मुलुकको राजनीतिक तथा सरकारको गलत नीतिका कारण आज युवा वस्तु तथा सेवाझैँ विदेश निर्यात भएका छन् । तर हाम्रा युवा विदेशी श्रम बजारमा पुगी खुन र पसिनासँग रेमिटेन्स साटिरहेका छन् ।
पछिल्लो समय कोरिया नेपाली युवाका लागि आकर्षक श्रम गन्तव्य बनिरहेको छ । स्वदेशमा पसिना बगाउने अवसर नभएपछि र परिवार चलाउन अर्थात् जीवन धान्न गाह्रो भएपछि हाम्रा युवा दक्षिण कोरियामा इपिएस प्रणालीमार्पmत रोजागरीका लागि आकर्षित भएका छन् । तर यही पुस १३ गते शुक्रबार रोजगारीका लागि दक्षिण कोरिया जाने परीक्षाका लागि आवेदन दिन नपाएपछि प्रदर्शनमा उत्रिएका युवामाथि प्रहरीले बल प्रयोग गर्दा दुई जनाको ज्यान गएको छ । यो घटनाले गृह मन्त्रालयको अक्षमता छताछुल्ल भएको छ । युवा देश छोड्न खोज्दै थिए तर देशको गृह सुरक्षाले संसार छोड्नुपर्ने बनाइदिए । रोजगारी सिर्जनासहित नवीन रूपान्तरणको कार्यभार पूरा गर्ने अठोट लिएको सरकारले नै दुई जनाको ज्यानै गुमाउनुपर्ने स्थिति बनाएकाले सबै नेपालीलाई मर्माहत बनेका छन् । भोको पेट राजधानी आएर विदेश गई श्रम बेच्ने सपना साँचेका युवाका बुवाआमा तथा परिवारजनलाई झनै मर्माहत बनाएको छ ।
पानीजहाज निर्माणको कामका लागि कोरियाली भाषा परीक्षा दिएर अनुत्तीर्ण भएकाहरूले उत्पादनमूलक कामका लागि हुने भाषा परीक्षामा सहभागी हुन पाउनुपर्ने माग गर्दै गरेको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा दुई युवाको मृत्यु भएको थियो । गोली लागेर मृत्यु भएका ती दुई युवकको परिवारका लागि सरकारले १०–१० लाख रूपैयाँ दिने भएका छन् । उक्त घटनाका घाइतेको उपचारमा लागेको खर्च सरकारले बेहोर्ने निर्णय गरकोे छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालकुमारी घटनाका दोषीलाई कारबाही गर्ने बताएका छन् । घटनामा कमजोरी देखाई भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाका पीएसओ र प्रहरी अधिकारीलाई निलम्बनसमेत गरेका छन् । मृतक युवाको परिवारले जतिसुकै रकम पाए पनि र सरकारले जसजसलाई कारवाही गरे पनि उनीहरूले पुनर्जीवन पाउँदैनन् । लाससँग पैसा कहिल्यै साट्न सकिँदैन ।
दलाल पुँजीवादी अर्थनीतिका कारण आज ठुलो सङ्ख्यामा युवा रोजगारको खोजीमा विदेश पलायन भएका छन् । यद्यपि हाम्रो संविधानमा रोजगार हरेक व्यक्तिको मौलिक अधिकारको रूपमा राखिएको छ । त्यति मात्र होइन संविधानमा हाम्रो अर्थव्यवस्था समाजवाद उन्मुख हुने भनी घोषणा गरिएको छ । दलाल पुँजीवादको घनीभूत उपस्थिति मुलुकको सङ्घीय गणतन्त्रमा प्रवेश गरेपछि झन् बढेर गयो । दलाल पुँजी भनेको राष्ट्रको पूँजी, कच्चा पदार्थ, जनशक्ति, प्राकृतिक स्रोतसाधनहरू साम्राज्यवादी एकाधिकार पुँजीपतिवर्गलाई बेचेर उनीहरूले दिएको जुठोपूरोमा बाँच्ने पुँजी हो । दलाल पुँजीवादले राष्ट्रिय उत्पादनको अभिवृद्धि गर्दैन । यसको प्रवृत्ति देशका युवा जनशक्तिलाई विदेश निर्यात गरी उनीहरूको रगत र पसिनाबाट साटेको रेमिटेन्सबाट प्राप्त रकमले उतैबाट उत्पादन भएको सामान आयात गरी ठुलो रकम कमिसनबाट आर्जन गरेको छ । यो अत्यन्तै दुःखद अवस्था हो ।
५. मुलुकको राजनीतिक तथा सरकारको गलत नीतिका कारण आज युवा वस्तु तथा सेवाझैँ विदेश निर्यात भएको छन् । कैयौँ विकसित राष्ट्र आफ्ना वस्तु तथा सेवा विश्व बजारमा बिक्री गरेर समृद्ध तथा सम्पन्न भएका छन् । तर हाम्रा युवा विदेशी श्रम बजारमा पुगी सस्तो श्रमसँग रेमिटेन्स साटिरहेका छन् । कैयौँ दिदीबहिनी आफ्नो अस्तित्वलाई रेमिटेन्ससँग साटिरहेका छन् । मुलुकका लागि यो राम्रो कुरा होइन । किनभने यसले मुलुकलाई परिनिर्भरता बढाउने गर्छ । सरकारको युवा नीतिले जुन लक्ष्य र उद्देश्य राखेर युवालाई परिचालन गर्ने भनेको छ, त्यसलाई प्रभावकारी रूपमा कार्यान्वय गरिएको छैन । युवा तथा खेलकुद मन्त्रालयले युवा नीतिको उद्देश्यअनुसार काम गर्न राष्ट्रिय युवा परिषद् र युवा स्वरोजगार कोष गठन गर्यो । तर परिषद् र कोष हुँदै झिनामसिना विषयमा अल्झिरहेका छन् ।
अन्तर्राष्ट्रिय आप्रवासन वर्तमान समाजको एउटा प्रमुख चरित्र बनेको छ । विश्व जनसङ्ख्याको ३.५ प्रतिशत अर्थात् २७.२ करोड जनसङ्ख्या आफ्नो जनसङ्ख्या जन्मभूमिबाहिर बसोवास गर्छन् । बाहिर बसोवास गर्ने जनसङ्ख्याको करिब ६३.५ प्रतिशत आप्रवासी श्रमिकका रूपमा काम गर्छन् । नेपालमा पनि ठुलो सङ्ख्यामा नेपाली श्रमिकहरू वैदेशिक रोजगारका लागि अन्य राष्ट्रमा जाने गरेको पाइन्छ । वर्तमान समयमा नेपालको जनसङ्ख्याको ठुलो भाग युवा जनसङ्ख्या दर ११.४ प्रतिशत भएको र त्यसको पनि एक तिहाइ दीर्घकालीन रूपमा बेरोजगार रहेको अवस्थामा वैदेशिक रोजगारको ठुलो सङ्ख्यामा नेपाली युवालाई रोजगारीको अवसर प्रदान गरेको छ । सरकारको हालको प्राथमिकता वैदेशिक रोजगारको क्षेत्रमा सङ्ख्यात्मक पक्षभन्दा पनि गुणात्मक अवसरहरू केन्द्रित रहेको छ । यसका लागि समान कामका लागि समान ज्याला रोजगारदाता आफैँले छनोट लगायत बेहोर्ने श्रमिकको हकहितको प्रत्याभूति र उच्च सीपका अवसर जस्ता विविध क्षेत्रमा केन्द्रित भई वैदेशिक रोजगारबाट प्राप्त हुने प्रतिफल उच्च रूपमा वृद्धि गराउन नेपाल सरकार प्रयासरत रहेको छ । लेखक डा. माधव अधिकारीको शब्दलाई सापटी लिँदै भन्नुपर्दा खाडी मुलुकमा पसिना बगाइरहँदा आफ्नै गाउँघरमा मलामीसम्मको जनशक्ति नभएको विभिन्न सञ्चार माध्यममा प्रकाशित भइरहेको छ । वैदेशिक रोजगारीबाट आएको विप्रेषणले सधैँ देश विकास हुन्छ र ? सोच्नुपर्ने बेला आएको छ । दिनहँु बाकसमा बन्द भएर आउने नेपाली युवाका शव र तिनका आश्रित परिवारका आँसुबारे सोच्न ढिला भइसकेको छ ।
वैदेशिक रोजगार नीति २०६८ अनुसार यो क्षेत्रलाई सुरक्षित भरपर्दो तथा विश्वसनीय बनाउँदै यसबाट प्राप्त हुने पत्यक्ष वा अप्रत्यक्ष फाइदालाई उपयोग गरी दिगो आर्थिक तथा सामाजिक विकासका माध्यमबाट गरिबी न्यूनीकरणमा सघाउ पुर्याउने उल्लेख गरिएको छ । यस नीतिमा विप्रेषणलाई मानव विकासको कार्यमा उपयोग गर्दै उत्पादनमूलक क्षेत्रमा परिचालन गर्न देहायबमोजिमका प्रावधान राखिएका छन्ः
क) वैदेशिक रोजगारका क्रममा हासिल गरेको सीप, ज्ञान र उद्यमशीलता स्वदेशमा उपयोग गरी स्वरोजगार र रोजगारका अवसर विस्तार गर्न अनुकूल वातावरणको सिर्जना गर्ने ।
ख) वैदेशिक रोजगारमा जाने श्रमिक तथा निजका परिवारलाई वित्तीय साक्षारता प्रदान गरी विप्रेषणको उपयोग प्रभावकारी बनाउने ।
ग) विप्रेषणलाई आधिकारिक माध्यमबाट पठाउन उत्प्रेरित हुने गरी बैङ्क तथा वित्तीय संस्थाहरूबाट विशेष प्याकेज कार्यक्रम सञ्चालन गर्ने ।
घ) वैदेशिक रोजागर बचतपत्रको उपयोग गरी नेपाली श्रमिकहरूले आर्जन गरेको रकमको सुरक्षित व्यवस्थित र उत्पादनशील क्षेत्रमा उपयोग गर्न जोड दिने ।
ङ) आकर्षक लगानीका क्षेत्रहरू तथा राष्ट्रिय प्राथमिकता आयोजनाहरूमा वैदेशिक रोजगारमा रहेका नेपाली श्रमिकहरूको सेयर लगानी पाउने गरी विशेष व्यवस्था गर्ने ।
च) वैदेशिक रोजगारबाट फर्केका नेपाली श्रमिकले हासिल गरेको ज्ञान, सीप, क्षमतालाई स्वेदशमा उपयोग हुने गरी उद्यम विकाससम्बन्धी मेसिनरी औजार उपकरणको आयातमा भन्सार तथा करलगायतका विशेष छुट प्याकेज सुविधा उपलब्ध गराउने छ । विप्रेषण तथा यसको अधिकतम उपयोगका सम्बन्धमा अध्ययन, अनुसन्धान गर्ने ।
युवा मानव जीवनको सबैभन्दा उर्वरशील, गतिशील जवानीले भरिपूर्ण अवस्था हो । नेपाल जनसङ्ख्याको झन्डै ४० प्रतिशत युवाले ओगटेको छ । हाम्रो देशका युवा अर्थतन्त्रका प्राणवायु हुन् । त्यति मात्र होइन युवा देशका मणि हुन् । यो मणिलाई बिदेसिनु नपर्ने वातावरण सिर्जना गर्नुपर्छ । श्रम बेचेर आएको रेमिटेन्सले जीवन निर्वाह गर्ने प्रवृत्तिले मुलुकको आमूल परिवर्तन हुँदैन । मुलुकको समृद्धिको सूत्र रेमिटेन्स होइन । रेमिटेन्सले परनिर्भरता बढाउँछ । जबसम्म देशले युवाको उपयोग गर्न सक्दैन तबसम्म मुलुक समृद्ध हुन सक्दैन । वैदेशिक रोजगारी स्वदेशमा राष्ट्रिय विकास नहुँदासम्मको अल्पकालीन विकल्प मात्र हो । देशको भविष्य कस्तो हुन्छ भन्ने कुरा देशका युवाको सोच र क्रियाकलापबाट हुन्छ । युवा मुक्तिका लागि गाउँदेखि सहरसम्म, विद्यालयदेखि विश्वविद्यालयसम्म, सडकदेखि सदनसम्म, नेपाली श्रमबजारदेखि विश्व श्रम बजारसम्म लडिरहेका छन् । देश चलाउने मुख्य मेरुदण्ड युवा शक्तिलाई देशमै रोजगारी सिर्जना गर्नुको सट्टा रेमिटेन्सबाट देश चलाउन घृणित नीतिले देश संसारकै सबैभन्दा कङ्गाल राष्ट्रका रूपमा दर्ज हुन सक्छ । तसर्थ मुलुकलाई स्वाधीन र सम्पन्न बनाउने हो भने युवा निर्यात होइन नेपाली वस्तु तथा सेवा निर्यात गरी विश्व बजारमा पुर्याउन अपरिहार्य देखिन्छ । यसलाई सम्बन्धित निकायको ध्यान जान जरुरी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार महिनामा १३ अर्ब ४० करोडको मोबाइल आयात
-
विश्वकपमा छनोट भएका महिला क्रिकेट खेलाडी सम्मानित
-
धान फल्ने खेतमा लगाएको सुन्तलाबाट दश लाख आम्दानी
-
इजरायलले प्यालेस्टाइनमा गरेको नरसंहारका विरुद्ध माइतीघरमा प्रदर्शन (तस्बिरहरू)
-
नेपाली रुपैयाँमा चुच्चे नक्सा राखेकोमा भाजपा नेताको आपत्ति
-
शल्यचिकित्सक समाजको चौधौँ राष्ट्रिय सम्मेलन पोखरामा