सोमबार, ०८ पुस २०८१
ताजा लोकप्रिय
राजनीति

सरकारप्रति सीके राउत किन आक्रोशित ?

बुधबार, १८ पुस २०८०, १५ : ३८
बुधबार, १८ पुस २०८०

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा. सीके राउत केही दिनदेखि सरकारप्रति आक्रोशित देखिएका छन् । औपचारिक कार्यक्रमदेखि सामाजिक सञ्जालमार्फत राउतले लगातार सरकार तथा प्रधानमन्त्री प्रचण्डप्रति आक्रोश पोखेका छन् ।

जनमत पार्टी स्थानीय, प्रदेश र संघीय सरकारमा समेत सहभागी छ । तैपनि सो पार्टीका अध्यक्ष राउतले प्रधानमन्त्री प्रचण्डलाई लक्षित गर्दै केही दिनदेखि कडा टिप्पणी गर्दै आएका छन् ।

पुस १४ गते राउतले भनेका थिए, ‘अङ्गप्रत्यङ्ग बिकेका यो भ्रष्ट राज्यले युवालाई शिक्षा दिएन, स्वास्थ्य सेवा दिएन, रोजगारी दिएन । बा–आमालाई लागेको ऋण चुकाउन विदेश जान लाग्दा पनि कमिशनखोर मन्त्री र कर्मचारीहरूको सिन्डिकेटले अनेक बहानामा पैसा असुल गर्न अवरोध खडा गर्‍यो र छातीमा गोली ठोकिदियो ।’

त्यसको भोलिपल्ट अर्थात् पुस १५ गते उनले भनेका थिए, ‘हाम्रो पार्टी सरकारमा छ भन्दैमा मैले रातलाई दिन, दिनलाई रात भन्दिनु पर्ने ? गलतको विरोध मैले निजीरूपमा पनि गर्न नपाउने ? त्यसो भए त्यही सरकारले दिएको नागरिकता बोकेर, सेवा लिएर, त्यही सरकारले गरेको निर्वाचनमा मतदान गरेर, तपाईंले बनाएको सरकारको तपाईंले पनि कसरी विरोध गर्न सक्नुहुन्छ ?

त्यतिमात्र होइन, उनले अगाडि भने, ‘हरेक दिन सरकारबाट देशभरिमा दशौँ हजार निर्णय हुन्छन्, लाखौँ गतिविधि हुन्छन्, के त्यो सबै मेरै चाहना अनुरुप भइरहेको छ कि मैले विरोध गर्न नपाउनु ?’

त्यही दिन राउतले सामाजिक सञ्जाल ‘एक्स’मार्फत अङ्ग्रेजी नयाँ वर्षको शुभकामना दिँदै सरकारप्रति आक्रोश पोखेका थिए ।

उनले भनेका थिए– ‘सन् २०२३ मा मेरा लागि धेरै कुरा नयाँ भए–संसदमा गइयो, गठबन्धन गरियो, सरकारमा गइयो, सरकारबाट बाहिरियो, (उप–निर्वाचन लडियो, सिंहदरबार धाएर जुत्ता खियाइयो, तारिफ गरियो, झगडा गरियो, जनताको गाली खाइयो आदि । संसदमा गइयो–संसदलाई ठुलो मान्थ्यौँ, त्यहाँ कुरा उठाएपछि केही होला ठान्थ्यौँ तर बेकार, समय बरबाद गर्ने थलो रहेछ, बुझियो । गठबन्धन गरियो– लाग्थ्यो मिलेर देश बनाउँला, तर देश र जनताको भलाइको चर्चा कहिले हुने रहेनछ, सारा बिकेका र मिलेका हुने रहेछन्, बुझियो । सरकारमा गइयो–कर्मचारी (र प्रधानमन्त्री) ले टसमस समेत हुन नदिने रहेछ, कुर्सीमा बस, सरकारी गाडी चढ, खुरुखुरु साइन गर, नभए जाऊ, बुझियो । सिंहदरबार धाइयो–जति सोचेको थिएँ, त्यसको लाखौँ गुणा विभेद, बेथिति र लाखौं गुणा भ्रष्टाचार हुने रहेछ, बुझियो । जनताको बिचमा गइयो– भोट उही पुरानालाई दिने तर लाखौँ गुणा आशा हामीबाट गर्ने, हामी दिनरात जनताका लागि मर्ने र संघर्ष गर्ने तर जनताले उल्टै गाली हामीलाई नै गर्ने, बुझियो ।’

उनले अगाडि भनेका छन्, ‘जाँदाजाँदै यही भन्न चाहन्छु– ठिक छ यदि हामीले सकेनौँ भने तपाईंहरू स्वयं आउनुस् । तपाईंहरूले पार्टी बनाउनुस् वा आन्दोलन गर्नुस् वा परिवर्तन ल्याउनुस् । मैले नै गर्नु पर्छ भनेर कहिल्यै सोचेको छैन, जसले गरे पनि जसरी भए पनि देश र जनताको भलो होस् चाहेका छौँ । तपाईंहरू आउनोस् ... कसले रोकेको छ ? उल्टै हामी सहयोग गर्न तैयार छौँ ।’

पुस १६ गते काठमाडौँमा उनले धोती जुलुस निकाले । सरकारले निषेधित क्षेत्र घोषणा गरेको क्षेत्र माइतीघरमा जुलुस निकाल्ने क्रममा उनीसहित उनका पार्टीका अन्य नेताहरु पनि पक्राउ परेका थिए । त्यसपछि उनी सरकारप्रति झन् आक्रोशित भए ।

‘के यो देश हाम्रो होइन ? नेपाल हाम्रो होइन ? हामी धोती लगाएर पनि हिँड्न नपाउने ?’ भन्दै सरकारप्रति उनले आक्रोश पोखे । त्यति मात्र होइन उनले धोती जुलुस निकालिसकेपछि सञ्चारकर्मीसँग भनेका थिए, ‘म प्रचण्ड होइन, म सीके राउत हुँ, म जेल जान डराउँदिनँ, प्रचण्ड जेल जान डराउँछन् । म तपाईं (प्रचण्ड)लाई नेतृत्व दिन सक्छु, यदि तपाईं मबाट अपेक्षा गर्नुहुन्छ भने तपाईंको लागि म गोली खान तयार छु, तर विश्वास गर्नुपर्‍यो नि, साथ दिनु पर्‍यो । अहिलेको सिस्टममा पुराना पात्रहरुलाई नफालेसम्म केही हुँदैन ।’

राष्ट्रिय सभा सिटका लागि जनमत पार्टीका अध्यक्ष राउतले प्रधानमन्त्री तथा सत्ता गठबन्धनमा निकै प्रयास गरेका रहेछन् तर उनको कुराको कुनै सुनुवाइ नभएपछि उनको यो पछिल्लो आक्रोश रहेको उनी निकट नेताहरु बताउँछन् ।

गठबन्धनमा आवद्ध रहेको, प्रचण्डलाई प्रधानमन्त्री बनाउन भूमिका खेलेको, जुनबेला जस्तो सहयोग माग्छन्, त्यस्तो सहयोग गर्दै आएको तर एउटा राष्ट्रिय पार्टीलाई राष्ट्रिय सभामा एक सिट पनि नदिने भन्दै उनले गुनासो गर्ने गरेका छन् ।

तर उनकै पार्टीका उपाध्यक्ष दीपक साह राष्ट्रिय सभाको सिटलाई लिएर कुनै गुनासो नरहेको दाबी गर्छन् । उनले भने, ‘राष्ट्रिय सभामा हामीले कम्तीमा एउटा सिट खोजेकै हो तर पाए पनि, नपाए पनि त्यसप्रति हाम्रो कुनै गुनासो छैन । सरकारले जनताको जनजीविकासँग जोडिएका विषयमा ध्यान नदिएका कारण हामीलाई चित्त दुखेको हो ।’

यो देशमा चार जना नेता (शेरबहादुर देउवा, केपी शर्मा ओली, प्रचण्ड र माधवकुमार नेपाल)ले जे गरे पनि हुने जस्तो अवस्था सिर्जना भएको आक्रोशमा अध्यक्ष राउतको यस्तो अभिव्यक्ति आएको साह बताउँछन् । ‘देशमा जुनसुकै निर्णय होस्, तीनचार जना नेता बस्छन् र त्यसलाई टुङ्गो लगाउने गरेका छन्,’ उपाध्यक्ष साहले भने, ‘देशमा भ्रष्टाचार मौलाउँदै गइरहेको छ, सरकार त्यसप्रति चिन्तित छैन, एनसेललगायत विभिन्न काण्ड यो देशमा भए तर तीनचार जना नेताले बसेर त्यसलाई मिलाउँछन् । त्यहाँ जनमतलगायत अन्य दल पनि छन् तर कसैको वास्ता गरिँदैन ।’

सरकारमा रहेको, गठबन्धनमा रहेको भन्दैमा उनीहरुले जे भन्छन् त्यही मान्नुपर्छ भने नरहेको साहले बताए । ‘हामी सरकारका लागि कहिल्यै लालयित थिएनौँ, आवश्यकता पर्‍यो भने जुनसुकै बेला पनि बाहिरिन सक्छौँ,’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप