सोमबार, ०८ पुस २०८१
ताजा लोकप्रिय

डाक्टरले भन्दा राम्रोसँग डिप्रेसन चिन्न सक्छ एआई ?

बुधबार, १८ पुस २०८०, १४ : ३१
बुधबार, १८ पुस २०८०

पर्थ । कृत्रिम बौद्धिकताले रोगको पहिचान र उपचारको तरिकाहरुमा व्यापक क्रान्ति ल्याइरहेको छ । रोगको निदानमा शुद्धता र कुन चाँहि उपचारले राम्रोसँग काम गर्न सक्ला भन्ने निर्धारण गर्नमा उपयोगी हुने भएकोले खासगरी डिप्रेसनका बिरामीका लागि एआई विशेष सहयोगी हुनसक्ने आशा गरिएको छ । 

जीवनको कुनै न कुनै कालखन्डमा कम्तीमा एक पटक भएपनि हामीमध्ये २० प्रतिशतलाई डिप्रेसनले सताइरहेको छ । विश्वभर अहिले ३० करोड मानिसहरु डिप्रेशनबाट गुज्रिरहेका छन् । विश्वभर रोगको सबैभन्दा ठूलो कारकका रुपमा विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले डिप्रेशनलाई औंल्याउनुको कारण पनि यही हो ।

डिप्रेसन पत्ता लगाउन गाह्रो छ । डिप्रेसनको कुनै परीक्षण हुन्न । डाक्टरलाई बिरामीले बताउने लक्षण, प्रश्नोत्तर र क्लिनिकल निगरानीका आधारमा रोगको पहिचान हुन्छ । तर सबैमा डिप्रेसनको एउटै खाले लक्षण पाइन्न । केही मान्छे अलि धेरै सुत्छन् भने कोही कम, कसैमा कुनै पनि गतिविधि गर्न ऊर्जा र रुचि हुँदैन र कोही चाँहि जति बेला पनि दुःखी एवम् चिडचिडे भएर बस्छन् । 

डिप्रेसनको उपचारमा कुराकानी थेरापी, औषधि, जीवनशैलीमा परिवर्तन आदि मुख्य पद्धति प्रयोग भइरहेका छन् । तर मान्छे अनुसार उपचारको असर पनि फरक फरक हुन्छ । कुन चाँहि पद्धतिले कुन मान्छेलाई कसरी काम गर्छ भनेर थाहा पाउने कुनै पनि तरिका छैन । एआईले कम्प्युटरलाई मान्छेले जस्तै गरी सोच्न सिकाउँछ ।

वैज्ञानिकहरुले च्याट जीपीटी र वास्तविक जीवनमा डाक्टरहरुबाट भएको रोगको पहिचान र सुझाएको उपचार विधिलाई तुलना गरेका थिए । यस क्रममा आश्चर्यजनक नतिजा फेला परेको छ । च्याटजीपीटीले अधिकांश बिरामीलाई कुराकानी थेरापी सुझाएको थियो भने डाक्टरहरुले डिप्रेसन कम गर्ने औषधि दिए । विश्वका अधिकांश देशमा डिप्रेशनसम्बन्धी गाइडलाइनमा उपचारको पहिलो विकल्पको रुपमा टक थेरापीलाई राखिएको छ । त्यसपछि मात्रै औषधि सेवन आउँछ । यो गाइडलाइनलाई डाक्टरहरुले भन्दा एआईले राम्रोसँग पछ्याएको भेटिएको छ ।

बिरामी महिला हो कि पुरुष उसको सामाजिक आर्थिक हैसियत कस्तो छ भन्ने जस्ता कुराहरुबाट च्याटजीपीटी कम प्रभावित भएको पाइयो । तर डाक्टरहरूले पुरुष विशेषगरी कुर्सीमा बसेर काम गर्नेहरूलाई डिप्रेसन कम गर्ने औषधि नै दिएर पठाए । वैज्ञानिकहरूले डिप्रेसनको पहिचानमा सामाजिक सञ्जालको पनि सहायता लिइरहेका छन् । 

एआईले सामाजिक सञ्जालमा व्यक्तिले गरेको पोष्टको भाषा र शब्द आदिका आधारमा पनि डिप्रेसनको गम्भीरता बताउन सक्ने भइसकेको छ । व्यक्तिले प्रयोग गर्ने इमोजी हेरेर पनि शुरुआती चरणमै सफलतापूर्वक डिप्रेसन पत्ता लगाउन सकिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप