आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय

लाल सागरमा तनाव जारी रहे पनि किन स्थिर भयो कच्चा तेलको भाउ ?

बुधबार, १८ पुस २०८०, १२ : ५७
बुधबार, १८ पुस २०८०

काठमाडौँ । विश्व बजारमा कच्चा तेलको भाउ बुधबार स्थिर देखिएको छ । हप्ताको शुरुआती कारोबारमा तीव्र बढेको तेलको भाउ एशियाली बजारमा बिहानी कारोबार स्थिर थियो । अमेरिकी अर्थतन्त्रमा सुस्ती छाउने चिन्ता र लाल सागरमा जारी तनावबिच आपूर्तिमा अवरोध हुने भयले बजार त्रस्त रहेकै बेलामा तेलको भाउमा केही स्थिरता देखिएको छ ।

लन्डनस्थित आईसीई एक्सचेञ्जको कोमेक्स डिभिजनमा बुधबार ब्रेन्ट क्रुडको भाउ प्रतिब्यारेल शून्य दशमलव शून्य १ प्रतिशतले घटेर ७५ डलर ८८ सेन्टमा आएको थियो । सोही समयमा न्यूयोर्क मर्कन्टाइल एक्चसेञ्जको कोमेक्स डिभिजनमा पनि वेष्ट टेक्सस इन्टरमिडियट (डब्ल्यूटीआई)को भाउ शून्य दशमलव शून्य ६ प्रतिशतले बढेर ७० डलर ४२ सेन्टमा पुगेको थियो । सप्ताहन्तमा हुथी विद्रोहीहरूले लाल सागरमा आक्रमण गरेको अनि सोमबार इरानी युद्ध जहाज आइपुगेको खबरले यो हप्ताको सुरुमै कच्चा तेलको दुवै बेञ्चमार्कको भाउ २ डलरले बढेको थियो ।

युद्ध भड्कियो भने लाल सागरबाट ढुवानी ठप्पै हुनेछ । यसो भयो भने तेलको आपूर्ति प्रभावित हुनेछ भने विश्व व्यापारमा केही खलल उत्पन्न हुनेछ । अमेरिकी केन्द्रीय बैंक फेडले सार्वजनिक गर्न लागेको नीतिगत बैठकको माइन्यूटमा आक्रामक ब्याजदर कटौतीको सङ्केत मिल्ने आशामा मंगलबारको कारोबारमा तेलको भाउमा कमी आयो । शेयर बजार समेत कमजोर भइरहेको बेलामा जोखिमयुक्त सम्पत्तिमाथिको लगानी व्यापक दबाबमा छ । यो प्रभावबाट तेल बजार पनि उम्किन नसकेको आईएनजीका विश्लेषकहरूले ग्राहकहरूको नाममा लेखेको एउटा नोटमा भनेका छन् ।

मध्यपूर्वमा तनाव जारी भए पनि तेलको भाउ भने कमजोर बनिरहेको नोटमा भनिएको छ । यो वर्षको पहिलो अर्धवार्षिक अवधिमा बजारमा तेलको पर्याप्त आपूर्ति हुने अपेक्षाले पनि तेलको भाउ दबाबमा आइरहेको छ । विशेषगरी मध्य पूर्वमा भूराजनीतिक तनाव तेल बजारको लागि चिन्ताकै विषय हुने गरेको छ । तेल बजारलाई टेवा दिन पेट्रोलियम निर्यातकर्ता देशहरूको सङ्गठन ओपेक र समूहका बाहिरका केही शीर्ष तेल उत्पादकहरुले व्यापक मात्रामा कच्चा तेलको उत्पादन कटौती गरिरहेका छन् । यस्तोमा यो वर्ष तेल बजारलाई टेवा दिन आवश्यक थप कटौती गर्न उनीहरूलाई गाह्रो हुने विश्लेषण आइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप