बिहीबार, २५ पुस २०८१
ताजा लोकप्रिय

मङ्गलसेन दरबार पुनःनिमार्ण गर्न  माग

बुधबार, १८ पुस २०८०, १० : २०
बुधबार, १८ पुस २०८०

अछाम । तत्कालीन द्वन्द्वका समयमा  क्षतिग्रस्त अछामको मङ्गलसेन दरबार हालसम्म पुनः निर्माण हुन सकेको छैन । अलपत्र अवस्थामा रहेको अछाम दरबारको निर्माण छिटो सम्पन्न गर्न माग गर्दै अछामका सरोकारवालाको टोलीले सरकारको ध्यानाकर्षण गराएका छन् । 

प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलमार्फत ज्ञापनपत्र बुझाउँदै टोलीले वर्षौंदेखि अलपत्र दरबार निर्माणको काम चाँडै पूरा गर्न सरकारको ध्यानाकर्षण गराएको हो । मङ्गलसेन नगर प्रमुख पदमबहादुर बोहराको नेतृत्वमा मंगलबार गएको जिल्लास्थित जनप्रतिनिधि, राजनीतिक दल, कर्मचारी, उद्योगी व्यवसायी, सञ्चारकर्मीलगायत टोलीले पाँच सय १५ जनाको हस्ताक्षरसहितको ज्ञापनपत्र बुझाउँदै सो माग गरेको हो । 

द्वन्द्वकालमा क्षति भएका संरचना पुनःनिर्माण गर्ने सरकारको कार्यक्रमअन्तर्गत  मङ्गलसेन दरबारको पुनःनिर्माणको काम थालिएको १५ वर्ष पुगिसक्दा पनि निर्माण  अधुरै रहेको जनाउँदै यसतर्फ सम्बन्धित निकायले बेवास्ता गरेको यहाँका सरोकारवालाहरुले गुनासो छ । तत्कालीन समयमा जिल्ला प्रशासन कार्यालय सञ्चालनमा रहेको तथा जिल्लाकै ऐतिहासिक र पहिचान बोकेको मङ्गलसेन दरबारको निर्माण पूरा गर्न पटकपटक संघीय  सरकार, सम्बन्धित मन्त्रालय, मन्त्रीहरु र अन्य निकायमा दबाबस्वरुप ध्यानाकर्षण गराएको भए पनि प्रतिबद्धता अनुसारको काम नगरेको उनीहरुको गुनासो छ । 

सरकार र राजनीतिक संरक्षणमा विभिन्न बहानामा निर्माण व्यवसायीले दरबारको निर्माण हालसम्म पनि सम्पन्न नभएको हो  । सो अवसरमा प्रमुख जिल्ला अधिकारी पोखरेलले दरबारको बिषयमा आफूले ठेकेदार र मन्त्रालयमा पटकपटक कुरा राखिरहेको उल्लेख गरे । यो मागलाई तत्काल गृह मन्त्रालयमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई पठाउने जनाउँदै आफ्नो तर्फबाट हुने प्रयासमा प्रतिबद्ध रहेको उनको भनाइ छ  । 

सशस्त्र द्वन्द्वका समयमा २०५८ साल फागुन ४ गते दरबार ध्वस्त भएको थियो । ‘बोलपत्र’ आव्हान भई आर्थिक वर्ष २०६४÷६५ मा निर्माण व्यवसायी राजेन्द्र साउँद÷तुल्सी दुर्गा–कुँवर–बडिमालिका जेभी धनगढी कैलाली र तत्कालीन सहरी विकास तथा भवन निर्माण विकास डिभिजन कार्यालय डोटीसँग दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएकामा हालसम्म पनि निर्माण सम्पन्न भएको छैन । दरबार नबन्दा यसअघि निर्माण भइसकेको कामसमेत भत्किने जोखिम छ । 

मङ्गलसैनका तत्कालीन राजा टीकाभुक शाहको पालामा निर्माण सुरु भएको उक्त दरबार उनका छोरा दलबहादुर शाहको पालामा विसं १९३५ मा निर्माण सकिएको इतिहास छ । सरकारले २०२९ सालमा अछामी राजाका सन्तान योगेन्द्रबहादुर शाहबाट ९० हजार रुपैयाँमा दरबार किनेको अछामी इतिहासका जानकारहरु बताउँछन् । योगेन्द्र बहादुरका भाइ तपेन्द्रबहादुर शाह सेनाका जर्नेल रहेकाले उनैले सरकारसँग दरबार बिक्रीको व्यवस्था मिलाएको बताइन्छ । तीनतले दरबारमा ३० कोठा थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप