सोमबार, ०८ पुस २०८१
ताजा लोकप्रिय

रिक्सा चलाएर उठेको रामवतीदेवीको परिवार

मङ्गलबार, १७ पुस २०८०, १९ : ४२
मङ्गलबार, १७ पुस २०८०

विराटनगर । विराटनगर महानगरपालिका– १७, रानीका भगतलाल साह प्रदेश १–०२–००२ ह ८६२१ नम्बरको अटो चलाउँछन् । अटोभन्दा अगाडि विद्युतीय रिक्सा (सिटी सफारी) र सिटी सफारी बजारमा आउनुभन्दा अगाडि उनले पाइडल रिक्सा चलाए ।

भगतलालले पाँच वर्ष दैनिक ५० रुपैयाँ भाडा तिरेर रिक्सा कुदाएका थिए । श्रीमती रामवतीदेवी साह जीवन विकास लघुवित्त वित्तीय संस्थाको सदस्य बनेपछि मात्रै उनले आफ्नै रिक्सा कुदाउन पाए । अहिले उनी अटोको मालिक हुन् । साहलाई पाइडल रिक्सादेखि अटोको मालिक बनाउन जीवन विकास लघुवित्तको लगानी छ ।

२२ वर्षअघि २०५८ सालमा धनपालथान गाउँपालिका–२ बाट बजार विराटनगर आएको साह परिवारले रिक्सा किन्ने हैसियत नभएका कारण पाँच वर्ष भाडाको रिक्सा चलाएर गुजारा गरेको थियो । गाउँमा पनि जमिन थिएन, बनीबुतो गरेर गुजारा गर्नुपर्थ्यो । सहज जीवन जिउने आशमा विराटनगर आएका रामवती र भगतलालले सुरुका वर्ष झन् दुःख पाए । कमाएको पैसाले मुस्किलले खान पुग्थ्यो । सपना आफ्नै घरमा बस्ने भए पनि त्यसबेला कोठा भाडा तिर्न पनि धौधौ थियो ।

विराटनगरमा भगतलाल र रामवतीदेवीको परिवार मासिक ३५० रुपैयाँ भाडामा सानो कोठामा बस्यो । दैनिक ५० रुपैयाँ भाडामा रिक्सा कुदाउने श्रीमानले दिनमा ४–५ सय रुपैयाँ कमाउँथे । कहिले खाली हात घर फर्कन पर्थ्यो । २०६३ सालमा रामवतीदेवी साह जीवन विकास लघुवित्त वित्तीय संस्थामा जोडिएपछि भगतलालले आफ्नै रिक्सा चलाउन पाए ।

रामवतीदेवी पनि निजी स्कुलमा दिनको २० रुपैयाँ पाउने गरी कार्यालय सहयोगीको काम गर्थिन् । कष्टपूर्ण रुपमा दैनिकी गुजारेकी साह जीवन विकास लघुवित्त वित्तीय संस्थाको सदस्य बनेपछि आफ्ना दुःखका दिन बिस्तारै हराएको बताउँछिन् ।

टोलमा आएको तालिम लिएर जीवन विकासको नयाँ केन्द्रको सदस्य बनेकी रामवतीदेवीले पहिलो पटक पाँच हजार रुपैयाँ ऋण लिएर श्रीमान भगतलाललाई सेकेन्डह्यान्ड रिक्सा किनिदिइन् । रिक्सा किनेपछि साहुलाई भाडा बुझाउन परेन, श्रीमानको मेहनतको कमाई आफ्नै भयो । नपढेका कारण दुःख पाएकी रामवतीदेवीले राम्रो शिक्षा दिन दुई छोरालाई गौतमबुद्ध बोर्डिङ स्कुलमा भर्ना गरिन् ।

श्रीमानले कमाएको पैसा जोगाइन्, आफ्नो कमाइले घरखर्च चलाइन् । गाउँ छाडेर बजार आएकी रामवतीलाई आफ्नै घर बनाएर बस्ने रहर थियो । तर जग्गा किन्ने पैसा थिएन । रिक्सा कुदाएर श्रीमानले केही पैसा बचाएका थिए, जीवन विकासबाट ५० हजार ऋण र आफन्तसँग सरसापट गरेर दुई लाख भेला पारिन् । त्यो पैसाले उनले ११ धुर घडेरी किनिन् ।

घडेरी किन्दा लिएको ऋणको नियमित किस्ता तिरिन् । जग्गा किन्ने सपना पूरा भएपछि उनले टिनको छानो हालेर सानो घर बनाइन्, त्यसपछि विराटनगर आउँदै गर्दा देखेको सपना पूरा भयो ।

रामवतीदेवीले स्कुलको काम छाडेर दाउरा बिक्रीको काम थालिन् । यसमा पनि जीवन विकासले सहयोग ग¥यो । बाहिरबाट दाउरा ल्याएर बजारमा बिक्री गर्दा राम्रै आम्दानी भयो । रिक्सा चलाएर श्रीमानले पनि पैसा कमाए । त्यसपछि उनले पक्की घर बनाउन सुरु गरिन् । उनको एक तले पक्की घर निर्माणको अन्तिम चरणमा छ ।

‘एकै पटक बनाउने पैसा थिएन, बर्सेनि कमाउँदै घरमा लगाउँदै  छु,’ उनी भन्छिन्, ‘अझै पनि बनाइरहेको छु, यो वर्ष सक्ने विचार छ ।’ पक्की घर बनाउन उनले जीवन विकास लघुवित्तबाट पाँच लाख रुपैयाँ ऋण लिएकी छन् ।

१७ वर्षदेखि जीवन विकासको सदस्य रहेकी रामवती जीवन विकाससँग जोडिएपछि आफ्नो प्रगति भएको सुनाउँछिन् । गाउँबाट एकसरो लुगामा बजार पसेकी उनले दुःखको आम्दानी बचत गर्दै अघि बढेकी हुन् । ‘गाउँबाट खुट्टा टेकेरमात्रै आएको थिएँ, ट्वाइलेट जस्तो सानो कोठामा भाडा बस्यौँ,’ उनी भन्छिन्, ‘हिजो दुःख थियो, दुःखपछि सुख आउँदैछ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप