अनदी धान : माग र मूल्य अत्यधिक, किसानले भने लगाउनै छाडे
काठमाडौँ । हाइब्रिड तथा उन्नत जातका धानले नेपालका रैथाने धान विस्थापित गर्दै गइरहेका छन् । यसरी विस्थापित भएका रैथाने धानमध्येको एक हो ‘अनदी’ । चाडपर्वमा विशेष प्रयोग हुने अनदी धान पछिल्लो समय बजारमा पाउनै छाडेको छ ।
हाइब्रिड र उन्नत जातको धानबालीको तुलनामा कम उत्पादन दिने भएकाले किसानले अनदी धान लगाउन छोडेको विज्ञहरु बताउँछन् । तर बजारमा यसको माग भने उच्च छ । त्यसैले यसको संरक्षणमा सरकारी स्तरबाट पहल भइरहेको छ ।
अनदी धान रैथाने भएकाले यसमा रोग–किरासँग लड्न सक्ने क्षमता बढी भएको कृषि वैज्ञानिक राम बहादुर केसीले बताए । ‘अनदी धान अग्लो हुन्छ, उत्पादन कम हुन्छ,’ उनले भने, ‘यसको महत्त्व थाहा पाएर पहिलादेखि नै राम्रो मूल्यमा बिक्री हुने गरेको भए सायद किसानले उत्पादकत्व कम हुँदा पनि लगाइराख्नु हुन्थ्यो होला । पछिल्लो समय किसानले विदेशबाट ल्याएका बढी उत्पादन दिने उन्नत जातका धान लगाउन थालेपछि यो धान मासिँदै गएको छ ।
केसीका अनुसार अहिले पनि मध्य पहाड र तराई एरियामा फाट्टफुट्ट अनदी धानको खेती हुने गरेको छ । अनदी धान नियमित भन्दा पनि पर्व विशेषमा प्रयोग गरिने भएकाले थोरै उत्पादन गरे पुग्ने मनसायका साथ किसानले आफ्नो आवश्यकताका हिसाबले मात्र यसको खेती गर्ने गरेका छन् । राष्ट्रिय कृषि आनुवंशिक स्रोत केन्द्र (जीन बैंक) का प्रमुख डा. बालकृष्ण जोशीले विकासे जातका धानलाई विभिन्न निकायले सहुलियत दिने तर रैथाने धानलाई कुनै सहुलियत नभएका कारण पनि किसानको रोजाइमा पर्न नसकेको प्रस्ट पारे ।
‘विकासे जातलाई देशभर फैलाउने कार्य गरियो, नयाँ–नयाँ विकासे जात आएको छ, उत्पादन बढी दिन्छ, विकासे जातमा मल, तालिम, विषादी लगायतको सहुलियत प्याकेजहरु भयो,’ उनले भने, ‘अनदीलाई कुनै पनि निकायले कुनै किसिमको सहुलियत दिएका छैनन् ।’
वरिष्ठ कृषि अधिकृत सन्जु रिमालले पनि रैथाने धान अनदीको उत्पादन कम हुने भएकाले किसानले रोप्न छोडेको उल्लेख गरिन् । ‘उत्पादन बढाउनका लागि विकासे, हाइब्रिड जातको धानलाई प्राथमिकता दियौँ, जसले गर्दा रैथाने धान मासिन थाले,’ उनले भनिन् ।
अनदी धान अन्य धानभन्दा केही ढिलो पाक्ने भएर किसानले यसको खेती गर्न छाडेको जीन बैंकका वरिष्ठ कृषि अधिकृत राम प्रसाद मैनालीले बताए । ‘एक हप्ता वा दुई हप्ता ढिलो हुँदा अर्को बालीको भ्यालु घट्छ,’ उनले भने, ‘यो धानको पाक्ने समय ४ महिनाको छ ।’
अनदी धान के हो ?
अनदी धान नेपालको रैथाने धान हो । यो धानको चामल विशेष गरी पर्वमा विभिन्न परिकार बनाउन प्रयोग गरिन्छ । अनदी धानलाई ‘स्टिकी राइस’ भनेर पनि चिनिन्छ । पहाडी भेगमा पुस १५ गते अनदीको चामलको भात (लट्टे) खाने प्रचलन छ भने तीजमा दरका रुपमा पनि अनदीको लट्टे खाने गरिन्छ । ‘अनदी चामल आडिलो हुन्छ,’ जीन बैंकका प्रमुख जोशीले भने, ‘विशेष गरी दर खान यसको चामल प्रयोग हुन्छ ।’
अनदी चामलबाट चाम्रे, ढिक्री, चिचर लगायतका विशेष परिकार बनाउने गरिएको केसीले उल्लेख गरे ।
अनदी चामलको माग
नेपालमा पछिल्लो समय रैथाने बालीको मूल्य उच्च हुँदै गए पनि उत्पादन भने न्यून छ । यो धानको माग पनि बढेको छ, तर उत्पादन भने खासै भएको छैन । फाट्टफुट्ट कहीँ भेटिए पनि एक किलो चामलको साढे दुई सय रुपैयाँभन्दा बढी पर्छ । यो धान पोषिलो र स्वादिलो रहेको विज्ञहरु बताउँछन् ।
अनदी धान विभिन्न प्रकारका हुन्छन् । रातो, पहेँलो, सानो लगायत विभिन्न थरीका अनदी हुने विज्ञ केसीले भने । गण्डकी प्रदेशमा अनदीको माग राम्रो पाइएको अधिकृत मैनाली बताउँछन् । ‘गण्डकी प्रदेशका सुपर मार्केटमा यसको राम्रो माग छ,’ उनले भने, ‘यो लोकल हो, पोषिलो, स्वादिलो, अलिकता स्टिकी पाराको, आडिलो भएकाले यसको माग देखिएको हो ।’
अनदी धान संरक्षणको पहल
माग बढी, उत्पादन कम भएकाले स्वदेशी रैथाने बालीको उच्च मूल्य हुन्छ । हाल यी बालीका लागि विभिन्न निकायबाट संरक्षणको पहल भइरहेको छ । देशभरको २२ जिल्लाबाट ३० थरी अनदी धान संकलन गरी जीन बैंकमा संरक्षण गरिएको अधिकृत मैनालीले बताए । ‘अनदी बढी फल्ने र छिटो पाक्ने खालका ५÷६ वटा बिउ निकालेका छौँ,’ उनले भने, ‘यसबाट क्रस गरी अर्को धानको जात पनि उत्पादन गर्न सकिन्छ ।’
मैनालीले अनदी धान खेती गर्न इच्छुकलाई निःशुल्क बिउ उपलब्ध गराइएको बताए । उनका अनुसार करिब एक दशक अघि छिटो पाक्ने, बढी उत्पादन दिने खालको जात किसानले रोजे पनि पछिल्लो समय आफूले खोजेजस्तो स्वाद नपाएपछि पुनः रैथाने बाली खोज्नेको संख्या बढेको छ ।
‘आफ्ने स्वादका लागि पछिल्लो समय किसानले रैथाने बाली खोजीखोजी लगाउने गरेका छन्,’ मैनालीले भने, ‘कोही आउनु हुन्छ भने गिफ्टको रुपमा बिउ दिन्छौँ, लगाएर हेर्दा राम्रो भयो भने, अर्को वर्ष पनि लगाउने गर्छन्, हामीले राम्रो छानेका बिउ दिन्छौँ ।’
सकेसम्म छिटो पाक्ने र राम्रो उत्पादन दिने अनदी जातको बिउ बनाउन पहल भइरहेको उनले सुनाए । देशभर चार वर्ष पहिला सामुदायिक जीन बैंक ४६ वटा थिए र ती बैंकले रैथाने धानमा केही न केही कार्य गरेको जोशीले बताए ।
विज्ञ केसी रैथाने बालीमा खडेरी सहन सक्ने, कम पानीमा उत्पादन हुन सक्ने, रोग–किरा सहन सक्ने र खाँदा विशेष किसिमका गुण हुने भएकाले रैथाने बाली लगाउन प्रोत्साहन गर्नु पर्ने बताउँछन् । ‘अनदी चामलबाट परिकार विविधिकरण गर्नुपर्छ,’ केसीले भने, ‘अनदी चामलको परिकारको स्वाद जसलाई सम्झना छ, सोही क्षेत्रमा उत्पादन गर्न प्रोत्साहन गर्नुपर्छ ।’
२५ सय रैथाने धान संरक्षण
नेपालमा धान बालीको विविधता रहेको विज्ञहरुले बताएका छन् । जीन बैंकमा १८ हजार रैथाने बाली र घाँसेबाली संरक्षण गरिएको छ । सोमध्ये करिब २५ सय रैथाने धान बाली संरक्षित रहेको प्रमुख जोशीले बताए । त्यसमध्ये ३० वटा अनदी धान छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनमत पार्टीकी सांसद सापकोटालाई पदबाट नहटाउने सभामुखको निर्णय
-
कम्बोडियामा ३२ हजार करोड लगानी रहेको आरोपपछि ओलीले भने– अमेरिकाका बैंकको आधा सम्पत्ति मेरै हो ल !
-
अहिलेको सरकार र समीकरणलाई कसैले हल्लाउन सक्दैन : प्रधानमन्त्री
-
सेयर बजारमा गैरआवासीय नेपालीलाई लगानी गर्ने बाटो खुल्यो
-
बीआरआई अन्तर्गत ऋण सहायता लिन नहुने कांग्रेसको अडान छ : प्रवक्ता महत
-
अन्तर्राष्ट्रिय अदालतले पक्राउ पुर्जी जारी गरेपछि इजरायली प्रधानमन्त्रीले दिए यस्तो प्रतिक्रिया