माओवादीको चार महिने अभियान : जनस्तरबाट आएका सुझाव होला त कार्यान्वयन ?
काठमाडौँ । ‘सरकारले चालेको सुशासन अभियानमा जनताको उच्च समर्थन रहेको छ । तर पार्टीकै नेताहरू भ्रष्ट, कमिसन, घुसखोरीमा मुछिने र कानुनी अनुसन्धानको घेरामा आउन नसक्दा जनतामा पार्टीप्रति विश्वास घट्ने खतरा छ ।’
माथि उल्लेखित वाक्याङ्श बारपाक सुलिकोट गाउँपालिका–८, पन्दु्रङमा एक स्थानीय नेताले प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष राखेका हुन् । पूर्वप्रतिवद्धता अनुसार माओवादीले थालेको विशेष रुपान्तरण अभियान समापनअघि पुस ११ गते प्रचण्ड उक्त वडामा पुगेका थिए ।
वडा र पालिकास्तरीय संयुक्त प्रशिक्षण कार्यक्रममा एक घण्टा भाग लिएका प्रचण्डलाई माओवादीका स्थानीय नेता तथा कार्यकर्ताले पार्टी रुपान्तरणका लागि पहिला नेताहरूको आचरण र जीवनशैली बदलिनुपर्ने सुझाव दिएका थिए ।
अध्यक्षसमक्ष उनीहरूले पार्टीभित्र विचारमा ह्रास आएको, नेताहरूमा अवसरवादी चरित्र बढेको, सहिद तथा बेपत्ता परिवारलाई बेवास्ता गरिएको, युवा कार्यकर्तालाई चुनावमा मात्र प्रयोग गरेको, पार्टी नेतृत्वमै सरकार हुँदासमेत विकास निर्माणका काम हुन नसकेको गुनासो पोखेका थिए । यसले भविष्यमा ठुलो दुर्घटना निम्तिने खतरातर्फ प्रचण्डलाई उनीहरूले सचेत गराएका थिए ।
खासमा माओवादीभित्र देखिएको पछिल्लो स्थितिबारे प्रतिनिधिमुलक रुपमा उक्त रिपोर्टिङलाई लिन सकिन्छ । विशेषगरी २०७० को निर्वाचनपछि पार्टी निरन्तर धक्का खाँदै गएपछि गएको साउन तेस्रो साता प्रज्ञाभवन कमलादीमा बसेको केन्द्रीय समिति बैठकले ‘जनतासँग माओवादी विशेष रुपान्तरण’ तीन महिने अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । बिचमा एक महिना थप गरी अभियान सोमबार समापन भएको छ ।
समग्रमा अभियान सफल भएको माओवादीको निष्कर्ष छ । सातै प्रदेशमा पालिका, जिल्ला र प्रदेशस्तरीय समीक्षा बैठक आ–आफ्नै हिसाबले राखिएको छ । सबै प्रदेशबाट आएको रिपोर्टमाथि पुसको अन्तिम साता बस्ने स्थायी कमिटी बैठकमा गम्भीर छलफल हुने महासचिव देव गुरुङले बताए ।
‘अभियान मूलभूत रुपमा सफल भएको छ । संगठन क्रियाशील बनाउने प्रक्रिया एक हदसम्म सफल भएको छ । बाँकी विषयमा सबै प्रदेशबाट समीक्षात्मक रिपोर्ट आएपछि बैठकमा समीक्षा हुन्छ । सबै प्रदेशबाट आएको रिपोर्ट अध्ययनपछि मात्र पार्टीको स्थितिबारे निष्कर्ष निकाल्न सकिन्छ’, रातोपाटीसँग उनले भने ।
यो पटक माओवादीले केन्द्रीय पदाधिकारीको जिम्मेवारी हेरफेरसहित सबै केन्द्रीय सदस्यलाई अन्तर जिल्लाको पालिकामा खटाएको थियो । अभियान समापन भएसँगै प्रदेशस्तरीय समीक्षा सम्पन्न गर्न कम्तीमा एक हप्ता लाग्ने शीर्ष नेताहरूले बताएका छन् ।
बैठकको निर्णय अनुसार कोशी प्रदेशमा चक्रपाणि खनाल, मधेसमा लीलामणि पोखरेल, बागमतीमा जनार्दन शर्मा, गण्डकीमा देवेन्द्र पौडेल इन्चार्जको रुपमा खटिएका छन् । यस्तै लुम्बिनीमा हितमान शाक्य, कर्णालीमा मात्रिका यादव र सुदूरपश्चिममा डिलाराम आचार्य खटिएका छन् । यादव र आचार्य अभियानकै क्रममा बिरामी परेकाले पछिल्लो महिना काम गर्न सकेनन् । यस्तै तीन वटा गैर प्रदेशमध्ये उपत्यका विशेषमा वर्षमान पुन, सम्पर्क समन्वयमा गिरिराजमणि पोखरेल र प्रवासमा राम कार्की खटिएका छन् ।
पुस ३ र ५ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकमा सबै इन्चार्जहरूले अभियानको संक्षिप्त रिपोर्टिङ गरेका थिए । यो पटक अभियानले संगठनलाई चलायमान बनाउन मद्दात गरेको निष्कर्ष निकाल्दै आगामी दिनमा पनि निरन्तरता दिनुपर्ने सुझाव उनीहरूले राखेका छन् ।
अभियान अपर्याप्त छ, निरन्तरता दिनुपर्छ : गिरिराजमणि
पार्टी उपमहासचिव एवं सम्पर्क समन्वय प्रदेशका इन्चार्ज गिरिराजमणि पोखरेलले मूलभूत रुपमा पार्टीले लिएको लक्ष्य हासिल नभएसम्म अभियान जारी राख्नुपर्ने निष्कर्ष निकालेका छन् । समग्रमा अभियानले संगठन निर्माण, जनपरिचालन, सामाजिक काममा राम्रो भूमिका खेलेको उनको भनाइ छ ।
‘तीन महिने अभियान औपचारिक रुपमा सोमबार समापन भए पनि यसको मूल लक्ष्य प्राप्त भएको छैन’, आगामी योजनाबारे उनले भने, ‘संगठनको काम, जनसेवा, उत्पादन, सामाजिक सञ्जाललाई परिचालनसम्बन्धी दक्षता र नेताहरूको जीवनशैली बदल्ने काम नियमित रुपमा केन्द्रित भएर गर्नुपर्छ ।’
सबै पालिकामा जनपरिचालन गरेर अभियान समापन भएको उनले जानकारी दिए । बागमतीको हकमा अधिकांश वडामा वडा सम्मेलन सम्पन्न भएको उनले जानकारी दिए ।
मिटरब्याज सम्बन्धी समस्या मधेसमा सबैभन्दा जटिल छ : लीलामणि
यस्तै मधेस प्रदेशका इन्चार्ज लीलामणि पोखरेलले पहिलेको स्थितिभन्दा संगठनमा धेरै सुधार आएको बताए । जनपरिचालन वडासम्म पुगेको, संगठन विस्तार टोल कमिटीसम्म भएको उनले जानकारी दिए ।
यद्यपि मधेसमा सांगठनिक अस्तव्यस्तता धेरै हदसम्म हल भए पनि यसलाई निरन्तर प्रक्रियामा जोड दिनुपर्ने उनको भनाइ छ । स्थानीय र प्रशासनबिच समन्वय गर्ने भरपर्दो निकाय नहुँदा समस्या देखिएको उनको निष्कर्ष छ ।
‘मधेसमा समस्याहरू धेरै छन् । पहिलो समस्या जनता र प्रशासकबिच समस्या छन् । प्रशासनले ठिक ढङ्गले काम नगरेको पाइयो । गडबडी देखा परेका छन् । सामाजिक न्यायदेखि उत्पादनसम्म समस्या देखिएको छ’, मधेसको समस्याबारे पोखरेलले भने, ‘स्थानीयले विद्यालय, स्वास्थ्य चौकी, बाटो, सिँचाइ, पुल पुलेसा लगायत विकास खोजेका छन् । राज्यका हरेक निकायमा भ्रष्टाचार व्याप्त छ । जनताले भ्रष्टाचारबाट मुक्ति खोजेका छन् । घुस, कमिसन र भ्रष्टाचार नभइ काम होस् भन्ने जनताको चाहना छ ।’ यी सबै समस्याको समाधान दलले गरिदियोस् भन्ने जनताको चाहना रहेको उनको बुझाइ छ ।
सामाजिक न्याय, विकास निर्माण र रोजगारी जनताले खोेजेको पोखरेलले बताए । भूमि समस्या, सुकुमवासी समस्या, मिटरब्याजसम्बन्धी समस्या मधेसको सबैभन्दा ठुलो समस्या रहेको उनले प्रस्ट पारे ।
नेताको जीवनशैली बदलिए अझै पार्टी बलियो बनाउन सकिन्छ : चक्रपाणि खनाल
कोशी प्रदेशका इन्चार्ज खनालले पार्टी प्रवेश, संगठन सुदृढीकरण तथा निर्माण, सदस्यता नवीकरण, सभा, जनपरिचालन, स्कुलिङ लगायत क्षेत्रमा अभियान सफल भएको दाबी गरेका छन् ।
‘समग्रमा हाम्रो पार्टी अलि निष्क्रिय, अराजकता, सांगठनिक सिद्धान्त नमान्ने, स्वेच्छाचारी, व्यक्तिवादी भएको थियो । त्यसलाई सुदृढीकरण गर्ने काममा अभियानले मद्दत गरेको छ’, कोशीको अवस्थाबारे जानकारी दिँदै उनले भने, ‘सांगठनिक हिसाबले टोलसम्म कमिटी बनेका छन् । बैठक नियमित भएका छन् । कुनाकाप्चाका जनतासम्म पुगियो । केही जनताले हामी त माओवादी थियौँ, ६÷७ वर्ष भयो, तपाईंहरूले माओवादी छाडिसक्नुभएछ भनेर प्रतिप्रश्न गरे ।’
यद्यपि बाँकी अभियानका हिसाबले श्रम, रचनात्मक कामका हिसाबले आशा गर्ने स्थिति नभएको उनले बताए । उत्पादनको क्षेत्रमा अहिले दुई÷तीन महिनाको कामले सकिने स्थिति नभएको तर श्रमका केही काम भएको उनको जिकिर छ । समग्रमा जनतासँग माओवादी टाढिएको निष्कर्ष उनले निकाले ।
‘माओवादीलाई जनताले छाडेको भन्दा पनि माओवादीले जनता छाडेको हो । हामीले नारा एउटा वर्गको उठाउने तर अर्को वर्गमा आश्रित हुने स्थिति बन्यो । श्रमिक, सर्वहारा, किसान, सुकुमवासीको पार्टी बन्ने तर आश्रय दलाल, नोकरशाही, पुँजीपतिसँग नेताहरूको हिमचिमले जनता निराश भएका छन् । नेताहरूको जीवनशैली बदल्ने हो भने अझै माओवादीलाई बलियो बनाउन सकिन्छ’, खनालले भने ।
उनले अभियानको समग्र संश्लेषण गर्दै विधान अधिवेशनमा सांगठनिक संरचनाको बारेमा केन्द्रीय समितिले पनि सजिलै बदल्न नसक्ने र बदल्नु पर्ने भए विधान सम्मेलनले मात्र बदल्नुपर्ने धाराहरु राख्नुपर्ने बताए ।
संगठन हल्लिएको छ तर ठेलिएको छैन : कार्की
प्रवास इन्चार्ज राम कार्कीले अभियानबाट पार्टी पंक्तिमा संगठन हल्लिएको भए पनि ठेलिने अवस्था नभएको निष्कर्ष निकाले । पार्टीलाई थप बलियो बनाउन आक्रामक कार्यक्रमसहित नेताहरू जनतामा जानुपर्नेमा नेताहरूमात्र गएको उनले बताए । उनले पार्टीलाई बलियो बनाउन नेताहरूले आचरण पनि सुधार्नुपर्ने भनाइ राखे ।
सम्रगमा अभियान सफल भएको छ : पौडेल
गण्डकी प्रदेशका इन्चार्ज देवेन्द्र पौडेलले समग्रमा अभियान अन्तर्गत पार्टी स्कुलिङ, भेला र जनपरिचालनको काम गर्न सफल भएको दाबी गरे ।
‘समग्रमा अभियानले संगठन सुदृढीकरणमा मद्दत गरेको छ । पार्टीमा समग्र विषयका गम्भीर समीक्षा हुनेछ । आगामी योजना र कार्यक्रम तय गर्नेछौँ’, पौडेलले भने ।
संगठन चुस्त र बलियो बनाउने आइडिया प्राप्त भएको छ : अध्यक्ष बराल
लुम्बिनी प्रदेशका अध्यक्ष सुदर्शन बरालले अभियानका कारण संगठनका धेरै नेता तथा कार्यकर्ता वडा तहमा पुगेको र स्थानीय जनता, कार्यकर्तासँग नेताहरूको समम्बन्ध स्थापित गर्न केही हदसम्म सफल भएको दाबी गरे । उनले लामो समयपछि विकट बस्ती, जनयुद्धकालका सेल्टर, घाइते अपाङ्गता, सहिद तथा बेपत्ता परिवारसँग भेटघाट भएको बताए ।
यस्तै पार्टी प्रवेश, जवस मोर्चा र संगठन निर्माण, जनश्रमदान, सडक, पुल, कुलाहरू निर्माण लगायत काम अभियानको सकारात्मक पाटो भएको उनको बुझाइ छ । अभियानको क्रममा नेताहरूको जीवनशैली, नेता र कार्यकर्ताबिच सम्बन्धको विषयमा चर्को रुपमा सुझाव आएको उनले बताए ।
‘मुख्य नेताहरू सुविधाभोगी भएको, सहरमुखी भएको, व्यक्तिगत स्वार्थ र फाइदामा लागेको, सांगठनिक प्रणालीलाई नमानेको र त्यसलाई लयमा ल्याउनुपर्नेमा राम्रा सुझाव आएका छन्’, उनले भने, ‘यसलाई हामी विधान अधिवेशन हुँदै विशेष महाधिवेशनसम्म जाँदा पार्टी संगठनलाई सुदृढीकरण गर्ने, रुपान्तरण हुन नसक्ने नेताहरूलाई सम्मानजनक बिदाइ गर्ने, कमिटीलाई सानो र चुस्त बनाएर समाधान गर्ने आइडिया प्राप्त भएको छ ।’
अभियानको क्रममा के के भयो ?
राज्यसँग तीव्र असन्तुष्टि जनाएका श्रमिक, उत्पीडित, किसान, महिला, मधेसी, दलित, मुस्लिम लगायत समुदायको बलमा २०५२ सालमा माओवादीले व्यवस्थामाथि नै सशस्त्र विद्रोह गरेको थियो । तर शान्ति प्रक्रियामा आएको १७ वर्षमै माओवादी निकै कमजोर भएपछि फेरि बलियो शक्तिमा पुनर्स्थापित हुने लक्ष्यसाथ अभियान चलाएको थियो ।
पहिलो चरणमा माओवादीले बैठक, भेला, प्रशिक्षण, सदस्यता नवीकरण÷विस्तार, अभिलेख व्यवस्थापन, उत्पादन र प्रचारसँग सम्बन्धित संयन्त्र र योजना निर्माण, विभिन्न तहका पार्टीका कार्यालय व्यवस्थापन, पार्टीभित्रका अन्तरविरोधहरुको पहिचान र समाधानको पहल, कार्यकर्ता व्यवस्थापनका लागि कोष निर्माण लगायत काम सम्पन्न गरेको छ ।
दोस्रो चरणमा पाँच घण्टे अन्तरपार्टी स्कुल, विषयगत अन्तरक्रिया, विषयगत तालिम, गोष्ठी, जनप्रशिक्षण, जनभेला, टोल टोलमा युवाभेला, स्थानीयस्तरका सरकारी तथा सामाजिक संघ संस्थाहरुसँग अन्तरक्रिया गरेको थियो ।
स्थायी समिति बैठक लगत्तै माओवादीले केन्द्रीय समिति बैठक बोलाउने तयारी गरेको छ । पहिलो पटक आगामी फागुनको पहिलो साता विधान अधिवेशन गर्दैछ । सांगठनिक संरचनामा फेरबदल गर्नका लागि उपाध्यक्ष पम्फा भुसालको नेतृत्वमा सात सदस्यीय विधान मस्यौदा समिति गठन गरेको छ । त्यसलगत्तै विशेष महाधिवेशन बोलाउने तयारीमा माओवादी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईयूद्वारा नाइजरका लागि खटाएका दूत फिर्ता : प्रवक्ता
-
‘विपद् जोखिम न्यूनीकरणका लागि पूर्वाधार एवं जनचेता अभिवृद्धि आवश्यक’
-
सडक पूर्वाधारमा कर्णाली : ६ वर्षमा १५६.७६ किलोमिटर सडक कालोपत्रे
-
अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
-
ललितपुर जिल्लाभित्र बसोबास गर्ने माओवादी नेताहरुसँग छलफल
-
मनलाई जिते जित : आचार्य महाप्रज्ञले मनलाई देखाएको बाटो