काभ्रे । पछिल्लो समय काभ्रेको बेथानचोक गाउँपालिका पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ । सो गाउँपालिकामा ढुङखर्क, नारायणथान, गोलढुङ बजारलगायतका क्षेत्र काठमाडौँ उपत्यका जस्तै आकर्षक पर्यटकीय गन्तव्य हुन् ।
देशको राजधानी काठमाडौँबाट करिब ४५ किलोमिटर दक्षिणमा रहेको यस बेथानचोक गाउँपालिकामा ६ वटा वडा छन् । कुल १०१ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको उक्त गाउँपालिकाको जनसङ्ख्या १६ हजार ७७७ छ । बेथानचोकको उत्तरमा काभ्रेको पनौती र नमोबुद्ध नगरपालिका, दक्षिणमा खानीखोला गाउँपालिका, पूर्वमा रोशी गाउँपालिका पर्दछन् भने पश्चिममा ललितपुरको महाँकाल गाउँपालिका छ ।
मनोरम प्राकृतिक वातावरण रहेको बेथानचोक जडीबुटीको भण्डार मानिन्छ । विशेष गरी ढुङखर्क, भुग्देउ, च्यासिङखर्क, चलाल, गणेशस्थान क्षेत्रमा लौठसल्ला, ठिङ्ग्रे सल्ला, विश्वामा, अर्घौली, झ्याउ, सुगन्धवाल, चिराइतो, मजिटो, कुरिलो आदि पाइन्छन् । सो गाउँपालिकाको नाम पनि स्थानीय पर्यटकीय स्थानबाटै राखिएको हो । समुद्री सतहबाट करिब ३ हजार १८ मिटर उचाइमा रहेको बेथानचोक नारायण मन्दिरको नामबाट गाउँपालिकाको नामकरण गरिएको हो । प्राकृतिक सुन्दरताले भरिपूर्ण महाभारत पर्वत शृङ्खलामा पर्ने बेथानचोक गाउँपालिका पर्यटकीय हिसाबले अत्यन्त महत्त्वपूर्ण देखिन्छ ।
आकर्षक पर्यटकीय गन्तव्य रहेको उक्त गाउँपालिकामा पछिल्लो समय पर्यटकीय पूर्वाधार विकासले समेत तीव्रता पाएको छ । गाउँपालिकाका मुख्य पर्यटकीय क्षेत्र भ्रमणमा आउने पर्यटकको सहजताका लागि विश्रामस्थलदेखि पैदलयात्रीको सुविधाका लागि गन्तव्यसम्म आवजावत गर्न सिँढीसमेत निर्माण गरिएको छ । सङ्घीयता कार्यान्वयनपश्चात सो गाउँपालिकाले कृषि र पर्यटनलाई प्राथमिकताका साथ विकासका योजनाहरू अघि सारेको छ ।
गाउँपालिकामा अहिले जीविकोपार्जन पुनः उत्थानका लागि दिगो पर्यटन (एसटीएलआरपी) परियोजनासमेत सञ्चालन गरिएको छ । पर्यटकीय क्षेत्रको विकास गर्ने उद्देश्यसहित नेपाल पर्यटन बोर्डको एसटीएलआरपी परियोजना गाउँपालिकासँगको साझेदारीमा सञ्चालन गरिएको हो । परियोजनाका लागि यूएनडीपीको आर्थिक सहयोग रहेको छ । जसले गाउँपालिका क्षेत्रको पर्यटन प्रवर्धनमा महत्त्वपूर्ण अर्थ राख्छ ।
पर्यटकीय पूर्वाधार निर्माणमा तीव्रता
बेथानचोकको तीन ठाउँमा पर्यटकीय पूर्वाधार निर्माण गरिएका छन् । एसटीएलआरपी परियोजनाअन्तर्गत पालिकाका तीन स्थानमा पर्यटक आकर्षित गर्न पूर्वाधारको निर्माण तथा विकास गरिएको हो । जसअन्तर्गत पर्यटन विश्राम स्थल, तीनतले पर्यटन गन्तव्य निर्माण, ब्राह्मणडाँडा पर्यटकीय गन्तव्य निर्माण कार्यक्रम रहेको छ ।
पिकनिक स्पटका रूपमा रहेको ब्राह्मणडाँडामा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्न विभिन्न भौतिक संरचना निर्माण गरिएको छ ।
यसै गरी जल पर्यटनका लागि आकर्षक गन्तव्य रहेको तीनतले झरनाको प्रवर्धनका लागि गाउँपालिकाले काम गरिरहेको छ । पर्यटन बोर्डको सहकार्यमा तीनतले पर्यटन गन्तव्य निर्माणअन्तर्गत चेन्जिङ रुम, पर्यटकलाई आरम गर्ने ठाउँ निर्माण गरिएको छ भने सो स्थानसम्म सहज रूपमा पुग्न सिँढी निर्माण भएको छ । सोही ठाउँमा तीनतले झरना लेखेको थ्रिडी बोर्ड पनि राख्न योजना रहेको छ ।
आफ्नो सौन्दर्यता, शालीनतापूर्वक प्रदर्शन गरिरहेको उक्त झरनाले आन्तरिक तथा बाह्य पर्यटकलाई लोभ्याउने गरेको छ । बेथानचोक–१ स्थित तीनतले झरना चारैतिर पहाडले घेरिएको रमणीय बस्ती च्याम्राङबेँसीको च्यालम र फाइमराङका बिचमा रहेको छ । हिमाली हावासँगै उत्तरतर्फ लहरमा मिलेर बसेका सेताम्मे हिमाल निकटबाट गुवा भन्ज्याङ अवलोकन गर्दै झरनासम्म पुग्न सकिन्छ ।
झरना स्थलमा थप पूर्वाधारको विकासका लागि बेथानचोक गाउँपालिकाले २० लाख रुपैयाँ खर्च गरेको छ । पर्यटकको सुरक्षा र आकर्षणका लागि गाउँपालिकाले विभिन्न संरचना निर्माण गरेको छ । झरनासम्म पुग्ने सडक मर्मतका लागि गाउँपालिकाले १५ लाख र सङ्घीय सरकारबाट २ करोड रूपैयाँ बजेट विनियोजन भएको छ ।
हाइकिङ गर्ने पर्यटकलाई आकर्षित गर्न बेथानचोक पर्यटन विश्राम स्थलअन्तर्गत काम भइरहेको छ । जिल्लाकै सबैभन्दा आकर्षणको केन्द्र बनेको बेथानचोकको उक्त हाइकिङ रुटमा पर्यटकहरूको सहजताका लागि विश्रामस्थल निर्माण गरिएको छ । हाइकिङ जानेहरूका लागि सो रुटमा दुईवटा ठाउँमा आरम गर्दै केही दृश्यावलोकन गर्न सकिने वातावरण तयार गरिएको छ ।
पर्यटकीय स्थलहरूको व्यवस्थापन र सरसफाइका लागि तीन स्थानमा ३० वटा जति डस्बिन राखिएको छ । पर्यटकको सहजता र गाउँपालिकाको स्थान चिनाउन विभिन्न ठाउँमा साइन पोस्ट पनि राखिएको छ । पर्यटकलाई यात्राको दुरीबारे जानकारी दिन सङ्केतसहितका बोर्ड राखिएको हो ।
सो कार्यक्रमका लागि ३५ लाख ४० हजार रुपैयाँ बजेट खर्चने गाउँपालिकाका भौतिक पूर्वाधार विकास शाखा प्रमुख इन्जिनियर ज्ञानप्रसाद तिमल्सिनाले बताए । एसटीएलआरपीले १५ लाख रुपैयाँ र गाउँपालिकाले २० लाख ४० हजार रुपैयाँ बेहोर्ने सहमतिमा ती कार्य भइरहेको उनले बताए । गत असोजबाट सुरु भएको उक्त परियोजनाको काम अन्तिम चरणमा रहेको उनको भनाइ छ ।
पर्यटकीय संरचना निर्माणपश्चात आन्तरिक तथा बाह्य पर्यटकको सहज हुने गाउँपालिकाको अपेक्षा रहेको छ ।
प्रतिक्रिया