तिला गाउँपालिकाका स्वास्थ्य संस्थामा औषधि अभाव
जुम्ला । तिला गाउँपालिकाका स्वास्थ्य संस्थामा औषधि अभाव भएको छ । गाउँपालिका–२ मा रहेको रारालिही स्वास्थ्य चौकीमा औषधि अभाव भएको स्वास्थ्य चौकी इन्चार्ज कमल रावतले जानकारी दिए ।
नेपाल सरकारले तोकेका प्रायः जसो सबै प्रकारका औषधि स्वास्थ्य चौकीमा अभाव हुन थालेको छ । औषधि अभावबारे स्वास्थ्य संयोजकलाई समेत जानकारी गराएको रारालिही स्वास्थ्य चौकीका इन्चार्ज रावतले बताए ।
सरकारी तवरवाट जाने निःशुल्क औषधिहरु समयमै उपलब्ध नहुँदा तिलाका स्वास्थ्य संस्थामा औषधिको अभाव भएको तिला गाउँपालिका–३ मा रहेको कुडारी स्वास्थ्य चौकीमा प्रमुख विजय रावलले बताए ।
सङ्घीयताको कार्यान्वयनसँगै स्वास्थ्य संस्थाहरुको स्वामित्व र व्यवस्थापनको अधिकारक्षेत्र स्थानीय तहमा गए पनि निःशुल्क बाँड्ने औषधि खरिद तथा बन्दोबस्त गर्ने सवालमा पालिकाले उचित समयमा औषधिको खरिद प्रक्रिया अगाडि बढाउन सकेको छैन ।
प्रमुख प्रशासकीय अधिकृत बारम्बार फेरबदल हुँदा औषधि खरिद बोलपत्रको काम हुन सकेको छैन । पालिका सबै स्वास्थ्य संस्थामा अहिले सिटामल, ब्रोफिनलगायत औषधि अभाव भएको कुडारी स्वास्थ्य चौकीमा प्रमुख रावलले जानकारी दिए । पालिकाले औषधि खरिद गर्न ढिलाइ गर्दा औषधि र सर्जिकल सामग्रीको अभाव देखिन थालेको जनगुनासो आएको छ ।
सरकारले स्वास्थ्य संस्थामा औषधि खरिद गर्न स्थानीय तहमा पठाएको २१ लाखको बजेट अबको एक सातापछि ‘टेन्डर’ प्रक्रियामा गई तिलाका सबै स्वास्थ्य संस्थामा औषधिको अभाव नहुने तिला गाउँपालिका स्वास्थ्य संयोजक हर्क रावतले जानकारी दिए । पालिकाले यो वर्षका लागि जम्मा आठ लाख बजेट स्वास्थ्य शाखालाई विनियोजित गरेको छ ।
“सीमित बजेटको सीमाभित्र भई काम गर्नुपर्ने भएकाले स्वास्थ्य शाखामा देखिएको औषधि अभावलाई हल गर्नका लागि जनस्वास्थ्य सेवा कार्यालय जुम्लाबाट औषधिको माग फाराम भरी स्वास्थ्य संस्थामा औषधि ल्याएको छु” स्वास्थ्य संयोजक रावतले भने, “पालिकाले मलाई स्वास्थ्य संयोजको जिम्मेवारी दिएको एक महिनामात्र भएको छ । स्वास्थ्य संस्थाका पहिलादेखि नै औषधि अभाव रहेछ । अहिले पालिकाभित्रका जम्मा १३ वटा स्वास्थ्य संस्थामा चाहिने औषधिको माग फाराम भरी पठाएको स्वास्थ्य संयोजक रावतको भनाइ छ ।”
प्रशासकीय अधिकृत नहुँदा औषधि खरिदमा ढिलाइ भएको हो । अब पालिकामा प्रशासकीय अधिकृत आइसकेका छन् । औषधि खरिदलगायत अन्य स्वास्थ्य क्षेत्रमा रोकिएका काम अगाडि बढ्ने तिला गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
गाउँपालिका अध्यक्ष मोतिलाल रोकायले स्वास्थ्य संस्थामा देखिएको औषधि अभावलाई छिट्टै समाधान हुन छ । नयाँ प्रमुख प्रशासकीय अधिकृत पालिकामा हाजिरी भइसकेका छन् । रोकिएको औषधि खरिद प्रक्रिया काम अगाडि बढाई पालिकामा सबै स्वास्थ्य संस्थामा सहज रुपमा औषधि उपलब्ध गरिने गाउँपालिका अध्यक्ष रोकायाले जानकारी दिए ।
साधारण रुघाखोकी, ज्वरो तथा घाउचोट लागेका बिरामीलाई समेत उपचार गर्ने औषधि स्वास्थ्य संस्थामा नभएको तिलाका स्थानीयवासि बताउँछन् । स्वास्थ्य संस्थाबाट सहज रुपमा निःशुल्क औषधि लिन सर्वसाधारण वञ्चित भएपछि यहाँका स्थानीयवासी सामाजिक सञ्जालमार्फत विरोध गरेका छन् ।
औषधि खरिद र कर्मचारीको खटनपटनको सही व्यवस्थापन हुन नसक्दा यो समस्या आएको स्वास्थ्य शाखाका कार्यरत कर्मचारी बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आमा समूहले सुरू गरे गर्भवती पोषण नाङ्लो कार्यक्रम
-
‘कोप–२९ मा एनसिक्यूजी कार्यान्वयन प्रक्रिया स्पष्ट भएन’
-
पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना
-
शुभकार्य वा यात्रा गर्दै हुनुहुन्छ ? हेर्नुहोस् आजको राशिफल
-
विदेशी मुद्राको भाउ केही 'तलमाथि', कसको कति ?
-
इटालीको युभेन्टसलाई झट्का