शर्माको नेतृत्वमा कार्यदल गठन, एक सातापछि मनोनयन

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आरके शर्मा पक्षीय अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) को बैठक सोमबार जुम प्रविधिमार्फत सम्पन्न भएको छ ।
नयाँ वर्ष २०२४ को अवसरमा शुभकामना आदानप्रदानका साथ भएको बैठकमा विभिन्न विषयमा छलफल र निर्णय भएको छ । जसअनुसार परराष्ट्र मन्त्रालयसँग सहकार्य गर्दै संस्थाको गतिविधिलाई तीव्रता दिने निर्णय भएको छ ।
यस्तै आईसीसी सदस्य, सल्लाहकार लगायतको मनोनयनको विषयमा बैठकले थप छलफल र परामर्शको आधारमा टुंगो लगाउने निर्णय गरेको छ ।
अध्यक्ष आरके शर्माले धेरै अग्रज र एनआरएनए अभियन्ताहरू आकांक्षी देखिएकाले थप अध्ययन गर्नका लागि एक साता समय लिइएको बताए । उनका अनुसार मनोनयनका लागि विश्वभरबाट अभियन्ताहरूको आकांक्षा तीव्र छ । सबैलाई समेटेर जानका लागि एउटा कार्यदल गठन गरिएको र कार्यदलले एक साताभित्रमा सबै टुंगो लगाएर मनोनीतको सूची सार्वजनिक गर्ने उनको भनाइ छ । ‘संस्थालाई अझ चलायमान बनाउन थप छलफल र तयारी गर्नुपर्ने देखिएकाले अध्यक्षको नेतृत्वमा उपाध्यक्ष र महासचिवसहितको एउटा कार्यदल बनाइएको छ । कार्यदलले कार्यविधि सहित तयार गरेर एक साताभित्र मनोनीत हुनेहरुको सूची टुंगो लगाउने बैठकबाट निर्णय भएको छ', उनले भने ।
विधानअनुसार २१ जना आईसीसी सदस्य र २१ जना सल्लाहकार र मानार्थ सदस्य ५१ जना मनोनीत हुने उपाध्यक्ष गंगाधर गौतमले बताए ।
यस्तै बैठकले विभिन्न टास्कफोर्स गठन गर्ने निर्णय पनि गरेको छ । विज्ञहरुको सहभागितामा हुने उक्त टास्कफोर्समा अर्थविद्, निर्माणविद, श्रमविद्लगायतको सहभागिता रहने र देश विकासका लागि उक्त टाक्सफोर्समार्फत सबै पक्षसँग सहकार्य गर्ने निर्णय भएको अध्यक्ष शर्माले बताए ।
साथसाथै गैरआवासीय नागरिकताका सम्बन्धमा कतिपय व्यवहारिक असहजता देखिएकाले यस विषयमा सहजीकरणका लागि अध्यक्षको नेतृत्वमा गृहमन्त्री र परराष्ट्रमन्त्रीलाई भेटेर ध्यानाकर्षण गराउने निर्णय भएको छ । त्यसका लागि यसैसाता पूर्वअध्यक्ष कुल आचार्य, अध्यक्ष शर्मालगायतका शीर्ष अभियन्ताहरू काठमाडौँ आउने बताइएको छ । यस्तै सामाजिक सुरक्षा कोषलाई सशक्त बनाउनका लागि श्रम मन्त्रीलाई थप पहल गर्नेबारेमा पनि बैठकले निर्णय गरेको छ ।
बैठकले विदेशमा कार्यरत नेपालीका कैयन समस्याहरु रहेकाले ती समस्याको समाधानका लागि सम्पूर्ण विदेशमा रहेका दूतावास, एनसीसी, वैचारिक र राजनीतिक संघसंस्था परिचालन गरेर सचेतनता कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको छ । त्यसका लागि नेपालमा श्रम र परराष्ट्र मन्त्रालयसँग पनि सहकार्य गर्नका लागि ध्यानाकर्षण गराउने निर्णय भएको छ ।
यसैगरी प्रवक्तामा नारायण सुवेदी मनोनीत भएका छन् । यसबाहेक बैठकमा हालसम्म भएका कामहरूको समीक्षा गरिएको थियो भने सहभागीहरूले विभिन्न कठिनाइका बीच उल्लेख्य काम भएको भन्दै नेतृत्व र पदाधिकारीलाई धन्यवाद दिएका थिए । अध्यक्षको सक्रियतामा १० करोडको राहत तथा उद्धार कोष निर्माणका साथै जाजरकोट भूकम्प प्रभावित क्षेत्रमा राहत वितरण गरेर प्रशंसनीय काम भएको सहभागीको धारणा थियो ।
बैठकमा पूर्वअध्यक्षद्वय कुल आचार्य र रविना थापाका साथै अध्यक्षका प्रत्याशी महेश श्रेष्ठलसमेतको सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काभ्रेका ९५ प्रतिशत बालिकाले लगाए ‘एचपीभी’ खोप
-
१० जना प्रहरीको नाममा प्रधान कार्यालयले निकाल्यो सूचना
-
शान्ति सुरक्षा भङ्ग हुनसक्ने परिस्थिति उत्पन्न भएको भन्दै ताप्लेजुङमा कर्फ्यु
-
च्याम्पियन्स ट्रफी : इंग्ल्याण्डविरुद्ध अस्ट्रेलियाको कीर्तिमानी जित
-
दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
आगलागीका घटना न्यूनीकरण गर्न शुक्लाफाँटामा सचेतना