अङ्क ज्योतिषीय विश्लेषणमा सन् २०२४
ज्योतिषस्य बीजम् गणितम्, अङ्क ददाति तत्फलम् । अर्थात् ज्योतिष विधाको मूल या जड् भनेको गणित हो । यो शास्त्र अङ्कहरूकै अध्ययनमा आधारित छ । ज्योतिषीय क्षेत्रमा संसारमा विद्यमान विधामध्ये अङ्कशास्त्र या अङ्क ज्योतिष पनि एउटा महत्त्वपूर्ण विधा हो । वैदिक ज्योतिषमा ग्रह नक्षत्र र ताराहरूको गणना गरी फल निर्धारण गरिएजस्तै पाश्चात्य क्षेत्रमा अङ्क ज्योतिषले स्थान ओगटेको पाइन्छ । भनिन्छ, संसारको सुरुवात अङ्कबाट भएको हो । काललाई समय भनिन्छ र जहिलेदेखि समय सुरु भयो तबदेखि अङ्कको सुरुवात भयो । गणना नै ज्योतिष भएकाले अङ्क र ज्योतिषको सम्बन्ध महत्त्वपूर्ण छ । जसरी अङ्कको सुरुवात शून्यबाट हुन्छ, त्यसरी ब्रह्माण्डको सुरुवात पनि शून्यबाट हुन्छ । पदार्थ पनि शून्यबाट विशाल हुन्छ । पदार्थ निर्माण हुने तत्त्वलाई पाँच भागमा विभाजित गरिएको छ ।
पृथ्वी, जल, अग्नि, वायु, आकाशरूपी तत्त्व नै समग्र सृष्टिको स्वरूप मानिएको छ । वैदिक ज्योतिषमा नौ ग्रह स्थापित छन् भने यसको त्रिगुणित २७ नक्षत्र व्यवस्थित छन् । नक्षत्रलाई चार गुणा गरी प्रत्येक नक्षत्रलाई जम्मा १०८ संख्यामा व्यवस्थित गरिएको छ । समग्र अङ्कको जोड १०८ कायम गरिएको छ । आजबाट इस्वी सन् २०२४ सुरु भएको छ । यो अङ्क विश्वभरका मानिसले प्रयोग गर्ने अङ्क हो । यसको प्रयोगसँगै प्रभाव पनि विश्वभर अर्थात् समग्र जगत्, मानिस तथा प्रकृतिमा देखिनेछ । अङ्कका आधारमा हेर्दा कस्तो रहला त २०२४ ? भन्ने विषयमा सामान्य चर्चा सान्दर्भिक हुन सक्छ ।
सन् २०२४ अङ्कका हिसाबले हेर्दा मूलाङ्क ६ हो । अङ्कशास्त्रमा १ देखि ९ अङ्कसम्म मूलाङ्क निकालिन्छ । वर्षको अन्तिम अङ्कको जोड ६ आउँछ । नव ग्रहहरूको पद्धतिजस्तै पाश्चात्य अङ्कशास्त्री किरोले नौ अङ्कलाई फरक–फरक ग्रहरूको रूपमा विश्लेषण गरी भविष्यवाणी गरेको पाइन्छ । अङ्क ६ शुक्र ग्रहको प्रतिनिधि अङ्क हो । यसले शुक्रग्रहजनित फल प्रदान गर्छ भनिएको छ । अङ्कका हिसाबले दुई अङ्क चन्द्रमाको अङ्क हो भने ४ अङ्क राहु ग्रहलाई प्रतिनिधित्व गर्ने अङ्क हो । अङ्कशास्त्रका अनुसार, १ सूर्य, २ चन्द्र, ३ गुरु, ४ राहु, ५ बुध, ६ शुक्र, ७ केतु, ८ शनि र ९ मङ्गलको प्रतिनिधि अङ्क हुन् । सन् २०२४ मा अङ्कशास्त्रीय मान्यताका आधारमा चन्द्रमा, राहु र शुक्रको प्रधान भूमिका रहनेछ । तर, संयुक्त अङ्कको योग ८ आउने हुनाले ८ अङ्क शनि ग्रहको अङ्क हो । तसर्थ चन्द्र, चन्द्र, राहु, शुक्र र शनि ग्रहले यो वर्ष महत्त्वपूर्ण भूमिका खेल्नेछन् ।
ग्रह र अङ्कको तालमेलसँग व्यक्तिको मूलाङ्क, नामाङ्क, भाग्याङ्क आदिका आधारमा पनि हिसाब र फल तय गरिने भएकाले यो व्यक्तिगत विषय नभई समग्रताको चर्चा हो । देश, काल र पात्रका आधारमा प्रभाव फरक–फरक रहन्छ । अङ्कशास्त्रले अंग्रेजी वर्णमालाका अक्षरलाई पनि नौ अङ्कमा सूत्रबद्ध गरी फल निर्णय गरेको छ । त्यसैले फरक–फरक नाम भएका देशलाई फरक–फरक प्रभाव पर्नु स्वाभाविक छ । समग्रमा २०२४ अङ्कका आधारले मात्र हेर्दा यो वर्षलाई ६ अङ्कको नेतृत्व र ८ अङ्कको फल भन्न सकिन्छ । शुक्र शासक ग्रह हो भने शनि प्रतिफलको निर्णायक मान्न सकिन्छ । राहु र चन्द्रमालाई कारक ग्रहका रूपमा लिन सकिन्छ । ६ र ८ अङ्कले यो वर्षको समग्र निर्णय गर्ने भएकाले यी अङ्कसँग देश, काल, पात्रको सम्बन्ध जस्तो छ त्यस्तै फल प्राप्त हुनेछ ।
अङ्कशास्त्रमा देश, काल र पात्रको आफ्नै मूलाङ्क तय हुन्छ । खासगरी पात्रको विषयमा उसको जन्म तारिखको एकल अङ्क मूलाङ्क हुन्छ । १ देखि ९ सम्म जुन अङ्क एकल अङ्क हुन्छ, त्यही मूलाङ्क हुन्छ । वर्ष अङ्क ६ र समग्र अङ्क ८ सँग जसजसको मित्राङ्क बन्छ, उसका लागि सकारात्मक फलदायी रहन्छ भने शत्रु अङ्क बन्नेहरूका लागि अशुभ फलदायी हुन्छ । सामान्य आधारमा हेर्दा वर्ष अङ्क ६ मूलाङ्क ३, ७ र ९ का लागि अति शुभ हुनेछ भने २, ४ र ५ मूलाङ्क हुनेहरूका लागि सामान्य शुभ रहनेछ । तर, मूलाङ्क १ र ८ लागि अशुभ हुनेछ । त्यसरी नै अङ्क ८ मूलाङ्क १ र ४ हुनेहरूका लागि अति शुभ र मूलाङ्क २, ५, ७ र ९ हुनेहरूका लागि सामान्य शुभ रहनेछ भने ३ र ६ मूलाङ्क हुनेहरूका लागि अशुभ रहनेछ । सन् २०२४ मा प्रयोग भएका अङ्क २, ४ यसको योग ६ र सबै अङ्कको योग ८ अङ्कको आधारमा केही महत्त्वपूर्ण चर्चा गर्नु सान्दर्भिक रहने छ ।
यो अङ्क चन्द्रमाको अङ्क हो । तत्त्वका हिसाबले चन्द्रमा जल हो । यो वर्ष दुई अङ्क दुईपटक दोहोरिएको छ । चन्द्रमा मनको कारक हो । यसले मानसिक अवस्थाको प्रतिनिधित्व गर्छ । यो समयमा मानसिक कार्यहरूले अग्रस्थान लिनेछ । कल्पना र कल्पनाका आधारमा गरिने सिर्जनाहरू सकारात्मक हुनेछन् । कलाका क्षेत्रमा सकारात्मक विकास भएको पाइनेछ । दुई अङ्कको संयोजन भएका बेला चन्द्रमासँग सम्बन्धित फलहरू प्राप्त हुनेछ । असार महिना पृथ्वी जलबाट विशेष प्रभावित बन्नेछ । देश, काल र पात्रको मूलाङ्कका आधारमा भने सकारात्मक या नकारात्मक प्रभाव रहनेछ । जब–जब दुई अङ्कको संयोग अधिक हुनेछ, तब तब चन्द्रमाको प्रभाव अधिक रहनेछ । विश्व परिवेशमा भौतिक शक्तिभन्दा काल्पनिक शक्तिले बढी प्रभाव जमाउनेछ । उत्तरी, उत्तर पूर्वी र पश्चिमी क्षेत्र यो वर्ष चन्द्रमाको सकारात्मक प्रभावमा रहनेछ ।
- अङ्क ४
यो राहुको अङ्क हो । राहु ग्रह अत्यन्तै बलवान ग्रह हो । चन्द्रमाको कल्पनाशीलतालाई राहुले परिणाममा सहजै परिणत गर्न सक्छ । यो आकस्मिक घटनाको कारक पनि हो । कुनै पनि विनाकारण या पूर्वतयारी विनाका महत्त्वपूर्ण घटनाहरू राहुले सिर्जना गर्न सक्छ । यो वर्ष त्यस्ता महत्त्वपूर्ण घटनाहरू सार्वजनिक हुनेछन्, जसले विश्वमा तहल्का मच्चाउन क्षमता राख्नेछ । अभौतिकताको कारक ग्रह भएकाले प्रविधिको क्षेत्र यो वर्ष विशेष रहनेछ । राज्यको कारक सूर्यलाई पनि नियन्त्रण गर्न सक्ने क्षमता भएकाले राहुले यो वर्ष विश्वका विभिन्न राज्यमा विशेष परिवर्तन गराउनेछ । धेरै राष्ट्रहरूमा पुरानो प्रथा या पद्धति फेरिएर नयाँ व्यवस्थाको सुरुवातको कोसिस हुनेछ । अङ्क ४ मूलाङ्क हुनेहरूको जीवनमा अत्यन्तै सकारात्मक परिवर्तनको सम्भावना छ । यो वर्ष आपराधिक क्षेत्रमा धेरै उथलपुथल हुने सम्भावना छ । धेरैका गोप्य कार्यहरू भण्डाफोर हुनेछन् भने प्रविधिका माध्यमबाट गिरोहहरूको तथ्य सार्वजनिक हुनेछ । जसले समाजमा सकारात्मक संदेश जानेछ । श्रावण महिना र अन्य दिन अङ्क ४ को संयोगमा धेरै रहस्यात्मक गतिविधि पर्दाफास भएको पाइनेछ ।
- अङ्क ६
यो शुक्र ग्रहको अङ्क हो । शुक्र भौतिकताको ग्रह हो । समृद्धि र सम्पदाको ग्रह हो । यस वर्ष अङ्क ६ को विशेष भूमिका रहने भएकाले सत्ता, शक्ति र सेक्सका क्षेत्रमा यो वर्ष विशेष रहनेछ । दैत्य गुरु शुक्रको प्रभावका कारण आर्थिक क्षेत्रमा सकारात्मकता हुने सम्भावना अधिक छ, तर अवैधानिक कार्यहरू पनि उत्तिकै मौलाउने देखिन्छ । जसरी हुन्छ सुखसयल, मोज मस्ती र आर्थिक लाभ लिनेहरूको वर्चस्व रहनेछ । आर्थिक लाभका लागि होटल, नाइट क्लब, जुवाघर, वेश्यालयहरू चर्चामा रहनेछन् । लामो समयदेखि विवाह नभएकाहरू पनि यो वर्ष वैवाहिक या अन्य सम्बन्धमा जोडिनेछन् । भौतिक विकास, रासलिला, मनोरञ्जन जस्ता क्षेत्रको चकचकी हुनेछ ।
- अङ्क ८
यो शनि ग्रहको अङ्क हो । शनि ग्रह न्याय र संघर्षको कारक ग्रह हो । चन्द्रमा, राहु र शुक्रका प्रभावहरूको न्यायिक मूल्याङ्कन गर्ने जिम्मा शनि ग्रहले लिएको छ । यो वर्ष अवैध कार्यहरू जति मौलाए पनि अन्ततः त्यसको सजाय भोग्नैपर्ने छ । शनिले आपराधिक क्षेत्रको बोलवाला कम गर्न सघाउनेछन् । यो वर्ष न्यायिक क्षेत्रमा विशेष प्रभाव रहनेछ । रेल, जहाज सवारी साधनका क्षेत्रका घटनाहरू अधिक चर्चामा रहनेछन् । स्थापित अपराधीहरूको यो वर्ष पतनको सम्भावना नकार्न सकिन्न । राजनीतिक नेतृत्वमा उदासिनता आउनेछ । उनीहरूको गलत कार्यको पर्दाफास हुनेछ । स्थापित नेताहरू सजायका भागिदार बन्नेछन् । समग्रमा २०२४ ले आशाको सकारात्मक दियो बाल्न सफल हुनेछ भन्ने अपेक्षा राख्न सकिन्छ । सबैमा शुभकामना ।
(लेखक दक्षिण एसियाली ज्योतिष महासंघका कार्यवाहक महासचिव हुन् ।)