फर्केर हेर्दा सन् २०२३ : एआईको वर्ष, प्रविधिको क्षेत्रमा के-के भए ?
काठमाडौँ । २०२३ ले बिदा लिएको छ । अङ्ग्रेजी क्यालेन्डर अनुसार नयाँ वर्ष २०२४ को आगमन भइसकेको छ ।
वर्ष २०२३ मा प्रविधिको क्षेत्रमा मानव सभ्यतामा कायापलट गर्ने घटना खासै भएनन् । यस वर्ष प्रविधि क्षेत्रको खर्च ४४ खर्ब डलरमा उक्लियो । यो अघिल्लो वर्षको भन्दा ५ प्रतिशत धेरै थियो । रकमको सबैभन्दा ठुलो हिस्सा फाइभजीको क्षेत्रमा खर्च भएको छ । अहिलेको लागि कृत्रिम बौद्धिकताको उपस्थिति कम देखिए पनि आगामी ७ वर्षमा यो १३ गुणा बढ्ने अनुमान गरिएको छ ।
अमेरिकामा स्टार्ट–अप कम्पनीहरूलाई ऋण दिने बैंकहरू एकपछि अर्को गर्दै धराशायी बने । प्रविधि क्षेत्रका व्यापक कर्मचारी कामबाट निकालिए । भारतको अन्तरिक्ष अन्वेषणले पनि चर्चा बटुल्यो । क्रिप्टोकरेन्सी विनिमय मञ्च एफटीएक्सको पतन अनि घोटालाको प्रभाव क्रिप्टो बजारमा पोखिए । यी घटनाले १४ वर्षदेखिको क्रिप्टोकरेन्सीको अस्तित्वलाई धमिलो बनाइदियो ।
टिकटकमाथि शृङ्खलाबद्ध रुपमा प्रतिबन्ध लाग्यो । अनि ओपन एआईमा सीईओ बर्खास्त र पुनःबहालीले पनि प्रविधि क्षेत्रलाई केही समय तरङ्गित बनाइरह्यो ।
यो वर्ष प्रविधि क्षेत्रमा सबैभन्दा चासोको विषय जेनरेटिभ कृत्रिम बौद्धिकता (एआई)को प्रयोगका असर र यसले मानवीय सभ्यता नै सिध्याउने भविष्यवाणी रह्यो । हलिउडमा लेखक र कलाकारहरुले महिनौँसम्म हड्ताल गरेर फिल्मको प्रोडक्शन ठप्प पार्नुको कारण पनि एआई नै थियो ।
एआईका जन्मदाताहरूले नै यसको दुरुपयोगले मानवीय अस्तित्व धरापमा परेको अभिव्यक्ति दिए । भारतमा एआईको दुरुपयोग गरेर केही चर्चित अभिनेत्रीको नक्कली भिडियो र फोटो भाइरल बनाइयो । यो वर्ष भारत चन्द्रमामा पुग्यो । चन्द्रयान–३ ले चन्द्रमाको दक्षिण ध्रुवमा टेक्यो । यो ठाउँमा यसअघि कुनै अन्तरिक्ष यान पुगेको थिएन ।
यो वर्ष प्रविधि क्षेत्रका केही मुख्य घटनाक्रम यस प्रकार छन्
प्रविधि क्षेत्रमा व्यापक कर्मचारी कटौती
प्राविधिक कम्पनीहरूमा कर्मचारीलाई निकालिनु अनि राखिनु नयाँ कुरा होइन । सन् २०२२ मै यस उद्योगभर कर्मचारी कटौतीको प्रवृत्ति देखिएको थियो । तर सन् २०२३ मा कटौतीको क्रमले अघिल्लो वर्षलाई पनि उछिन्यो ।
सन् २०२३ को नोभेम्बरसम्ममा यस क्षेत्रबाट विश्वभर नै २ लाख ४० हजारभन्दा धेरै कर्मचारी निकालिएका छन् । यो अघिल्लो वर्षको भन्दा ५० प्रतिशत धेरै हो । साना स्टार्ट–अपहरूले मात्रै होइन, माइक्रोसफ्ट, मेटाजस्ता प्रतिष्ठित कम्पनीहरुले पनि हजारौँ कर्मचारीलाई कामबाट निकाले । खर्च कम गर्न र मुनाफालाई बढाउने यस नीतिका कारण वर्षभरि कयौँ कम्पनीको सेयर मूल्य भने बढे ।
सिलिकन भ्याली बैंक फेलियर
मार्चको सुरुमा सिलिकन भ्याली बैंक (एसभीबी) करिब डेढ दशकभित्र धराशायी बन्ने पहिलो ठुलो अमेरिकी बैंक बन्यो । एसभीबीको अवसानपछि अन्य दुई बैंक सिग्नेचर र फस्ट रिपब्लिक पनि वर्षको सुरुतिर ढले । अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले धमाधम ब्याजदर बढाएर कर्जाको आपूर्ति कसिलो पारेको बेलामा कयौँ प्रविधि कम्पनी र भेञ्चर क्यापिटल फर्मका लागि एसभीबी वित्तीय सहायताको मुख्य स्रोत बनेको थियो । बैंक फेलियरको घटनापछि कयौं स्टार्ट–अपहरूलाई पुँजीको स्रोत जुटाउनै हम्मेहम्मे भयो । कतिले त तलबसमेत खुवाउन सकेनन् ।
एफटीएक्सको पतन
परम्परागत बैंकहरू धराशायी बनेको घटनाको असर २०२३ मा कयौँ प्रविधि कम्पनीमा पोखियो । तर २०२२ को अन्त्यमा क्रिप्टो एक्सचेञ्ज एफटीएक्स धराशायी हुनु र यसले क्रिप्टो बजारमा पारेको प्रभाव पनि यस वर्षको मुख्य घटनाको रुपमा रह्यो । एफटीएक्सका संस्थापक स्याम बैंकम्यान फ्रायडले यो वर्ष एक्सचेञ्जको पतनमा आफ्नो भूमिकालाई लिएर मुद्दा मामिलामै बिताए । मुद्दाको फैसला सुनाउँदै न्यायाधीशहरूले उनीमाथि धोकाधडी र जालसाजीका ७ अभियोगमा दोषी ठहर गरे । उनको जेल सजाय भने सन् २०२४ को मार्चदेखि लागु हुने अपेक्षा गरिएको छ । यस मामिलामा स्याम बैंकम्यान फ्रायडले बढीमा सय वर्षको जेल सजाय पाउनेछन् ।
टिकटकमाथिको प्रतिबन्ध
२०२३ भर शर्ट भिडियो सेयरिङ एप टिकटक सञ्चारमाध्यममा खबर बनेर छाइरह्यो । सर्वसाधारणमाझ निकै लोकप्रिय यो एपमा पहुँच सीमित बनाउन अमेरिका, यूरोप र क्यानडाले निकै प्रयास गरे । यसको तर्क चाहिँ टिकटकको माउ कम्पनी बाइटडान्सलाई सम्भावित सुरक्षा खतराको रुपमा देखाए । एपमाथि कडाइ गर्ने क्रम जारी रहँदा टिकटकका प्रमुख कार्यकारी अधिकारी शोउ चिउले मार्चमा अमेरिकाको प्रतिनिधि सभामा बयान नै दिनु प-यो । नोभेम्बरको अन्त्यतिर केही सरकारी र कलेज क्याम्पसका स्मार्टफोनमा टिकटक डाउनलोड गर्न प्रतिबन्ध लगाइयो । तर अमेरिकामा सर्वसाधारणले अहिले पनि टिकटक मज्जाले चलाइरहेका छन् । टिकटकमाथि पूरै प्रतिबन्ध नै लाग्ने हो कि भन्ने भयले सामाजिक सञ्जाल तरङ्गित भइरह्यो । यसबिच मेटाको रिलजस्ता प्रतिस्पर्धीहरूको बजार हिस्सामा बढोत्तरी भयो ।
ओपन एआईमा सीईओ काण्ड
नोभेम्बरमा जेनरेटिभ च्याटबोट च्याटजीपीटी बनाउने कम्पनी ओपनएआईको सञ्चालक समितिले कम्पनीका प्रमुख कार्यकारी अधिकारी (सीईओ) र सह–संस्थापक स्याम अल्टम्यानलाई एक्कासी बर्खास्त गरिदियो । केही दिनपछि अल्टम्यान माइक्रोसफ्ट गए । ओपनएआईमा माइक्रोसफ्टको १३ अर्ब डलर लगानी थियो । तर लगत्तै ओपनएआईले अल्टम्यानलाई सीईओको रुपमा फर्कायो । उनी आउनु अघि कम्पनीको पुरानो सञ्चालक समिति खारेज भएर नयाँ समिति बन्यो । ओपनएआई अहिले एआई उद्योगमा मुख्य खेलाडी हो । सीईओ बर्खास्तको घटना र त्यसपछि उत्पन्न परिस्थितिले आगामी वर्ष पनि प्रविधि क्षेत्रको समाचारमा दबदबा बनाउने देखिन्छ ।
एआईको गडफादरको अभिव्यक्ति
कृत्रिम बौद्धिकताले मानव अस्तित्व खतरामा पार्ने विषयमा एक दशकभन्दा बढी समयदेखि बहस भइरहेको छ । केही वर्ष अघि एआईका कारण उत्पन्न जोखिमबारे नगरिएको प्रश्नहरु अहिले उठिरहेका छन् । सुपर इन्टेलिजेन्स पुस्तकका लेखक निक बोष्ट्रम, मानव मस्तिष्कमा चिप राख्ने काम गरिरहेको अमेरिकी कम्पनी न्यूरालिङ्कका मालिक एलन मस्कलगायतले एआईले मानव जगतमा खतरा उत्पन्न गराएको अभिव्यक्ति दिएका थिए ।
एआईको वर्ष
ओपनएआईले च्याटजीपीटी निकालेको एक वर्षभन्दा अलि धेरै भयो । त्यसपछि माइक्रोसफ्टले बिङ्ग च्याटबोट ल्यायो, गुगलको बार्ड, मेटाको मेटा एआई, एक्सको ग्रोकसूची लम्बिने क्रम जारी छ । एआईका यी मोडलहरुले हामीले देखिरहेको संसार निकै फेरिदिएको छ । क्यान्सर जस्ता रोगको पहिचानमा सहयोग मिलेको छ । प्रविधिको प्रयोग गरेर हुने कामको प्रभावकारितामा सुधार आएको छ । सुरक्षाको चिन्ता बढिरहँदा सर्वसाधारणमाझ यसबारे नकारात्मक धारणा बढिरहेको छ । एआईले मान्छेको जागिर खोसिदिन्छ भन्ने भविष्यवाणी आइरहेकै समयमा प्रविधि क्षेत्रमा व्यापक कर्मचारी कटौती हुनुले भय झनै चुलियो ।
यो वर्ष आइफोन कम्पनी एप्पल भीआर बजारमा छि-यो । एलन मस्कले एक्स (ट्विटर)मा व्यापक उथलपुथल मच्चाए । कुनै बेला अमेरिकाको सबैभन्दा मूल्यवान स्टार्टअपको रुपमा रहेको स्पेश सेयरिङ कम्पनी विवर्क टाट पल्टिएर अदालती संरक्षणमै गयो । प्रविधि कम्पनीहरुमाथि एक पछि अर्को गर्दै मुद्दा परे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेको आन्दोलनका क्रममा नगर प्रहरीको गुप्ताङ्गमा प्रहार, अस्पताल लगियो
-
खुले सरकारी कार्यालय, आजदेखि ४ बजे नै बन्द हुने
-
रवि लामिछानेलाई थप १० दिन हिरासतमा राख्न अनुमति
-
ऐनविपरीत दूरसञ्चार नियमावली संशोधन
-
रविको नाममा रास्वपालाई बलि नचढाऊ !
-
भ्लगर रतन कार्की प्रहरीको उच्च निगरानीमा, नेपाल ल्याउन इन्टरपोललाई पत्र लेखिँदै