मङ्गलबार, ०९ पुस २०८१
ताजा लोकप्रिय

४७ वर्षपछि बीपीको मेलमिलाप दिवसको औचित्य कति ?

सोमबार, १६ पुस २०८०, १२ : ४२
सोमबार, १६ पुस २०८०

नेपालको लोकतान्त्रिक आन्दोलनले कोल्टे फेरेको महत्त्वपूर्ण ऐतिहासिक सन्दर्भको सम्झना गर्दा हामी २०३३ साल पुस १६ गतेसम्म पुग्ने गर्छौंं । आठ वर्ष लामो भारत निर्वासन त्यागेर नेपाली कांग्रेसका मूर्धन्य नेताहरू स्वदेश फर्केको दिन थियो त्यो । 

एकातिर तत्कालीन सरकारले आफूमाथि आठवटा खतरनाक मुद्दा लागाइरहेको, अर्काेतर्फ तिनै नेताहरू मेलमिलापको प्रस्ताव लिएर निर्धक्क स्वदेश फर्किरहेका थिए । जननायक बीपी कोइराला, नेता गणेशमान सिंहलगायतका नेताको यही कदमको सम्झनामा नेपाली कांग्रेसले पुस १६ गते मेलमिलाप दिवस मनाउँदै छ ।

के हो मेलमिलाप दिवस ? 

विसं २०१७ पुस १ गते तत्कालीन राजा महेन्द्रले ‘कू’ गर्दै शासन सत्ता मात्र आफ्नो हातमा लिएका थिएनन्, तत्कालीन प्रधानमन्त्री बीपी कोइराला लगायतलाई जेल हाले । बहुदलीय प्रजातान्त्रिक व्यवस्था विघटन गरी राजनीतिक दलमाथि प्रतिबन्ध लगाए । नेताहरूमाथि देशद्रोहको मुद्दा लगाए ।

करिब ८ वर्षसम्म नेताहरू जेलमै रहनुप¥यो । २०२५ साल कात्तिक १४ गते आएर मात्र बीपी कोइराला लगायतका नेता जेलमुक्त भए । यद्यपि जेलमुक्त भएपछि पनि नेताहरू भारतमा निर्वासन जीवन बिताउन बाध्य हुनुप¥यो ।

यता देशमा भने उथलपुथल भइरहेको थियो । साहस गरेर बीपी कोइराला, गणेशमान सिंह, शैलजा आचार्य, खुमबहादुर खड्कालगायतका नेताहरू सबै राजनीतिक दल र राजसंस्था मिलेर अघि बढ्नुपर्ने भन्दै मेलमिलापको प्रस्ताव लिएर स्वदेश फर्किए । जबकि नेताहरूमथि मृत्युदण्डको मुद्दा लगाइएको थियो । आफूलाई लागेको मृत्युदण्डको सजायको बेवास्ता गर्दै मुलुकको सार्वभौमसत्ता रक्षा गर्न जनताकै बिचमा रहनु पर्दछ भन्ने सोचका साथ उनीहरू भारतको निर्वासित जीवन त्यागेर स्वदेश फर्किएका थिए ।

त्यसैले यो दिनलाई मुलुकमा रहेका राजनीतिक शक्तिहरू बिचमा मुलुकको बृहत्तर हितका लागि एकताबद्ध रूपमा अगाडि जाने परिवेश निर्माण गर्ने गरी अगाडि बढाउन सकिन्छ । विशेष गरी बीपी कोइरालाको त्यो साहसलाई केवल भाषणमा मात्र सम्झना नगरेर सही रूपमा व्यवहारमा उतार्ने गरी सोच्न आजको नेतृत्वले आवश्यक छ ।

तर बीपीका अनुयायी दाबी गर्नेहरूले नै उनका आदर्शहरू व्यवहारमा लागु गर्न नसक्नु ठुलो कमजोरी हो । उनले त जीवनभर सङ्घर्ष, आन्दोलन र द्वन्द्वबाट गुज्रिनु प¥यो । आजीवन प्रजातन्त्र र राष्ट्रियताका लागि लडे । राजनीतिमा पनि समाजवादी र व्यवहारवादी थिए । राणा र पञ्चायती शासकको उत्पीडनलाई सहन गरेरै प्रजातन्त्र–प्रजातन्त्र भनिरहे । नागरिकको स्वतन्त्रताका लागि लडिरहे । सबैभन्दा ठुलो त, मृत्युदण्डको सजायलाई बेवास्ता गरेर मेलमिलापको प्रस्ताव लिएर स्वदेश फर्किएको स्मरण त हामीले माथि नै गरिसक्यौँ । 

कोइरालाले प्रजातन्त्र र आर्थिक उन्नतिका लागि समाजवादका नाममा अघि सारेको त्यस बेलाको दृष्टिकोण अहिले पनि उत्तिकै सान्दर्भिक मानिन्छ । राष्ट्रियता, प्रजातन्त्र र आर्थिक समृद्धि ‘राष्ट्रिय एकता तथा मेलमिलाप’ बाट मात्रै सुनिश्चित हुने भन्दै ४४ वर्षअघि अवलम्बन गरेको नीति सान्दर्भिक रहेको हाम्रै अग्रज नेताहरूले पनि बताउँदै आउनुभएको छ । 

हुन पनि अहिलेको आर्थिक सङ्कट होस् या अन्य राजनीतिक सङ्क्रमण, यसबाट मुक्त दिलाउन पुनः राजनीतिक दलहरूका बिचमा राष्ट्रिय मुद्दामा मेलमिलाप आवश्यक देखिन्छ । यो प्रतिकूल राजनीतिक परिस्थितिमा मेलमिलापको नीति अबलम्बन गर्नु थप टड्कारो देखिन्छ ।

हामीलाई संविधानको सफल कार्यान्वयन गर्नु छ । सुदृढ अर्थतन्त्रको निर्माण गर्दै हामी जनताले परिवर्तन गरेर ल्याएको व्यवस्थाको औचित्य पुष्टि गर्नु छ । जसलाई पूरा गर्न शीर्ष तहमा मेलमिलापको विकल्प छैन । तर यहाँ सत्ता भागको मेलमिलापको कुरा हैन, आफ्नो स्वार्थलाई त्यागेर देशको विकासका लागि एकजुट हुनुपर्ने सन्दर्भ मैले जोड्न खोजेको हुँ । जसका लागि राष्ट्रिय रूपमा र अन्तर पार्टी विवादलाई अन्त्य गर्न जरुरी छ । 

उदाहरणका लागि हरेक समय देशमा भएका ठुलाठुला परिवर्तनलाई हामीले हेर्न सक्छौँ । २०४६ सालमा मेलमिलापकै कारण गणेशमान सिंहको नेतृत्वमा कम्युनिस्ट पार्टीहरूसमेत सहभागी भएर जनआन्दोलन सफल भयो । पछिल्लो समय २०७२ सालमा कांग्रेसको नेतृत्वमा संविधान जारी हुँदा पनि दलहरूका बिचमा बलियो एकता देखिएको थियो । यसले जब सकारात्मक कामका लागि पनि दलहरू एकजुट हुन्छन् । त्यसबेला देशमा ठुलै परिवर्तन आएको देख्न सकिन्छ । जुन उदाहरण हामी राजनीतिमा सक्रिय रहेकाहरूका लागि प्ररणादायी हो । 

तर नेपाली कांग्रेस र उसका भ्रातृसंस्थाहरूले पुस १६ गते ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’ मनाएर कर्मकाण्डी औपचारिकता निभाउँदैमा समस्या समाधान हुँदैनन् । यसका लागि दृढ अठोट र सङ्कल्प चाहिन्छ, जुन कुरा आजका राजनीतिकर्मीमा चरम अभाव छ ।

बीपीले भनेका थिए, ‘राजासँगको जो हाम्रो सङ्घर्ष छ, त्यसलाई सीमाङ्कन गरौँ । एउटा परिधि बनाऔँ । त्यस परिधिभित्र त्यस सङ्घर्ष, विवाद र झगडालाई सीमित राखौँ । बाहिरको खतरालाई हामीले ध्यान दिऊँ । मलाई पहिले बाहिरको खतराको ध्यान हुँदैनथ्यो तर अहिले त मलाई त्यसको धेरै अनुभव भएको छ । पहिले राष्ट्रियताको प्रश्न दोस्रो महत्त्वमा थियो भने आज यो प्रथम महत्त्वको हुन आएको छ ।’ जुन भनाइलाई आजका नेतृत्वले पनि आत्मसाथ गर्न आवश्यक छ । हाम्रो लडाइँलाई एउटा परिधिभित्र सीमाङ्कन गरेर मात्र वादप्रतिवाद गर्न आवश्यक छ ।

नेपाली कांग्रेसभित्र पनि यसबारे मनन गर्न आवश्यक छ । हिजोको त्यस्तो पार्टी आज यो अवस्थामा कसरी ? हामीले समीक्षा गर्नै पर्छ । के एक दिन मेलमिलाप दिवस वा बीपी जयन्ती मनाउँदैमा पार्टीभित्र त्यो आदर्श जीवित रहन्छ ? पक्कै रहन्न । बीपीका ती आदर्श जीवित राख्न विगतका भुल र पार्टीभित्रको खिचातानीलाई सबैले आत्मसमीक्षा गरेर सुधार गर्नुपर्छ । कांग्रेसको झन्डामा बीपी फहराउनुपर्छ । हरेर दस्ताबेजहरूमा बीपीलगायतका समकालीन नेताहरूको निष्ठा र विचारको बासना आउनुपर्छ । 

–पाण्डे नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लक्ष्मी पाण्डे
लक्ष्मी पाण्डे
लेखकबाट थप