बिहीबार, ०६ मङ्सिर २०८१
ताजा लोकप्रिय
सहकारी ठगी प्रकरण

सूर्यदर्शनको ठगी : पिरैपिरले ज्यान लग्यो, किरिया गर्ने खर्च छैन

सोमबार, १६ पुस २०८०, १० : २५
सोमबार, १६ पुस २०८०

पोखरा । ३५ वर्षअघि पोखरा झरेका लमजुङ पियोरगाउँका वीरबहादुर थापा केही वर्ष साउदी बसे । अलिअलि पैसा कमाएर नेपाल फर्किएका उनी ट्याक्सी चलाउन थाले । उतिसारो कमाइ त थिएन, जेनतेन घर चल्थ्यो ।

विदेशमा बगाएको पसिनाबाट भएको आम्दानी र ट्याक्सी चलाएर भएको कमाइले शिशुवामा उनले ११ हातको घडेरी किने । घर बनाउन सक्ने अवस्था भने थिएन । छोराछोरी हुर्किँदै थिए । उनलाई आर्थिक चाप बढ्दै गयो । घारीपाटनमा भाडामा बस्दै आएका उनलाई भाडा तिर्ने चिन्ता हुँदै गयो ।

जग्गाले खान लाउन नपुग्ने भएपछि उनले सोचे– जग्गाले महिनैपिच्छे पैसा दिँदैन । बेचेर बैंक, सहकारीमा राखेपछि महिनैपिच्छे ब्याज आउँछ । घरखर्च धान्न सजिलै हुन्छ ।

त्यसपछि उनले जग्गा बेचिदिए । ७ लाखमा किनेको जग्गा बेच्दा २५ लाखभन्दा बढी रकम पाए । जग्गा बेचेको रकम बचत गर्न उनलाई सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको आकर्षक व्याजदरले तान्यो । सहकारीमा खाता खोले । सुरुमा १० लाख रुपैयाँ जम्मा गरे । सहकारीले ब्याज घरमै ल्याइदिन्थ्यो ।

त्यसपछि सहकारीले नयाँ नयाँ अफर देखाएर बचतकर्तालाई आकर्षित गर्न थाल्यो । ‘साढे २ लाख रुपैयाँ बचत गर्दा ५ वर्षमा डबल हुन्छ भने । जग्गा बेचेको केही पैसा आफन्तलाई दिएका थियौँ,’ उनकी श्रीमती भगवती थापाले भनिन्, ‘त्यसपछि उनीहरुसँग पैसा मागेर सहकारीमा राख्यौँ ।’ सहकारीको स्किमकै प्रलोभनमा परेर थापा परिवारले १० लाखमा १३ लाख थपिदिए । उनले पैसा थप्ने बित्तिकै सूर्यदर्शनले बचतकर्ताको रकम फिर्ता नगरेको समाचार प्रकाशमा आउन थाल्यो । त्यसपछि वीरबहादुरको मनमा कताकता चिसो पस्यो ।

त्यसपछि उनी आफूले जम्मा गरेको पैसा झिक्न सहकारी पुगे । तर चेक साटिएन । पैसा पाउन त परको कुरा, उल्टै सहकारीका सञ्चालकहरु सम्पर्कबिहीन हुन थाले । पैसा उठाउन आउने कर्मचारीले पनि पैसा उठाउन छोडे । २ वर्षदेखि पैसा झिक्न सहकारी धाएका वीरबहादुरलाई जति महिना बित्दै गयो, उति पिरको भारीले थिच्दै गयो । उनको रक्तचाप बढ्यो, मधुमेह थपिँदै गयो । अन्ततः जग्गा बेचेर बचत गरेको पैसाको पिरले उनलाई कहिलै नउठ्ने गरी माटोमै विलिन गरिदियो ।

वीरबहादुरको उपचारको क्रममा ३ दिनअघि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भयो । प्रेसरले च्यापेपछि उनलाई बिहीबार अस्पताल लगिएको थियो । सामान्य टाउको दुखेर अस्पताल गएका उनको शुक्रबार बिहान मृत्यु भएको हो । ‘दिनदिनै टाउको दुख्यो भन्नुहुन्थ्यो । चिन्ता बढ्योमात्रै भन्नुहुन्थ्यो,’ भगवतीले भनिन्, ‘अहिले पनि टाउको दुख्यो भनेर अस्पताल लगेको हो । भर्ना गरेर म घर आएँ, उहाँले त हामीलाई छोडेर गइसक्नुभएछ ।’

सहकारीले पैसा फिर्ता नगरेकै कारण १ वर्षदेखि बसिरहेको कोठा भाडा पनि तिर्न पाएका छैनन् उनीहरुले । ‘हे भगवान ! यस्तो त कसैलाई नपरोस् । यस्तो बर्बाद बनाइदियो ज्यानमारा सहकारीले,’ भगवती भन्छिन्, ‘सूर्यदर्शन सहकारीले पैसा पनि खायो । मेरो श्रीमानलाई पनि खायो । अर्कालाई मारेर खाएको जिन्दगीभर भलो हुन्न ।’

सहकारीमा जम्मा गरेको पैसा झिक्न वीरबहादुर धेरै पटक सहकारी धाए । सहकारी बन्द भएपछि पीडितहरुको भेला र बैठकमा उनी सधैँ सहभागी भए । आन्दोलनका लागि काठमाडौँ पनि गए । पैसा सहकारीले खाएपछि छोराछोरीको इच्छा पूरा गर्न नसकेको गुनासो कहिलेकसो भगवतीलाई सुनाउँथे वीरबहादुरले । ‘के गर्ने खोइ ? पैसा फिर्ता दिन्छन् कि नाई ! पाखुरा बजारेको मेहनतको कमाइ हो । आज छोराछोरीलाई लाउन दिन, खान दिन सकिनँ भनेर सुनाउनु हुन्थ्यो,’ उनले भनिन् ।

unnamed

वीरबहादुरको श्रीमती, छोरा, बुहारी र छोरी छन् । परिवारले वीरबहादुरको ज्यान जानुमा सहकारीको दोष रहेको बताए । आफ्नो बचतको चिन्ताले नै उनलाई यो अवस्थामा पुर्‍याएको पीडित संघर्ष समितिका संयोजक किरण श्रेष्ठको भनाइ छ । ‘हामीलाई भेट्दा पनि असाध्यै चिन्ता लिनुहुन्थ्यो । उहाँको सबै रोग सूर्यदर्शनले गर्दा आयो,’ उनले भने, ‘केही नभएको मान्छे सूर्यदर्शनमा पैसा फसेपछि प्रेसर बढ्यो । तनाव भो, प्रेसरले हान्यो ।’

लाखौँ सहकारीमा फसाएका उनीहरुसँग अहिले वीरबहादुरकै काज किरिया गर्ने खर्च छैन । पीडितहरुले नै केही रकम चन्दा उठाएर किरिया खर्च जुटाएका छन् । ‘हामीसँग पनि पैसा छैन । तर उहाँको यो अवस्था हेरिरहन सकेनौँ,’ श्रेष्ठ भन्छन्, ‘सय, पाँचसय उठाएर ९ हजार सहयोग गर्‍यौँ ।’

पोखरामा दर्ता भएको सहकारीले १ अर्ब ३५ करोड ५३ लाख ८२ हजार रुपैयाँ हिनामिना गरेको अध्ययन प्रतिवेदनमा उल्लेख छ । १ हजार ५६ जना बचतकर्ताले १ अर्ब ११ करोड रुपैयाँ दाबी गर्दै जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिएका थिए । २०६७ असारमा दर्ता भएको सूर्यदर्शनले हजारौँको उठिबास लगाएको छ । सहकारीका सञ्चालक गितेन्द्रबाबु राई (जीबी) सहित १९ जना विरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । उपाध्यक्ष कैलाशकुमार दर्लामी र कोषाध्यक्ष कुमार रम्तेल पक्राउ परिसकेका छन् भने अरु फरार छन् ।

सहकारीको अधिकांश रकम सञ्चालक समितिले हिनामिना गरेको भेटिएको छ । सबैभन्दा धेरै ग्यालेक्सी फोर के टेलिभिजनमा लगानी भएको देखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रकाश ढकाल
प्रकाश ढकाल
लेखकबाट थप