आइतबार, ११ कात्तिक २०८१
ताजा लोकप्रिय

नयाँ वर्षको पहिलो बिहानीसँगै वार्नरले गरे एकदिवसीय क्रिकेटलाई ‘गुडबाई’

सोमबार, १६ पुस २०८०, १० : १०
सोमबार, १६ पुस २०८०

काठमाडौँ । अस्ट्रेलियन क्रिकेट टोलीका प्रभावशाली खेलाडी डेभिड वार्नरले टेस्ट र एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएको घोषणा गरेका छन् । सन् २०२४ को पहिलो बिहानीसँगै उनले यस्तो घोषणा गरेका हुन् ।

३७ वर्षीय ब्याटिङ अलराउन्डर वार्नरले अब एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने छैनन् । यसका अतिरिक्त जनवरी ३ तारिखमा सुरु हुने पाकिस्तानविरुद्धको टेस्टमा उनी अन्तिम पटक देखा पर्नेछन् । अस्ट्रेलिया र पाकिस्तानबिचको तेस्रो टेस्ट सिड्नीमा खेलिने छ ।

तीन टेस्टको शृङ्खलामा अस्ट्रेलिया २–० ले अगाडि छ । वार्नरसहितको अस्ट्रेलियन टोलीले हालै भारतमा सम्पन्न आईसीसी एकदिवसीय विश्वकपको उपाधि पनि चुमेको थियो । विश्वकपको फाइनलमा अस्ट्रेलियाले आयोजक राष्ट्र भारतलाई हराएको थियो ।

अस्ट्रेलियाले एकदिवसीय विश्वकपको उपाधि जितेपछि वार्नरले सन् २०२५ को च्याम्पियन्स ट्रफीपछि मात्र सक्रिय खेल जीवनबाट सन्न्यास लिने अनुमान गरिएको थियो । तर, धेरैको अनुमान विपरीत उनले अप्रत्याशित रूपमा सन्न्यासको घोषणा गरेका हुन् ।

‘मैले एकदिवसीय क्रिकेटबाट सन्न्यास लिने घोषणा गरेको छु । भारतमा विश्वकपको उपाधि जितेपछि मैले यसको सङ्केत दिएको थिएँ । कुनै पनि खेलाडीका लागि एकदिवसीय विश्वकपको उपाधि जित्नु सबैभन्दा ठुलो उपलब्धि हो । त्यसैले मैले खेल जीवनबाट विश्राम लिने उपयुक्त अवसर पनि यसैलाई बनाएको हुँ,’ उनले भनेका छन् ।

वार्नरले यसअघि पनि एकपटक अस्ट्रेलियालाई एकदिवसीय विश्वकपको उपाधि चुमाएका थिए । वार्नर अस्ट्रेलियाका निकै प्रभावशाली क्रिकेटर हुन् । उनी एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा देशका लागि छैटौँ सर्वाधिक रन बनाउने खेलाडी हुन् ।

वार्नरले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा एक सय ६१ खेल खेल्दै ४५.३० को औसतले कुल ६ हजार नौ सय ३२ रन बनाएका छन् । एकदिवसीय क्रिकेटमा उनको स्ट्राइक रेट ९७.२६ रहेको छ । एकदिवसीय क्रिकेटमा उनले २२ शतक र ३३ वटा अर्धशतक प्रहार गरेका छन् ।

एकदिवसीय क्रिकेटमा सर्वाधिक शतक प्रहार गर्ने अस्ट्रेलियन खेलाडीको सूचिमा उनी दोस्रो स्थानमा छन् । सर्वाधिक शतक प्रहार गर्ने खेलाडी पूर्वकप्तान रिकी पोन्टिङ हुन् । उनले एकदिवसीय क्रिकेटमा २९ वटा शतक बनाएका छन् ।

वार्नरले एकदिवसीय क्रिकेटको एकै खेलमा बनाएको उच्च स्कोर भने एक सय ७९ रन हो । उनले देशका लागि हालसम्म एक सय ११ टेस्ट खेल्दै ४४.५८ को औसतले कुल आठ हजार ६ सय ९५ रन बनाएका छन् । टेस्ट क्रिकेटमा उनले २६ शतक र ३६ अर्धशतक हिर्काएका छन् । टेस्ट क्रिकेटमा उनको उच्च स्कोर अविजित तीन सय ३५ रन हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप