बीपीले मेलमिलापको नीति लिएर स्वदेश फर्केपछि...
४७ वर्षअघि आजकै दिन (२०३३ साल पुस १६ गते) बीपी कोइराला, गणेशमान सिंह र केही कांग्रेस कार्यकर्ता राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्केका थिए । बीपीलाई विमानको ढोकैबाट पक्राउ गरी सुन्दरीजल कारागार लगियो । उनीविरुद्ध हवाई अपहरण मुद्दा चलाउने अभिप्रायले सरकारद्वारा अनुसन्धान र तहकिकाततर्फ कारबाही सुरु भएको थियो । त्यसबखत बीपीमाथि सातवटा सङ्गीन मुद्दाहरू चलिरहेका थिए, हरेक मुद्दामा प्राणदण्ड हुन सक्ने गरी । तैपनि उनी जिउज्यानकै जोखिम मोलेर स्वदेश फर्केका थिए ।
खासगरी कांग्रेसको सशस्त्र क्रान्ति (२०३०–२०३१) असफल भएपछि बीपीले मेलमिलापको नीति लिएका थिए । यसको पछाडि केही राष्ट्रिय र केही अन्तर्राष्ट्रिय परिस्थिति समेत थिए । राष्ट्रिय परिस्थितिको कुरा गर्दा— नेपालमा बढिरहेको कम्युनिस्टहरूको प्रभावलाई बीपीले गम्भीर रूपमा लिएका थिए । अन्तर्राष्ट्रिय परिस्थितिको कुरा गर्दा— खासगरी भारतमा इन्दिरा गान्धीको जगजगी थियो, उनले आपतकालीन स्थिति लागू गरेकी थिइन् । सिक्किमको भारतमा विलयले पनि बीपीलाई गम्भीर तुल्याएको थियो । अर्कोतिर, इन्दिराका विरोधीहरू (जयप्रकाश नारायण, राम मनोहर लोहिया आदि)सँग हिमचिम भएकाले भारतमा बसेर काम गर्न बीपीलाई अप्ठेरो थियो ।
राजा महेन्द्रले शासनसत्ता हत्याएर पञ्चायती व्यवस्था लादेपछि पक्राउ परेका बीपीलाई आठ वर्षपछि (२०२५ कात्तिक १४) रिहा गरिएको थियो । यसपछि बम्बई गएर घाँटीको क्यान्सरको उपचार गराएर नेपाल फर्के । रिहापछि नेपालमै बस्दा पुनः पक्राउ पर्न सक्ने छनक पाएकाले बीपी भारततिर लागेका थिए । गणेशराज शर्माले सङ्कलन गरेको ‘आत्मवृत्तान्त’मा बीपीले भनेका छन्, ‘यस्तो परिस्थितिमा मैले जेल जानु उचित हुँदैन, बरु यस परिस्थितिलाई क्रान्तिकारी बिन्दुमा पुर्याउनुपर्छ भनेर मैले नेपाल छाड्ने निर्णय गरेँ ।’
बीपी छुटेदेखि नै पञ्चायती शासनविरुद्ध सशस्त्र आन्दोलन गर्ने आफ्नो मुडलाई कांग्रेसले क्रमशः दृढ बनाउँदै गएको थियो । २०२५ माघमा विराटनगरमा आयोजित सभामा बीपीले भनेका थिए, ‘प्रजातान्त्रिक मान्यताहरूको स्थापना गर्न अहिंसात्मक संघर्षको निमित्त म तयार छु तर अहिंसात्मक उपाय असफल भएमा अरू तरिका अपनाउन अनिवार्य हुनेछ ।’ यसपछि २०२५ फागुन १ मा उनले विराटनगरमा पत्रकारहरूसँग भनेका थिए, ‘परिवर्तन अहिंसात्मक उपायबाट आउन सकेन भने जति रोक्ने प्रयास गरे पनि त्यसले हिंसात्मक रूप लिएर आउनेछ । क्रान्ति इतिहासको अवश्यम्भावी प्रक्रिया हो, इतिहासले कसैलाई पर्खनेछैन, (नेपाली कांग्रेसको इतिहास, डा. सूर्यमणि अधिकारी) ।’
२०२७ सालको सुरुवातसँगै बीपीको स्वास्थ्यमा थप समस्या देखिन थाल्यो । भारतमा रहेका उनले उपचार गर्न विदेश जानका लागि २०२७ जेठ २ गते राहदानी दिलाइपाऊँ भनी दरबारमा निवेदन पठाए । दरबारबाट सहयोग नभएपछि भारत सरकारको सहयोगबाट भारतीय पासपोर्ट लिएर उनी २०२७ साउन २८ गते युरोपतर्फ लागे ।
उनले सोही वर्षको असोज २ गते लन्डनमा पत्रकारहरूसँग कुरा गर्दै भनेका थिए, ‘नेपालको वर्तमान व्यवस्था सैनिक अधिनायकवाद हो, नेपालमा प्रजातन्त्र ल्याउन सशस्त्र आन्दोलन गर्नुपर्छ । राजा महेन्द्रले चाँडै बहुसंख्यक नेपालीका मागलाई स्वीकार गरेनन् भने म नेपालमा सशस्त्र संघर्ष छेड्नेछु ।’
कांग्रेसले सशस्त्र आन्दोलन गर्ने निर्णय लियो । सशस्त्र संघर्षका लागि सुरुमा भरतशमशेरले केही रकम उपलब्ध गराएका थिए । यतिबेला जम्मा भएका हतियार बीपीले बंगलादेशको मुक्ति आन्दोलन (सन् १९७०–७१)का लागि दिए । बंगलादेशले पछि आफूहरूलाई सहयोग गर्ने बीपीको अपेक्षा थियो । तर बंगलादेशले पछि सहयोग गरेन । हतियारको जोहो गर्न बीपीले विमान अपहरण गर्ने विचार गरे । २०३० जेठ ३० गते विराटनगरबाट काठमाडौँ आउन लागेको ट्विनअटर विमानलाई अपहरण गरियो र ३० लाख भारतीय रुपैयाँ कब्जा गरियो ।
२०२९ भदौदेखि नै सशस्त्र संघर्षका विभिन्न घटना हुन थालेका थिए । २०३१ पुससम्म चलेको सशस्त्र संघर्ष सफल भएन । अन्ततः मेलमिलाको नीति लिएर बीपी स्वदेश फर्किए । यसपालि उनलाई विमानको ढोकैबाट पक्राउ गरेर पाँच महिनापछि २०३४ जेठ २७ गते रिहा गरियो, उपचारका लागि । अमेरिका गई घाँटीको शल्यक्रिया गरी २०३४ कात्तिक २३ गते नेपाल फर्केका बीपीलाई पुनः थुनामा राखियो । यसपालि अन्तर्राष्ट्रिय क्षेत्रबाट व्यापक चासो र चिन्ता प्रकट हुन थाल्यो र राजा वीरेन्द्रले बीपीलाई २०३४ फागुनको १२ गते रिहा गरे । रिहाइपछि बीपी देशका विभिन्न स्थानको भ्रमणमा सक्रिय रहे ।
२०३८ पुसमा बीपीको अन्तर्वार्ताहरूको सङ्कलन ‘मेलमिलापको सर्त : राष्ट्रियता र प्रजातन्त्र’ पुस्तक प्रकाशित भएको छ । राष्ट्रिय एकता र मेलमिलापका लागि बीपी स्वदेश फर्केको चार वर्षपछि सोधिएको थियो, ‘यस अवधिको राजनीतिक विकासको मूल्याङ्कन गर्नुहुन्छ कि ?’
उनले भनेका छन्, ‘चार वर्षअघि कस्तो राजनीतिक गतिविधि र कस्तो राजनीतिक शून्यता थियो ! हामीलाई लिन जानेहरूले कस्तो भय, त्रास र आतङ्कको वातावरणमा जानु परेथ्यो । हामीलाई लिन र भेट्न जानेहरूले कैयौँ दिन जेल बस्नुपरेथ्यो । आज, मैले भर्खर देशका विभिन्न ठाउँमा राजनीतिक भ्रमण गरेर फर्कें, यही एउटा प्रमाण हो — राजनीतिक विकासको ।’
मेलमिलापको नीति लिएर बीपी स्वदेश फर्की जेलमै बसे पनि देशमा एक खालको राजनीतिक माहौल बन्न थाल्यो । अन्ततः राजाले २०३६ जेठ १० गते जनमत सङ्ग्रहको घोषणा गरे । जनमत सङ्ग्रहले पञ्चायती व्यवस्थालाई नै अनुमोदन गर्यो ।
यस सम्बन्धमा बीपीले अन्तर्वार्ता सङ्ग्रहमा भनेका छन्, ‘हो, हामीले जनमत सङ्ग्रहको परिणामलाई स्वीकार गर्यौँ । त्यसबाट प्रदर्शित जनमतलाई एक पक्षीय किसिमबाट व्याख्या गरेर संविधानको तृतीय संशोधन भयो । जनमत सङ्ग्रहमा खसेको २० लाखभन्दा बढी (४६ प्रतिशत) मतलाई के सर्वथा अस्वीकार गर्न पाइन्छ ? हाम्रो गुनासो नै त्यही हो कि २० लाख मतको बेकदर भयो । २० लाख मतको वारिस को हुने ? बहुदलको मत जनमत सङ्ग्रहमा अल्पमत भयो भन्दैमा बहुदलको प्रजातन्त्र लोप भयो ? २० लाख जनताको प्रजातान्त्रिक आकाङ्क्षा हावामा बिलायो ? हामीले आफ्नो कार्यक्रम यही प्रजातन्त्रको पक्षमा परेका मतहरूको जगमा बसालेर चुनावको बहिष्कारको नीतिको घोषणा गर्यौँ ।’
२०३९ साउन ६ गते बीपीको निधन भयो । यसपछि गणेशमान सिंह कांग्रेसका सर्वमान्य नेता भए, कृष्णप्रसाद भट्टराईलाई कार्यवाहक अध्यक्ष बनाइयो, गिरिजाप्रसाद कोइराला महामन्त्री बनेर कांग्रेस अगाडि बढ्यो ।
जीवनको उत्तरार्द्धमा बीपी औधी ऊर्जाशील भएर राजनीतिक गतिविधिमा लागेका थिए । अन्तर्वार्ता सङ्ग्रहमा उनले भनेका छन्, ‘आफ्नो सङ्घर्षशील राजनीतिक जीवनमा त्यति उद्यमशील र सक्रिय कहिल्यै भएको थिइनँ, जति कि म आजकल भएको छु । २००७ सालको क्रान्तिले देशलाई जुन दिशा निर्देशन गरेको थियो, त्यसलाई २०१७ साल पुस १ को प्रतिक्रान्तिले मेट्ने प्रयत्न गर्यो । अहिलेको राजनीतिक जटिलताको एक मात्र कारण त्यही प्रतिक्रान्ति हो । त्यसले देशलाई न केवल दिग्भ्रममा मात्र पार्यो, त्यसले राष्ट्रिय विचारधारालाई ऐतिहासिक र स्वाभाविक कुलोमा बग्न दिएन ।’
बीपीले मेलमिलापको नीति लिएर फर्केपछि नै जनमत सङ्ग्रहको वातावरण बनेको थियो । जनमत सङ्ग्रहमा बहुदलका पक्षमा खसेको २० लाख मतले २०४६ सालको आन्दोलनलाई आधार दिएको थियो ।