सिमरा प्रहरीद्वारा ५ महिनामा २४ करोड ५४ लाख बराबरको अवैध सामान बरामद
बारा । इलाका प्रहरी कार्यालय सिमरा मातहतबाट खटिएको प्रहरीले गत शुक्रबार पथलैयाबाट ९ लाख ३० हजार मूल्य बराबरको प्याजसहित ट्रक नियन्त्रणमा लियो । भन्सार छलेर राजविराजबाट काठमाडौँतर्फ जाँदै गरेको ना६ख २६२५ नम्बर ट्रकसहित १७ हजार ७३० किलो अवैध प्याज पथलैयाबाट प्रहरीले नियन्त्रणमा लिएर राजस्व अनुसन्धान कार्यालय पथलैयालाई बुझाएको छ ।
यसअघि पुस ३ गते र पुस ५ गते पनि जीतपुरबाट खटिएको प्रहरी टोलीले २ क्विन्टल प्याज नियन्त्रणमा लिएर राजस्वलाई बुझाएको थियो ।
यी केही प्रतिनिधिमुलक घटनामात्र हुन् । इलाका प्रहरी कार्यालय सिमरा र मातहतबाट खटिएको प्रहरीले दैनिकजसो पूर्वपश्चिम राजमार्ग, पथलैया–वीरगञ्ज औद्योगिक करिडोरमा भन्सार छली गरेर अवैध रुपमा ल्याएको प्याज, चिनी, लत्ता कपडा, किराना सामान नियन्त्रणमा लिएर राजस्व अनुसन्धान कार्यालयलाई बुझाउने गरेको छ ।
चालु आर्थिक वर्षको ५ महिनामा इप्रका सिमरा र मातहतको प्रहरीले करिब १ करोड ५० लाख मूल्य बराबरको अवैध प्याजमात्रै नियन्त्रणमा लिएको छ । वीरगञ्ज भन्सार नाका हुँदै भित्रिने अवैध सामानको चेकजाँचमा प्रहरीले कडाइ गरेको इप्रका सिमराले जनाएको छ ।
साउन यता पथलैया चौकीले १० करोड ७२ लाख ६६ हजार, इप्रका अम्लेखगञ्जले ९ करोड २४ लाख ८४ हजार र इप्रका जीतपुरले ४ करोड ५० हजार मूल्य बराबरको सामान बरामद गरेको इप्रका सिमराले जनाएको छ । सिमराबाट खटिएको प्रहरीले पिलुवा–कलैया सडक खण्डको बडहर्वा, डकाहा, सिमरा र बझानीबाट ४९ लाख २५ हजार मूल्य बराबरको सामान बरामद गरेको छ ।
इप्रका सिमरा अन्तर्गत अम्लेखगञ्ज, जीतपुर र पथलैया चौकी मुख्य पोष्ट हुन् । सिमरासहित यी ३ वटा पोष्टबाट मात्रै प्रहरीले चालु आर्थिक वर्षको ५ महिनामा २४ करोड ५४ लाख बराबरको अवैध सामान नियन्त्रणमा लिएको छ ।
जसमा लागुऔषध (खैरो हिरोइन, अफिम, एम्पुल, नोफिम लगायत), गाँजा, प्याज, चिनी, मोटरसाइकल, ट्रकको पार्टस्, खजुर, किसमिस, छोकडा, रेडिमेट कपडा, किराना खाद्य साम्रगी, मोबाइल पार्टपुर्जा, भैंसी, रजनीगन्धा लगायत छन् भने नदीजन्य पदार्थको चोरी तस्करीमा संग्लन टंयाक्टर, टिपरहरुलाई पनि नियत्रणमा लिएबापत ३ लाख १० हजार राजस्व संकलन भएको छ ।
खोलाजन्य पदार्थको उत्खनन् बन्द रहेको अवस्थामा बालुवा, ढुङ्गा, गिटी चोरी गर्ने ट्याक्टरहरुलाई नियन्त्रणमा लिएर प्रहरीले जीतपुर सिमरा उपमहानगरमा बुझाउने गरेको छ । उपमहानगर ट्याक्टरको हकमा ५ हजार र टिपरलाई १० हजार राजस्व लिएर छोड्ने गरेको छ ।
इप्रका सिमराका प्रमुख प्रदीप बहादुर क्षेत्रीले वीरगञ्जबाट अवैध सामान बोकेर नेपाल भित्रिएमा मालवाहक गाडी बारा–पर्सा औद्योगिक करिडोर हुँदै देशभरका ठुला सहरहरुमा पुग्ने भएकाले राजमार्गमा २४ सै घण्टा चेकजाँचमा कडाइ गरिएको बताए । पूर्वपश्चिम राजमार्ग गुड्ने मालवाहक सवारी साधनको हकमा अम्लेखगञ्ज, पथलैया, पिलुवा, तामागढी क्षेत्रसम्म सिमरा प्रहरीले चेकजाँच गर्दछ ।
‘अधिकांश सूचना हाम्रै स्रोतबाट थाहा हुन्छ भने केही सूचना बाहिरबाट आउँछ तर कुनै सूचना नआए पनि हाम्रो पुलिसले २४ सै घण्टा राजमार्गमा गुड्ने हरेक सवारी साधनमाथि कडा निगरानी राखेको हुन्छ,’ इप्रका सिमराका प्रमुख क्षेत्रीले भने, ‘हामीले बरामद गरेका सम्पूर्ण सामान राजस्व अनुसन्धान कार्यलय पथलैयामा बुझाउँछौँ, त्यसपछिको बाँकी काम कारबाही, मुद्दा चलाउने÷नचलाउने सबै उहाँहरुको हातमा हुन्छ ।’
राजस्व चुहावट सम्बन्धी ऐनमा राजस्व छली गरेर ल्याएको सामान प्रहरीले नियन्त्रणमा लिएर बुझाएको हकमा कुल रकमको १० प्रतिशत सुराकीले र जरिबानाको ५ प्रतिशत प्रहरीले पुरस्कार स्वरुप पाउने व्यवस्था छ ।
राजस्व अनुसन्धान पथलैयाका प्रमुख प्रेम देवकोटाले प्रहरीले नियन्त्रणमा लिएका सामानमध्ये केही सामानको बिल बिजक र कागजपत्र सहित सम्बन्धित सामान धनी उपस्थित भएर सामान फिर्ता लैजाने र केही सामानको हकमा जरिवाना गरेर छाड्ने गरेको बताए ।
‘प्रहरीले अवैध भनेर बुझाएका सबै सामानको मुद्दा चल्दैन, कुनै गाडीको घरमा बिल बिजक छुटेको रहेछ भने कागजपत्र ल्याएर सामान फिर्ता लैजान्छन्, केहीको फर्जी कागजपत्र छ भने हेरेर जरिवाना गर्नुपर्ने हो कि, मुद्दा प्रक्रियामा जाने हो, अनुसन्धान गरेर मात्रै फाइल अगाडि बढ्छ्,’ देवकोटाले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्रिप्टो उद्यमीले खाए ८४ करोड ५५ लाख रुपैयाँमा किनेको केराको कलाकृति
-
डक्टर्स हब नेपालको पहिलो क्लिनिक सञ्चालनमा
-
च्याम्पियन्स ट्रफी खेल्न पाकिस्तान जाने वा नजाने बारे भारतीय विदेश मन्त्रालयले के भन्यो ?
-
नरबिर खड्का सहित ९ जना अध्यागमन अधिकृतहरूलाई सफाइ
-
'महिला सम्मेलनबाट पारित सवाललाई संसद्ले गहिरो रूपमा लिएनन्'
-
एनपीएल खेल्न उत्साहित छु : शिखर धवन