क्याप्टेन राईको ‘लाहुरे’ विमोचित
काठमाडौँ । क्याप्टेन नारायणप्रसाद राईको संस्मरण सङ्ग्रह ‘लाहुरे’ को शनिबार विमोचन गरिएको छ । प्रज्ञा भवन कमलादी काठमाडौँमा साहित्यिक पत्रकार सङ्घद्वारा आयोजित कार्यक्रममा प्रमुख अथिति संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले सो कृतिको विमोचन गरेका हुन् ।
सो कृतिबारे बोल्दै मन्त्री किराँतीले मानव जीवनको तीन आविष्कार आगो, खेती र अक्षर भएको बताए । उनले भने, “विश्वमा वर्षमा ४० लाख विभिन्न पुस्तकहरू छापिन्छन्, ती पुस्तमध्ये राईको यो पुस्तकले महत्त्व राख्छ ।”
साहित्यिक पत्रकार सङ्घका अध्यक्ष राधेश्याम लेकाली सभापति रहेको सो कार्यक्रममा इतिहासविद् प्राडा सुरेन्द्र केसीले सो कृतिको समीक्षा गरेका थिए । कृतिका समीक्षा गर्दै प्राडा केसीले तत्कालीन ब्रिटिस सरकारबाट सुरु भएको लाहुरे संस्कृति हालसम्म कायम रहेको छ भन्दै हाल रसिया र युक्रेनमा सेनामा पुग्ने नेपालीहरुको दृष्टान्त दिँदै यसले नेपाली–नेपालीबिच नै लडाइँ गराइरहेको बताए ।
पुस्तकका सम्पादक जीवनकुमार राईले ब्रिटिस सरकारले गोर्खाली सेनालाई पहिलो र दोस्रो विश्वयुद्धमा भरपुर प्रयोग गरेको बताए । गोर्खाली सेनाकै कारण ब्रिटिस र नेपालबिच मैत्रीपूर्ण सम्बन्ध रहेको र गोर्खाली सेनाले नै विश्वमा नेपालको पहिचान बनाएको उनले दाबी गरे ।
लेखकीय मन्तव्य राख्दै क्याप्टेन नारायणप्रसाद राईले आफूले पढेरभन्दा पनि परेर जानेको बताए । उनले आफूले जीवनमा भोगेका कुरालाई यस कृतिमा स्पष्ट राखेको बताए ।
सङ्का अध्यक्ष लेकालीले ब्रिटिस सरकारले गोर्खाली सेनामा नयाँ भर्नामा समानता देखाए पनि पुरानालाई भेदभावपूर्ण व्यवहार गरेको बताए ।
सो कार्यक्रममा क्याप्टेन नारायणप्रसाद राई र पुस्तकका सम्पादक जीवनकुमार राईलाई सम्मान समेत गरिएको थियो । यसैगरी प्रमुख अतिथि मन्त्री किराँती, समीक्षक प्राडा सुरेन्द्र केसी, मेजर भुवनसिंह लिम्बु, कार्यक्रम सञ्चालिका प्रमिला राई, ज्येष्ठ नागरिक श्रीमती चन्द्रकुमारी राई, पुस्तकका भाषा सम्पादक भावेश भुमरी, समालोचक डा. शान्तिमाया गिरीलगायतलाई मायाको चिनो प्रदान गरिएको थियो ।
कार्यक्रममा साहित्यकारहरू हिरण्यकुमारी पाठक, नरेन्द्रबहादुर श्रेष्ठ, शेखर ढुङ्गेल, गोमा रेग्मी, विष्णु थापा, नीता श्रेष्ठ, डा. बुनु दाहाल, सुवासचन्द्र ढुङ्गेल, हरि गिरीलगायतलाई पनि मायाको चिनो प्रदान गरिएको थियो ।
कार्यक्रममा साहित्यकारहरू श्रीओम श्रेष्ठ ‘रोदन’, प्राडा गोविन्दमान सिंह कार्की, यज्ञराज उपाध्याय, मदन राई, मन्जिला अनिल, नन्दु उप्रेती, प्रकाश घायल, ध्रुव मधिकर्मी, लाक्पा फुटी शेर्पा लगायतको उपस्थिति थियो ।