नेपाल सुपर लिग: व्यक्तिगत अवार्डमा पनि ललितपुरकै वर्चस्व, गोल्डन बल अनन्त तामाङलाई
शनिबार, १४ पुस २०८०, २१ : ०७

काठमाडौँ । नेपाल सुपर लिगको विजेता टोली ललितपुर सिटी एफसीका कप्तान अनन्त तामाङ प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बनेका छन् । योसँगै उनले गोल्डन बल हात पारेका हुन् ।
१० खेलाडीमा सीमित धनगढी एफसीलाई हराउँदै ललितपुर सिटी एफसीले नेपाल सुपर लिगको उपाधिमाथि कब्जा जमाउन सफल भएको छ । शनिबार दशरथ रङ्गशालामा भएको खेलमा ललितपुर ३–२ गोलले विजयी बनेको हो ।
ललितपुरकै इमोह इजेकिएलले ६ गोल गर्दै गोल्डन बुट जिते । ललितपुरबाटै गोलकिपर जेफरी बाल्टुसले उत्कृष्ट गोलकिपर बन्दै गोल्डन ग्लोभ हात पारे । धनगढी एफसीका युवा खेलाडी रोहन कार्कीले इमर्जिङ प्लेयर अफ द सिजनको उपाधि जिते ।
अनन्त तामाङले २ लाख रुपैयाँ पुरस्कार जित्दा अन्य विजेताहरुले १-१ लाख रुपैयाँ जितेका छन् ।