शुक्रबार, १९ पुस २०८१
ताजा लोकप्रिय

सरकारलाई संविधान कार्यान्वयनको अल्टिमेटम दिन काठमाडौँ आएका हौँ : मुख्यमन्त्री कार्की

शनिबार, १४ पुस २०८०, १९ : ४४
शनिबार, १४ पुस २०८०

काठमाडौँ । सातै प्रदेशका मुख्यमन्त्रीहरुले संघीय सरकारलाई संविधानको कार्यान्वयन गर्न अल्टिमेटम दिएका छन् । शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारी निवास बालुवाटारमा पुगेर संविधानको कार्यान्वयन गर्न संघ सरकारलाई अल्टिमेटम दिएका हुन् । 

प्रधानमन्त्री दाहाललाई भेटेपछि साँझ सञ्चारकर्मीहरुसँग कुरा गर्दै कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले संविधान कार्यान्वयनको लागि सबै प्रदेशका मुख्यमन्त्रीहरु एक भई प्रधानमन्त्रीलाई अल्टिमेटम दिएको बताए । उनले प्रधानमन्त्रीलाई अघिल्लो पटकको जस्तो ज्ञापन पत्रको निरन्तरता वा अधिकार माग्नको लागि निरन्तरता दिने काम नभई यो पटक संविधान कार्यान्वयनको लागि अल्टिमेटम दिइएको बताए । उनले संविधान समयमै कार्यान्वयन नभए थप दबाबमुलक कार्यक्रम अघि बढाउने चेतावनी पनि दिए । 

ज्ञापन पत्र बुझाउने, आश्वासन दिने निरन्तरताको क्रमभंग गर्न आफूहरु काठमाडौँ आएको मुख्यमन्त्री कार्कीको भनाइ थियो । प्रदेशमा सुशासनको बारेमा प्रश्न उठ्ने गरेको भन्दै उनले संघीय कानून नबन्दा कर्मचारीहरु नियुक्ति गर्न नपाएको र आधा कर्मचारीहरुबाट सुशासन दिन नसकिने बताए । 

मुख्यमन्त्री कार्कीले संघीय संसद् र सांसदहरुले विधेयकमा छलफल गरेर कानून पास गर्ने कुरा बिर्सिएर मन्त्री बन्ने र भाइरल हुने काममा मात्रै लागेको आरोप लगाए । उनले संघीय संसदलाई भाइरल हुने रोग लागेको बताए ।

मुख्यमन्त्री कार्कीले प्रदेश मुख्यमन्त्रीहरुको संघर्ष र समन्वय सरकारसँग मात्रै नभई संघीय संसदसँग पनि रहेको जिकिर गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप