बिहीबार, १७ माघ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मुखबाट इण्डोस्कोप छिराएर पित्त नलीको पत्थरी निकाल्ने प्रविधि नोबेलमा

शनिबार, १४ पुस २०८०, १५ : ३१
शनिबार, १४ पुस २०८०

विराटनगर । विराटनगर स्थित नोबेल शिक्षण अस्पतालमा केही दिन अगाडि एक जना ७२ वर्षीया वृद्धाको पित्त नलीमा रहेको ५० वटा जति ढुङ्गा विना शल्यक्रिया मुखबाट इण्डोस्कोप छिराएर झिकिएको छ । खोटेहाङ्ग गाउँ पालिकाकी ७२ वर्षीया पदम कुमारी राईको अस्पतालमा चेकजाँचको क्रममा पित्त नलीमा ढुङ्गा भएको पत्ता लागे पछि ग्यास्ट्रोइन्टेरोलोजिष्ट डा. मोहन खड्का नेतृत्वको चिकित्सा टोलीले उनको इआरसीपी प्रविधिबाट उक्त ढुङ्गा निकालेको हो ।

प्रौढ उमेर दमको समस्या त्यसमाथि फोक्सो सुन्निएको र पित्त नली ढुंगाले भरिएर दुखाइयुक्त जन्डिस भएको अवस्थामा उनको पित्त नलीको ढुङ्गा निकाल्न चुनौतीपूर्ण रहेको अस्पतालको भनाई छ । ‘ढुङ्गाहरू धेरै भएकोले पनि एकै पटकमा सबै ढुङ्गा निकाल्न गाह्रो थियो । करिब ५० वटा जति ६ देखि १० एम एम को ढुङ्गाहरू एकै प्रयासमा निकाल्न सफल भयौँ,’ डा. मोहन खड्काले भने । बिरामीको अवस्था अहिले सामान्य रहेको र डिस्चार्ज हुने क्रममा रहेको छ ।

डा. मोहन खड्का अनुसार पित्त नलीमा ढुङ्गा भएको अवस्थामा माथिल्लो पेट अथवा दाहिने कोखाको तल धेरै दुख्ने, उल्टी हुने, जन्डिस हुन सक्ने हुन्छ । यदि ढुङ्गा नलीमा नै अड्केर बस्यो भने त्यहाँ सङ्क्रमण हुन सक्ने र सङ्क्रमण बढ्दै गएमा शरीरको अन्य भागमा समेत सङ्क्रमण सरेर एक भन्दा बढी अङ्गहरू विग्रने (मल्टीपल अर्गन फेलियर) हुन सक्छ । त्यस्तै पित्त नली र प्याङ्क्रियाजको नलीको अन्तिम मुहान एउटै हुने र त्यहाँ गएर ढुङ्गा अड्किएमा प्याङ्क्रियाजको सङ्क्रमण भई प्याङ्क्रियाटाइटिस हुन्छ ।

पित्त नलीको ढुङ्गा निकाल्न पेट चिरेर शल्यक्रिया गर्ने गरिन्थ्यो । प्रविधिको विकाससँगै ल्यापारोस्कोपिक विधि सुरु भए पछि पेटमा ठुलो चिरा लाएर शल्यक्रिया गर्नु पर्ने बाध्यता रहेन तर पित्त नली भित्रको ढुङ्गा निकाल्न नली चिर्नै पर्ने हुन्छ । इआरसीपी विधिमा मुखबाट इण्डोस्कोपको सहायताले सानो तारसँगै बेलुन छिराएर पित्त नली सम्म पुगी ढुङ्गा तानेर आन्द्रामा निकालिन्छ र ढुङ्गा दिसाबाट बाहिर निस्कने गर्दछ । 

पित्त नली अथवा आन्द्राको क्यान्सर तथा प्याङ्क्रियाजको क्यान्सरको कारणले पित्त नली साँघुरिएको हुन सक्छ त्यस्तो अवस्थामा पनि यो प्रविधिबाट स्टेण्ट छिराई साँघुरिएको स्थानमा राख्ने गरिन्छ र साँघुरिएको भाग खुल्ला बनाइन्छ । इआरसीपी प्रविधिले रोगको पहिचान र उपचार दुवैमा फाइदा पुर्‍याउँछ । 

धेरैलाई पित्तथैलीको पत्थरी र पित्तनलीको पत्थरी एउटै हो जस्तो लाग्छ । तर पित्तथैलीको पत्थरी र पित्तनलीको पत्थरी फरक फरक हो । इआरसीपी प्रविधि पित्तनलीको पत्थरीको उपचारको लागि प्रयोग हुन्छ ।

पित्त नली चिरेर ढुङ्गा निकाल्दा निको हुन बढी समय लाग्ने हुन्छ तर यसमा कतै चिर्नु नै नपर्ने भएपछि चाँडो निको हुन्छ र सङ्क्रमणको खतरा पनि हुँदैन, अस्पताल बसाई छोटो हुने हुँदा इआरसीपी विधी विरामीका लागि निकै सहज र फाइदाजनक मानिन्छ ।

नेपालका केही अस्पतालहरूमा मात्र प्रयोगमा रहेको यो उपचार पद्धति नोबेलले पूर्वी नेपालमै पहिलो पटक २०७५ सालबाट प्रयोगमा ल्याएको थियो । तर, कोरोनाको महामारी फैलिएपछि यो सेवा अवरुद्ध भएको थियो । कोरोनाको प्रभाव हट्दै गएपछि पुनः सुचारु भएपछि यो प्रविधिबाट उपचार गर्ने बिरामीहरूलाई काठमाडौँ वा टाढा जानु पर्ने बाध्यताको अन्त्य भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप